काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ ले नेपाली अटोमोबाइल बजारको बदलिँदो तस्बिर देखाएको छ। एक्स्पोमा देखिएको भीड, नयाँ मोडलको संख्या र विशेषगरी चिनियाँ ब्रान्डहरूको बाक्लो उपस्थितिले एउटा प्रश्नलाई थप बलियो बनाएको छ – के नेपाली अटो बजारको नेतृत्व अब चिनियाँ कम्पनीतर्फ सर्दैछ?
५५ ब्रान्ड सहभागी रहेको एक्स्पोमा चारपाङ्ग्रे, दुईपाङ्ग्रे, कमर्सियल, इलेक्ट्रिक, हाइब्रिड सवारी, चार्जिङ तथा अन्य मोबिलिटी उत्पादनसमेत समेटिएका छन्। एक्स्पोमा हालसम्म विभिन्न ब्रान्डले ५२ नयाँ मोडलका सवारी सार्वजनिक गरिसकेका छन्, जसमा अधिकांश विद्युतीय सवारी छन्। पहिलो दिन सार्वजनिक भएका चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीमा ४६ वटा ईभी र दुई वटा पेट्रोल भेरियन्ट रहेको आयोजकले जनाएको छ।
चारपाङ्ग्रेतर्फ बीवाइडी, डेन्जा, बीएआइसी, जीडब्लुएम, फोर्थिङ, लिपमोटर, ओमोडा एन्ड जेइको, वुलिङ, जीकर, आइकार लगायत चिनियाँ मूलका वा चिनियाँ स्वामित्वका ब्रान्डको उपस्थिति छ। दुई पाङ्ग्रेमा पनि चिनियाँ ब्रान्डको प्रभाव देखिन्छ।

टेक्नोलोजीमैत्री ग्राहकका लागि चिनियाँ ब्रान्ड
नयाँ पुस्ताका लागि कार अब केवल आवतजावतको साधन रहेन। ब्याट्री क्षमता, रेन्ज, फास्ट चार्जिङ, कनेक्टेड फिचर, ठूलो डिस्प्ले र स्मार्ट ड्राइभिङजस्ता विषय प्राथमिकतामा पर्न थालेका छन्।
यही परिवर्तनलाई चिनियाँ ब्रान्डहरूले तीव्र गतिमा समातिरहेका छन्। परम्परागत ब्रान्डको तुलनामा धेरै फिचर प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध गराउने उनीहरूको रणनीति देखिन्छ। नाइमा एक्स्पोमा नयाँ ईभी र हाइब्रिड मोडलको बाक्लो उपस्थितिलाई पनि यही परिवर्तनको परिणामका रूपमा हेर्न सकिन्छ।
बीवाईडीले एक्स्पोमै एट्टो वान र एट्टो ३ का फेसलिफ्ट संस्करण तथा नयाँ एट्टो टू सार्वजनिक गरेको छ। चेरीले क्यू थ्री ईभीमार्फत आफ्नो प्रवेश विस्तार गरेको छ भने बीएआईसीले बीजे३० हाइब्रिड ल्याएको छ।
यससँगै प्रतिस्पर्धा अब कुन ब्रान्ड पुरानो र भरपर्दो भन्नेमा मात्र सीमित छैन। कुन ब्रान्डले कम पैसामा बढी प्रविधि दिन्छ भन्ने प्रश्न पनि ग्राहकको रोजाइमा महत्वपूर्ण बन्दै गएको छ।

चिनियाँ ब्रान्डका लागि नेपालको बजार दीर्घकालीन बजार
केही वर्षअघिसम्म नेपाली बजारमा चिनियाँ गाडी भन्नासाथ सीमित ब्रान्डको मात्र चर्चा हुन्थ्यो। अहिले अवस्था फरक छ। बीवाईडीजस्ता स्थापित खेलाडीसँगै डिपल, चेरी, ह्वङ्सी, बीएआईसी, जीडब्लुएम, फोर्थिङ, लिपमोटर, ओमोडा एन्ड जेइको, डोङफेङ, वीलिङ, जीकर, आईकारलगायतका ब्रान्ड बजारमा आफ्नो स्थान बनाउन खोजिरहेका छन्।
एक्स्पोअघि नै बजारमा आधा दर्जनभन्दा बढी नयाँ अटोमोबाइल ब्रान्ड प्रवेश गर्ने तयारीमा रहेको र धेरैजसो नयाँ उत्पादन ईभी रहेको रिपोर्ट सार्वजनिक भएको थियो।
नेपालमा स्थापित र ठूला व्यावसायिक घरानाले यी ब्रान्डलाई भित्र्याएसँगै बजारमा तिनको प्रभाव बलियो बन्दै गएको छ। शारडा ग्रुप, सिजी मोटर्स, एमएडब्लु, बज्र ग्रुपलगायतले चिनियाँ ब्रान्ड भित्र्याएसँगै उपभोक्तामा विश्वास पनि बढेको पाइन्छ।
नेपाली बजारमा चिनियाँ ब्रान्डको माग बढेसँगै चिनियाँ कम्पनीहरूले नेपाललाई परीक्षण बजारका रूपमा मात्र नभई दीर्घकालीन बजारका रूपमा हेर्न थालेको संकेत मिल्छ।

स्थापित पुराना ब्रान्डलाई चुनौती
नेपाली चारपाङ्ग्रे बजारमा लामो समयदेखि जापानी र कोरियाली ब्रान्डको बर्चस्व थियो। अब यी ब्रान्डलाई नयाँ चिनियाँ ब्रान्डले चुनौती दिन थालेका छन्।
टोयोटा, निसान, सुजुकी, हुन्डाई, कियालगायतका ब्रान्डका लागि विश्वसनीयता, रिसेल भ्यालु र सर्भिस नेटवर्क ठूलो शक्ति थिए। तर ईभीको विस्तारले बजारको संरचनामै परिवर्तन ल्याइदिएको छ।
ईभीमा इन्जिन, गियरबक्स र परम्परागत मेकानिकल संरचनाको महत्व घट्दै जाँदा ब्याट्री, मोटर, सफ्टवेयर र इलेक्ट्रोनिक्सको भूमिका बढेको छ। यी क्षेत्रमा चिनियाँ कम्पनीहरूले पछिल्ला वर्षमा ठूलो लगानी गरिरहेका छन्।
त्यसैले नेपाली बजारमा चिनियाँ ब्रान्ड प्रवेश गरिरहँदा उनीहरू केवल सस्तो मूल्य लिएर आएका छैनन्, ब्याट्रीदेखि सफ्टवेयरसम्मको नयाँ अटोमोबाइल इकोसिस्टम पनि लिएर आएका छन्।
के नेपालको अटो बजार चिनियाँ ब्रान्डले कब्जा गरिसके ?
नाइमा मोबिलिटी एक्स्पो २०२६ मा रहेका ५३ स्टल र ५५ भन्दा बढी ब्रान्डलाई हेर्दा चिनियाँ ब्रान्डको प्रभाव स्पष्ट देखिन्छ। तर, यसैलाई सम्पूर्ण नेपाली अटो बजारको अन्तिम फैसला मान्नु उचित नहोला।
कार किन्ने ग्राहकका लागि चार्जिङ स्टेशन, सर्भिस नेटवर्क, स्पेयर पार्ट्सको उपलब्धता, ब्याट्रीको दीर्घकालीन विश्वसनीयता र रिसेल भ्यालु अझै महत्वपूर्ण विषय हुन्।
नयाँ ब्रान्ड धेरै आउनु उपभोक्ताका लागि तत्काल राम्रो खबर हो। तर केही वर्षपछि तीमध्ये कुन ब्रान्ड टिक्छन् भन्ने प्रश्न अझ महत्वपूर्ण हुनेछ। एक्स्पोमा स्टल हुनु र बजारमा दीर्घकालीन पकड बनाउनु एउटै कुरा होइन।

ईभीको बजार बढेसँगै ब्याट्री व्यवस्थापनको चिन्ता !
नाइमा मोबिलिटी संवादमा ब्याट्री व्यवस्थापनको विषय पनि गम्भीर रूपमा उठेको छ। नाइमाका संस्थापक आकाश गोल्छाले ब्याट्री रिसाइक्लिङको जिम्मेवारी सवारी आयातकर्तालाई मात्रै दिन नहुने बताएका छन्। उनका अनुसार ईभी मात्र होइन, मोबाइल फोन र ल्यापटपलगायतका उपकरणका ब्याट्री व्यवस्थापनसमेत चुनौती बन्दै गएको छ।
उनले ब्याट्री व्यवस्थापनका लागि छुट्टै कम्पनी तथा स्पष्ट नीतिगत संरचना आवश्यक रहेको बताएका छन्। नेपालमा रिसाइक्लिङ पूर्वाधार नभएसम्म भारततर्फ ब्याट्री निर्यात गर्न सकिने विकल्पसमेत उनले अघि सारेका छन्।
यसैगरी, भारतको सेन्ट्रल मोटर भेहिकल रुल्स टेक्निकल स्ट्यान्डिङ कमिटीका अध्यक्ष डा। बलराज भनोटले पनि नेपालले ईभी ब्याट्री व्यवस्थापनका लागि अहिलेबाटै तयारी गर्नुपर्ने सुझाव दिएका छन्।
उनका अनुसार लिथियम ब्याट्रीको सामान्य आयु करिब ८ देखि १० वर्ष हुने भएकाले नेपालसँग आवश्यक नीति, पूर्वाधार र व्यवस्थापन प्रणाली विकास गर्ने पर्याप्त समय छ। उनले एक्सटेन्डेड प्रोड्युसर रेस्पोन्सिबिलिटी ९ईपीआर० लागू गर्न, ब्याट्री आयातकर्ता, बिक्रेता तथा डिलरलाई पुराना ब्याट्री संकलनको जिम्मेवारी दिन र संकलित ब्याट्रीलाई सूचीकृत रिसाइक्लिङ प्लान्टमा मात्र पठाउने व्यवस्था गर्न सुझाव दिएका छन्।
नेपालमा पर्याप्त रिसाइक्लिङ प्लान्ट सञ्चालन गर्न आवश्यक मात्रा नपुगे भारत वा चीनका प्लान्टसँग सहकार्य गरेर ब्याट्री निर्यात गर्न सकिने उनको सुझाव छ।

उपभोक्ताका लागि विकल्प
ग्राहकले एउटै बजेटमा धेरै विकल्प चाहन्छ। चिनियाँ ब्रान्डको आगमनले पुराना ब्रान्डलाई चुनौतीसँगै आफूलाई परिमार्जन गर्ने अवसर पनि दिएको छ।
अब कम्पनीहरूबीचको प्रतिस्पर्धा डिजाइन, रेन्ज र मूल्यमा मात्र सीमित रहने छैन। वारेन्टी, चार्जिङ पूर्वाधार, सर्भिस प्याकेज, फाइनान्सिङ र ग्राहक सेवामा समेत प्रतिस्पर्धा बढ्नेछ।
अटोमोबिलिटी एक्स्पोको अर्को महत्वपूर्ण पक्ष ब्रान्डसँगै चार्जर, ब्याट्री, स्पेयर पार्ट्स, प्यासेन्जर कमर्सियल भेहिकल र अन्य मोबिलिटी समाधानसमेत प्रस्तुत हुनु हो। यसले ग्राहकलाई अटोमोबाइलसँग सम्बन्धित विभिन्न पक्षबारे जानकारी लिन सहज बनाएको छ। बजार अब कुन वेगतर्फ जाँदैछ भन्ने संकेत पनि एक्स्पोले दिएको छ।
नेपालको अटो बजार अब केवल गाडी बिक्रीमा सीमित नरही मोबिलिटी इकोसिस्टमतर्फ मोडिँदै गएको स्पष्ट संकेत एक्स्पोमा उपभोक्ताको रोजाइले दिएको छ।

बिक्री कि विश्वास !
नेपाली बजारमा चिनियाँ ब्रान्डले निकै बलियोसँग प्रवेशको ढोका खोलेका छन्। केही ब्रान्डले बिक्रीमा समेत उल्लेख्य सफलता हासिल गरिसकेका छन् भने केहीले बजार प्रतिस्पर्धामा आफूलाई अघि सारेका छन्।
अब नयाँ ब्रान्डले ग्राहकलाई यस्तो विश्वास दिलाउन सक्नुपर्छ कि पाँच वर्षपछि पनि ग्राहकको गाडी र ब्याट्रीप्रतिको भरोसा कायम रहोस्। काठमाडौं बाहिरका ग्राहकका लागि पार्ट्स र सर्भिस सहज रूपमा उपलब्ध हुनु पनि उत्तिकै महत्वपूर्ण छ।
र ग्राहकका लागि सबैभन्दा महत्वपूर्ण प्रश्नमध्ये एउटा हो—आज राम्रो मूल्यमा किनेको गाडी भोलि बेच्नुपर्दा त्यसको मूल्य कति कायम रहन्छ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ केवल नयाँ गाडी सार्वजनिक गर्ने मञ्च मात्र होइन, नेपाली अटो बजारको भविष्य कुन दिशामा गइरहेको छ भन्ने देखाउने ऐना पनि बनेको छ।
एक्स्पोमा देखिएको चिनियाँ ब्रान्डको उपस्थितिले नेपालको अटो बजारका पुराना स्थापित ब्रान्डले अब यसलाई कम आँक्न सक्ने अवस्था नरहेको स्पष्ट संकेत गरेको छ। नेपाली अटो बजारको शक्ति सन्तुलन चिनियाँ ब्रान्डतर्फ तीव्र रूपमा सर्दै गएको संकेत नाइमा एक्स्पोले दिएको छ।










