काठमाडौं। ६ दिनसम्म चलेको दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आइतबार सम्पन्न भएको छ।एक्स्पोमा अवलोकनकर्ता र गाडीको बुकिङले व्यवसायी उत्साहित भएका छन्।
६ दिनसम्म चलेको एक्स्पोमा करिब ५४०० सवारी बुकिङ भएको व्यवसायीले जनाएका छन्। नाइमा एक्स्पोमा ५५ ब्रान्डका ४४ मोडल लन्च भएका छन्। नयाँ ब्रान्डसँगै नयाँ मोडलका सवारीसाधन पनि सार्वजनिक भएका हुन्।
६ लिनमा १ लाख ८० हजारले अवलोकन गरेको नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले बताइन्। उनले अटो शो सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन।

व्यवसायीका अनुसार एक्स्पाेमा सबैभन्दा बढी बुकिङ गर्नेमा चारपांग्रे गाडीमा बीवाईडी, टाटा, चेरी रहेका छन्। त्यसबाहेक महिन्द्रा, हुन्डाई, एमजी, लिपमाेटरको बुकिङ पनि उच्च छ। दुईपांग्रेमा एथर, ट्राइम्फ, राेयल इन्फिल्ड, याडिया, सी एक्सकाे बुकिङ बढी रहेको व्यवसायीको भनाई छ।
एक्स्पोमा भएको बुकिङका आधारमा १२ देखि १५ अर्ब कारोबार हुने देखिन्छ। उक्त बुकिङको कम्तीमा २० देखि बढीमा ४० प्रतिशत मात्रै बिजनेसमा कन्भर्ट हुने अनुमान छ। यकिन संख्या भने गाडी डेलिभरीले मात्र देखाउने छ।
एक्स्पोले गाडी बिक्रीको सिजनलाई ‘किक स्टार्ट’ गरेको व्यवसायीहरूले बताएका छन्। एक्स्पोमा सामान्य दर्शकसँगै गाडी खरिद गर्ने उद्देश्यले आएका ग्राहक, कर्पोरेट ग्राहक तथा गुणस्तरीय ग्राहकको उपस्थिति उल्लेख्य देखिएको उनीहरूको भनाइ छ।
अग्नि इन्कर्पोरेटेड प्रालिका डेपुटी डिरेक्टर वरदान बस्नेतले एक्स्पोको दोस्रो संस्करण उत्साहपूर्ण रूपमा सम्पन्न भएको र यसले गाडी बिक्रीको सिजनको सुरुवात गरेको बताए।

‘यो नाइमा एक्स्पोको दोस्रो संस्करण हो। निकै उत्साहपूर्ण रूपमा भिजिटरको उपस्थिति देखिएको छ। त्यसमध्ये पनि गाडी खरिद गर्ने निश्चित उद्देश्यका साथ आएका ग्राहकको फ्लो राम्रो देखिन्छ,’ बस्नेतले भने, ‘ग्राहकहरू गाडी किन्नकै हिसाबले बुझेर आएका छन्। क्वालिटी ग्राहक र कर्पोरेटसँग जोडिएका ग्राहक पनि धेरै देखिएका छन्।’
उनका अनुसार एक्स्पोको समय पनि अटो व्यवसायीका लागि महत्त्वपूर्ण सिजनको सुरुवाती चरणमा परेको छ। एक्स्पोले आगामी दसैं-तिहार लक्षित गाडी बिक्रीको वातावरण बनाउन सहयोग गरेको छ।
‘सिजनको पनि अर्ली पिरियड भएकाले व्यवसायीका लागि गाडी बिक्री गर्ने सिजनको किक स्टार्ट जस्तो भएको छ,’ उनले भने।
गत वर्षको तुलनामा यस पटक एक्स्पो व्यवस्थापन पनि थप व्यवस्थित भएको बस्नेतको भनाइ छ। यस पटक बैंक तथा वित्तीय संस्थाले तुलनात्मक रूपमा सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउनु पनि ग्राहक आकर्षित गर्ने महत्त्वपूर्ण कारण बनेको उनको भनाइ छ।

बस्नेतका अनुसार विगतमा ब्रान्डहरूबीच मूल्य घटाउने प्रतिस्पर्धा अर्थात् ‘प्राइस वार’ देखिँदा बजार नै बिग्रने हो कि भन्ने चिन्ता थियो। तर यस पटक बजारमा ‘भ्यालु फर मनी’ उत्पादन र तुलनात्मक रूपमा सन्तुलित मूल्य निर्धारण देखिएको उनले बताए।
‘गत वर्ष धेरै प्राइस वार भएको थियो। त्यसले बजार बिग्रने हो कि भन्ने डर थियो। तर यो पटक क्वालिटी र भ्यालु फर मनी प्रोडक्ट आएका छन्। फेयर प्राइसिङ देखिएको छ, जुन बजारलाई दिगो बनाउन सकारात्मक कुरा हो,’ बस्नेतले भने।
एक्स्पोले बजारमा नयाँ ‘मुभमेन्ट’ सिर्जना गरेको उनले बताए। यसले आगामी चाडपर्वमा गाडी बिक्री बढाउन आवश्यक वातावरणसमेत तयार गरेको छ।

‘नाइमा अब स्थापित एक्स्पो बन्यो’
एक्स्पोका संयोजक गौरव शारडाले दोस्रो संस्करणको एक्स्पो पहिलो संस्करणको सफलतापछि थप आत्मविश्वासका साथ आयोजना गर्न सकिएको बताए।
पहिलो संस्करण आयोजना गर्दा सफल हुन्छ कि हुँदैन भन्ने चुनौती रहेकोमा दोस्रो संस्करणसम्म आइपुग्दा एक्स्पो स्थापित ब्रान्डका रूपमा अघि बढेको उनको भनाइ छ।

‘नाइमा एक्स्पोको दोस्रो संस्करण एकदम राम्रो भएको छ। अघिल्लो पटक सफल होला कि नहोला, कसरी म्यानेज गर्ने भन्ने डर थियो। तर यो पटक नाइमा एक्स्पो स्थापित भएको छ भन्ने महसुस भएको छ,’ शारडाले भने।
उनका अनुसार एक्स्पोमा आएका आगन्तुकबाट पनि राम्रो प्रतिक्रिया प्राप्त भएको छ। अधिकांश ब्रान्डका बुकिङसमेत राम्रो रहेको उनले बताए।
‘भिजिटरहरूको साथ राम्रो पाइएको छ। हरेक ब्रान्डका बुकिङ राम्रो भएका छन्। सबै जना खुसी हुनुहुन्छ,’ उनले भने।
३० देखि ४० लाख रुपैयाँ मूल्य समूहका गाडीमा ग्राहकको आकर्षण बढी देखिएको शारडाले बताए। यस मूल्य समूहमा नयाँ ग्राहकको प्रवेश बढेको र उत्पादकहरूले पनि फिचर तथा मूल्यको हिसाबले आकर्षक उत्पादन ल्याइरहेको उनको भनाइ छ।
‘३० देखि ४० लाख रुपैयाँका गाडीमा निकै राम्रो क्रेज देखिएको छ। नयाँ खरिदकर्ता आएको जस्तो देखिन्छ। यो रेन्जमा भ्यालु फर मनी प्रोडक्ट पनि आइरहेका छन्। फिचरहरूले पनि ग्राहकलाई आकर्षित गरेका छन्,’ शारडाले भने।
व्यवसायीका अनुसार नाइमा एक्स्पोले आगामी चाडपर्व लक्षित अटो बजारलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। बैंकको सस्तो ब्याजदर, नयाँ मोडलको आगमन, मूल्यमा प्रतिस्पर्धाभन्दा ‘भ्यालु फर मनी’मा बढेको जोड र गाडी खरिद गर्न तयार ग्राहकको उपस्थितिले बजारमा सकारात्मक वातावरण बनेको उनीहरूको निष्कर्ष छ।










