काठमाडौं । गरिमा विकास बैंकको केन्द्रिय कार्यालय उदघाटन गरिएको छ। बुधबार बैंकको बालुवाटार अवस्थित केन्द्रिय कार्यालय उदघाटन गरिएको हो। नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले केन्द्रिय कार्यालयको उदघाटन गरेका हुन।
सो अवसरमा बैंकका सिइओ माधव प्रसाद उपाध्यायले ३ जिल्लाबाट सुरु भएको बैंकको यात्रा अहिले राष्ट्रिय स्तरसम्म आइपुग्न धेरै संस्था मर्जरबाट सम्भव भएको बताएका थिए।।
‘देशका विभिन्न ठाँउमा रहेको संस्था मर्जरपछि बैंक अहिले हिमाल, पहाड र तराईको सबै क्षेत्रको बैंक भएको छ,’ उनले भने।
कार्यक्रममा २ करोड ६४ लाख चुक्ता पुँजीबाट सुरु भएको बैंकको यात्रा अघि बढिरहेको र अहिले बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड पुगेको जानकारी दिइएको थियो। साथै निक्षेप पनि एक खर्ब पुगेको बताइएको थियो।

‘निक्षेपकर्ताले बैंकमा निक्षेपमात्र होइन आफ्नो भरोसा राखेको हो,’ उनले भने।
गरिमा विकास बैंक २०६४ सालमा स्याङ्जाबाट सुरु भएको हो। हाल देशभर यो बैंकमा १ हजार ५२ जना कर्मचारी कार्यरत छन्। हाल ३७ जिल्लामा बैंकका १२६ शाखा छन्।
बैंकले संस्थागत सुशासनलाई प्राथमिकता राखेको जनाएको छ। हाल बैंकका एक लाख सेयरधनी छन्।

त्यस अवसरमा धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले बैंकलाई शुभकामना व्यक्त गर्दै सेवाग्राही र निक्षेपकर्ताको हितमा काम गर्न आग्रह गरेका थिए।
त्यसैगरि, बैंकका अध्यक्ष दिलिप खाडले बैंक प्रतिको विश्वास कायम गर्दै अगाडि बढने बताए।
‘बैंकका निक्षेपकर्ता, सेवाग्राही र सेयरधनीको बिश्वास कायम गर्दै जानेछौ,’ उनले भने,’विश्वस्नियता, पारदर्शितासँगै आध्यात्म जोडेर अघि बढने छौं। टिम स्प्रिटबाट बैंकलाई थप सशक्त बनाउनेछौं।’









