काठमाडौं। नाइमा मोबिलिटी एक्स्पोमा करोड रुपैयाँ माथिका प्रिमियम तथा लक्जरी गाडीमा पनि ग्राहकको आकर्षण देखिएको छ। विशेषगरी नयाँ तथा प्रिमियम विद्युतीय, हाइब्रिड र लक्जरी एसयूभीमा ग्राहकको चासो बढेको देखिएको हो।
चाडपर्वको सिजनलाई लक्षित गर्दै आयोजना गरिएको एक्स्पोमा उच्च मूल्यका गाडी राम्रै संख्यामा बुकिङ भएका छन्। व्यवसायीहरुका अनुसार एक्स्पोमा विभिन्न ब्रान्डका करोड माथिका करिब २०० वटा गाडी बुकिङ भएका छन्।
गोल्छा समूहले बजारमा ल्याएको एमजी म्याजेस्टर ३ वटा बुकिङ भएका छन्। २ करोड ५० लाख रुपैयाँ मूल्य तोकिएको म्याजेस्टरमा बिक्रेता कम्पनीले नाइमा विशेष अफरअन्तर्गत ८ लाख रुपैयाँसम्म नगद छुट, १ वर्षको कम्प्रिहेन्सिभ बीमा, १० हजार रुपैयाँको बुकिङ गिफ्ट र लक्की ड्रमार्फत सामसङ ग्यालेक्सी एस२६ अल्ट्रा जित्ने अवसर दिएको छ।

पारामाउन्ट मोटर्सले बिक्री गर्दै आएको एमजी एचएसमा ६ वटा बुकिङ भएका छन्। यसको मूल्य १ करोड ४० लाख रुपैयाँ छ। एमजी यू९ भने १४ वटा बुकिङ भएको कम्पनीले जनाएको छ। यसको मूल्य १ करोड १० लाख रुपैयाँ छ।

यसैगरी, बीवाइडीको प्रिमियम ब्रान्ड डेन्जालाई नाइमा मोबिलिटी एक्स्पो फलदायी भएको छ। नाइमा मोबिलिटी एक्स्पोबाटै नेपालमा प्रवेश गरेको डेन्जा बी५ गाडी ७ वटा बुकिङ भएका छन्। यसको मूल्य २ करोड ९७ लाख रुपैयाँ तोकिएको छ। डेन्जाको बी८ मोडलको मूल्य भने ३ करोड ८० लाख रुपैयाँ छ।

डेन्जा बी५ प्लग-इन हाइब्रिड प्रविधिमा आधारित प्रिमियम अफरोड एसयूभी हो। यसमा १.५ लिटर टर्बो पेट्रोल इन्जिनसँग दुईवटा इलेक्ट्रिक मोटर जोडिएको छ, जसले करिब ४०० किलोवाटभन्दा बढी संयुक्त पावर र ७६० एनएमसम्मको टर्क उत्पादन गर्छ। यसमा ३१.८ किलोवाट आवरको बीवाइडी ब्लेड ब्याट्री छ। यसले इलेक्ट्रिक मोडमा करिब ९० किलोमिटरसम्म यात्रा गर्न सक्छ।
डेन्जा बी५मा अल ह्विल ड्राइभ, अगाडि र पछाडि मेकानिकल डिफरेन्सियल लक, डीएमओ सुपर हाइब्रिड प्रविधि र डीसस-पी इन्टेलिजेन्ट हाइड्रोलिक सस्पेन्सन छ। करिब २२० मिलिमिटर ग्राउन्ड क्लियरेन्सका कारण यो गाडी अफरोड यात्राका लागि पनि उपयुक्त छ।
टोयोटाका प्रिमियम मोडल पनि उल्लेख्य संख्यामा बुकिङ भएको छ। नयाँ हाइलक्स ४४ वटा बुकिङ भएको बिक्रेता कम्पनीले जनाएको छ। यो गाडीको मूल्य १ करोड ५५ लाख रुपैयाँ तोकिएको छ।

नयाँ हाइलक्स टोयोटाको नवौं जेनेरेसको पिकअप हो। जुन २.८ लिटर टर्बोडिजेल इन्जिनमा उपलब्ध छ। यसले अफरोड क्षमता, बलियो बडी र आधुनिक प्रविधिलाई निरन्तरता दिएको छ।
टोयोटाकै नयाँ र्याभ फोर हाइब्रिड इलेक्ट्रिक भेहिकल १४ वटा बुकिङ भएका छन्। यो गाडीको मूल्य २ करोड १३ लाख रुपैयाँ छ।
नयाँ र्याभ फोर भने अब हाइब्रिडमा केन्द्रित भएको छ। २.५ लिटर पेट्रोल इन्जिन र पाँचौं जेनेरेसनको हाइब्रिड प्रविधि सहितको नयाँ र्याभ फोरले भेरियन्टअनुसार करिब १९४ पीएसदेखि २३६ एचपीसम्म पावर दिन्छ। यसको प्लग-इन हाइब्रिड संस्करणले अझ बढी पावर र इलेक्ट्रिक रेन्ज प्रदान गर्छ।
टोयोटाको एलसी २५० मा पनि २१ वटा बुकिङ भएका छन्। यसको मूल्य भेरियन्टअनुसार ३ करोड २२ लाख रुपैयाँदेखि ३ करोड ८० लाख रुपैयाँसम्म छ।
ल्यान्ड क्रुजर २५० भने ल्यान्ड क्रुजरको नयाँ पुस्ताको अफरोड एसयूभी हो। यो बजारअनुसार २.८ लिटर टर्बोडिजल, २.७ लिटर पेट्रोल पावरट्रेनमा उपलब्ध छ। बलियो ल्याडर-फ्रेम च्यासिस, फोर ह्विल ड्राइभ र आधुनिक अफरोड प्रविधिका कारण यो कठिन भूभागका लागि लक्षित प्रिमियम एसयूभी हो।

हुन्डाईको प्रिमियम विद्युतीय एसयूभी आयोनिक ९मा ३ वटा बुकिङ भएका छन्। यसको मूल्य २ करोड २० लाख रुपैयाँ छ।
आयोनिक९ ठूलो आकारको प्रिमियम सेभेन सिटर इलेक्ट्रिक एसयूभी हो।
यसमा ११०.३ किलोवाट आवर क्षमताको ब्याट्री प्याक छ भने भेरियन्टअनुसार रियर ह्विल ड्राइभ वा अल ह्विल ड्राइभ पाइन्छ। बिक्रेता कम्पनीका अनुसार लङ रेन्ज रियर ह्विल ड्राइभ संस्करणले फुल चार्जमा ६०० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ।
आयोनिक९ को अर्को आकर्षण यसको ८०० भोल्ट चार्जिङ प्रणाली हो, जसले ३५० किलोवाटको डीसी फास्ट चार्जर प्रयोग गर्दा १० देखि ८० प्रतिशतसम्म करिब २४ मिनेटमा चार्ज गर्न सक्छ।
५ मिटर लामो यो प्रिमियम एसयूभीमा पर्याप्त स्पेस, रिल्याक्सेसन सिट, पानोरामिक सनरुफ, प्रिमियम इन्टेरियर र आधुनिक चालक सहायता प्रविधि उपलब्ध छ।
त्यस्तै, म्याक्सस ईटेरोन९ मा ३४ वटा बुकिङ भएको यसको विक्रेता कम्पनीले जनाएको छ। यो गाडीको मूल्य १ करोड २८ लाख रुपैयाँ छ।
बीएआईसीको बीजे३०ई पनि ३० वटा बुकिङ भएका छन्। यसको मूल्य १ करोड २० लाख रुपैयाँ तोकिएको छ।

नयाँ मोडल, प्रविधि र नाइमा विशेष अफरले उच्च मूल्यका गाडीप्रति ग्राहकको चासो देखिएको व्यवसायीहरुको भनाइ छ। करोड माथिका गाडी २०० युनिट हाराहारी बुकिङ हुनुलाई नेपाली अटो बजारमा प्रिमियम सेगमेन्टको बढ्दो मागको संकेतका रुपमा हेरिएको छ।
यो पटक नाइमा एक्स्पोमा प्रिमियम र लक्जरी गाडी माज्दा, प्युजो, फोर्ड, फक्सवागन थिएनन्।
नयाँ ब्रान्डलाई पनि ग्राहकको साथ
नाइमा एक्स्पोमा ग्राहकले नयाँ ब्रान्डलाई पनि साथ दिएका छन्। साउन २६ देखि ३१ सम्म भृकुटीमण्डपमा भएको नाइमा एक्स्पोबाट नेपाली बजारमा प्रवेश गरेका चेरी क्यूक्यू, आर्कफक्स, बीएआईसी र डेन्जा ब्रान्डलाई ग्राहकले साथ दिएका हुन्।

नाइमामा चेरीको क्यूक्यू ७२० युनिट भन्दा धेरै बुकिङ भएका छन्। बिक्रेता कम्पनीले आफ्नो ह्याचब्याक मोडल क्यू३ एक्स्पोमा राखेको थियो। यो गाडी ३० देखि ४० लाख रुपैयाँभित्रको सेगमेन्टमा पर्छ।
बीएआईसी ब्रान्डलाई पनि ग्राहकले राम्रो साथ दिएका छन्। यसको हाइब्रिड गाडी बीजे३०ई को बुकिङ राम्रो भएको छ। आर्कफक्स नेपाल आएको २४ घन्टा नबित्दै एक दिनमै ७० वटा युनिट एक बुकिङ भएको छ।

आर्कफक्स पनि ३० देखि ४० लाख रुपैयाँको सेगमेन्टमा पर्छ।
३ करोड रुपैयाँ मूल्यको लक्जरी गाडी डेन्जा पनि नाइमा मोबिलिटी एक्स्पोमा ग्राहकको रोजाइमा पर्न सफल भएको छ।









