काठमाडौं। वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत सूर्यांश वैद्यले तथ्यांकको प्रभावकारी प्रयोग गर्न सके एआईबाट नेपालको ट्राफिक व्यवस्थापन सुधार गर्न सकिने बताएका छन्।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको संवादमा उनले सडक र सवारीसँग जोडिएको डेटाको महत्त्व बुझ्न सरकारलाई आग्रह गरेका छन्।
उनले काठमाडौं उपत्यकाजस्तो घना सहरी क्षेत्रमा सडक विस्तार मात्र ट्राफिक समस्याको समाधान नभएको भनाइ राखे। ट्राफिक व्यवस्थापनका लागि सवारीसाधनबाट संकलित तथ्यांक, सडकको अवस्था र यात्रासम्बन्धी विवरणको विश्लेषण गर्नुपर्ने उनको भनाइ छ।
वैद्यका अनुसार सवारीसाधनमा जडित सेन्सर र उपकरणबाट प्राप्त तथ्यांक एआईमार्फत विश्लेषण गर्न सकिन्छ। यसबाट सडकको अवस्था पहिचान, सुरक्षित ड्राइभिङ, ऊर्जा बचत र चार्जिङको उपयुक्त स्थानबारे चालकलाई जानकारी दिन सकिने उनको भनाइ छ।
उनले विद्युतीय स्कुटरमा सडकका खाल्डा पहिचान गर्ने ‘पोटहोल अलर्ट’ जस्ता सुविधा विकास गर्न सकिने उदाहरण दिए। सवारीको राइड एनालिटिक्सबाट चालकको शैली सुधार्न र ऊर्जा खपत घटाउन पनि सहयोग पुग्ने उनले बताए।
एआईले रुट प्लानिङलाई समेत थप प्रभावकारी बनाउन सक्ने वैद्यको भनाइ छ। सवारीको चार्ज सकिन सक्ने अवस्था पहिचान गरी गन्तव्यमा पुग्नुअघि कहाँ चार्ज गर्ने भन्ने सुझाव प्रणालीले दिन सक्ने उनले बताए।
मौसम र वर्षाको तथ्यांकलाई सवारी प्रणालीसँग जोडेर सडकको अवस्थाअनुसार ट्र्याक्सन कन्ट्रोल परिवर्तन गर्न सकिने उनले बताए। तर, नेपालमा अटोनोमस ड्राइभिङका लागि स्थानीय सडक र ट्राफिक अवस्थाअनुसार पर्याप्त तथ्यांक तथा अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ।
वैद्यले एआईको प्रयोग सवारीसाधनमा मात्र सीमित गर्न नहुने बताए। स्पेयर पार्ट्सको माग अनुमान, स्टक व्यवस्थापन र लागत घटाउन एआई तथा ईआरपी प्रणाली उपयोग गर्न सकिने उनले बताए।
उनका अनुसार सवारीसाधनबाट प्राप्त तथ्यांक सार्वजनिक पूर्वाधार सुधारमा समेत उपयोग गर्न सकिन्छ। सम्बन्धित सरकारी निकायसँग तथ्यांक साझेदारी गर्न सके सडकका खाल्डा तथा अन्य समस्या पहिचान र समाधानमा सहयोग पुग्ने उनले बताए।
सार्वजनिक यातायात, बस लेन र अन्य पूर्वाधारमा लगानीको निर्णय पनि तथ्यांक र अनुसन्धानका आधारमा हुनुपर्ने उनले बताए। काठमाडौंमा चार्जिङ पूर्वाधार विस्तारसँगै सार्वजनिक यातायातलाई प्रभावकारी बनाउने पूर्वाधारलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ।
भविष्यको मोबिलिटी नयाँ सवारीसाधन बिक्रीमा मात्र सीमित हुन नहुने वैद्यले बताए। मानिसलाई सुरक्षित, सहज र प्रभावकारी रूपमा गन्तव्यसम्म पुर्याउने प्रणाली विकास गर्न एआई, अनुसन्धान र सार्वजनिक-निजी सहकार्य आवश्यक रहेको उनले बताए।










