काठमाडौं। भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पोको पाँचौँ दिनमा ४ हजार ७ सय वटाभन्दा बढी सवारीसाधन बुकिङ भएका छन्। नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड सप्लायर्स एशोसिएसन(नाइमा) को आयोजनामा जारी प्रदर्शनीमा उत्साहजनक बुकिङ भएको कम्पनीहरुले जनाएका छन्। यो सवारी मेलाको आज आइतबार अन्तिम दिन हो।
व्यवसायीहरुका अनुसार प्यासेन्जर सवारीसाधनमा ३ हजार १३४ युनिट, कमर्सियलमा २०८ युनिट र दुई पाङ्ग्रेमा १ हजार ४ सय १ युनिट बुक भएका छन्। व्यवसायीद्वारा उपलब्ध तथ्यांक अनुसार शनिबार बेलुका ७ बजेसम्म कुल ४ हजार ७ सय ४३ युनिट सवारीसाधन बुक भएका हुन्।
एक्स्पोमा बढी चाप विद्युतीय सवारीको स्टलमा छ। एक्स्पोमा बिक्रेता कम्पनीले विशेष छुटको व्यवस्था गरेका छन्। मूल्य घटाउने होड यो पटक देखिएन। गत वर्ष कम्पनीहरूले २० लाखसम्मले मूल्य घटाएका थिए।
गाडी किन्नका लागि आवश्यक कर्जामा बैंकहरुले इतिहासमै कम ब्याजदर अफर गरेका छन्। जसले ग्राहकहरुलाई नयाँ सवारीसाधन खरिदमा रुचि जागेको व्यवसायीहरुको भनाइ छ। यो पटक गत वर्षभन्दा धेरै मोडलका गाडीहरु नाइमा एक्स्पोमा देखिएका छन्। एक्स्पोमा १८ लाखदेखि ४ करोड रुपैयाँ मूल्यसम्मका सवारीसाधन राखिएका छन्।
एक्स्पोमा इन्ट्री लेभल र मीड लेभलका गाडीमा आकर्षण छ। एक्स्पोमा चेरी क्युक्यु, हुन्डाईको भेन्यु र क्रेटा, टाटाको पन्च र टियागो इभी, महिन्द्राको एक्सइभी नाइन एस, ओमोडा तथा जेको, बीवाइडीको एटो सिरिज, लिपमोटर, आइकार, किया, वुलिङ, एमजी, टोयोटा, प्रोटोन, जीडब्लुएम, बीएआईसी, डेन्जा जस्ता ब्राण्डका गाडी राखिएका छन्।
कम्पनीहरुले उपलब्ध गराएको तथ्यांक अनुसार सबैभन्दा धेरै टाटा, चेरी क्युक्यु ,बीवाइडी, आइकार, किया, ओमोडा एण्ड जेको र वुलिङका गाडी बुकिङ भएका छन्। यस्तै दुई पाङ्ग्रेमा भने एथर, ट्राइम्फ, चेतक, रोयल इन्फिल्ड, सीएफमोटो र टीभीएसका बाइक तथा स्कुटर धेरै बुकिङ भएका छन्।
इलेक्ट्रिक दुई पांग्रेमा एथरले सबैभन्दा धेरै बुकिङ गरेको छ।

मल्टिपल बुकिङले समस्यामा व्यवसायी
एक्स्पोमा सवारीसाधन बुकिङ उत्साहजनक देखिए पनि अहिले नै त्यसलाई वास्तविक बिक्रीका रूपमा लिन सकिने अवस्था नरहेको एक व्यवसायीले बताए। एउटै ग्राहकले विभिन्न ब्रान्डमा बुकिङ गरेर राखेको र एक्स्पोमा प्राप्त हुने अफर तथा मूल्यको तुलना गरिरहेको भन्दै उनले अन्तिम बिक्रीको तस्वीर भने डेलिभरीको समयमा मात्रै स्पष्ट हुने बताए।
अहिलेको बुकिङको ट्रेन्ड हर्दा चेरी क्युक्यु ३, टाटा र बीवाइडीमा मल्टिपल बुकिङ भएको व्यवसायीहरुको यकिन छ। यस्तै अन्य मिड रेन्जका गाडीहरुमा पनि यस्तो समस्या देखिने ती व्यवसायी बताउँछन्।
‘अहिले ग्राहकले बुकिङ गरेर राखेका छन्। तर, उनीहरू पक्का भइसकेका छैनन्। एउटाले यति अफर दियो, अर्कोले कति दिन्छ भनेर हेर्ने अवस्था छ। एउटा ब्रान्डको अफरभन्दा अर्को ब्रान्डले राम्रो अफर दियो भने ग्राहक उतै जान सक्छन्,’ ती व्यवसायीले भने।
बुकिङ धेरै भए पनि तत्काल डेलिभरी दिन नसक्ने अवस्था आएमा ग्राहक एउटा ब्रान्डबाट अर्को ब्रान्डमा जाने सम्भावना धेरै रहेको ती व्यवसायीको भनाइ छ।
‘अफर मिलिसकेपछि पनि जसले पहिले गाडी दिन सक्छ, उसैको व्यापार राम्रो हुने सम्भावना छ। अहिले ग्राहकलाई मूल्य, अफर र डेलिभरी तीनवटै कुरा महत्त्वपूर्ण छन्,’ उनले भने।
विशेषगरी चीनबाट आयात हुने सवारीसाधन ल्याउन बाटोको समस्या ल्याउने भएकाले लामो समय होल्ड हुँदा बिक्रीमा प्रभाव पार्न सक्ने व्यवसायीको भनाइ छ। भारतबाट आउने सवारीसाधनमा तुलनात्मक रूपमा सहज भए पनि प्रोडक्सन वा सप्लाइ चेनमै समस्या आएमा मात्रै त्यसको असर नेपालमा देखिन सक्ने उनले बताए।
‘भारतबाट आउने गाडीमा खासै समस्या नहोला, त्यहाँ उत्पादन वा सप्लाइ चेनमै समस्या आयो भने मात्रै असर पर्छ। तर चीनबाट ल्याउने गाडीलाई बाटोको समस्याले डेलिभरी दिन समय लाग्छ। शिपबाट ल्याउन पनि तीन महिनाको समय लाग्छ। उक्त समयले फरक पार्न सक्छ,’ उनले भने।










