काठमाडौं। विद्युतीय सवारीसाधनको व्यावसायिक प्रयोग बढिरहेका बेला ई-ड्राइभ नेपालले ५० वटा एमजी विन्डसर ईभी खरिद गर्ने भएको छ।
एमजी मोटर इन्डियाको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स र ई-ड्राइभ नेपालबीच सम्झौता भएको हो।सम्झौताअनुसार ई ड्राइभ नेपालले ५० वटा एमजी विन्डसर कम्युट आफ्नो फ्लीटमा समावेश गर्नेछ।
सम्झौताअन्तर्गत सुरुमा १६ वटा एमजी विन्डसर कम्युट गाडी ई-ड्राइभ नेपाललाई हस्तान्तरण गरिएको छ। बाँकी पनि सम्झौताअनुसार क्रमशः उपलब्ध गराइने कम्पनीले जनाएको छ।
जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले यो सम्झौता महत्त्वपूर्ण उपलब्धि भएको बताए। उनका अनुसार व्यावसायिक क्षेत्रमा विद्युतीय सवारीप्रतिको विश्वास बढ्दै गएको यसले देखाएको छ।
एमजी विन्डसर कम्युट आराम, प्रविधि र दक्षताको संयोजन भएको विद्युतीय सवारीसाधन हो। यसमा ३८ किलोवाट आवर क्षमताको ब्याट्री र १०० किलोवाटको मोटर जडान गरिएको छ। यसले एकपटक चार्ज गर्दा ३३० किलोमिटरभन्दा बढी दूरी तय गर्ने कम्पनीले जनाएको छ।
गाडीमा यात्रुको आरामका लागि १३५ डिग्रीसम्म पछाडि ढल्किने एरो–लाउन्ज सिट राखिएको छ। फास्ट चार्जिङ सुविधाले व्यावसायिक फ्लीट सञ्चालनमा चार्जिङ समय घटाउन सहयोग गर्नेछ। यो गाडीको ग्राउण्ड क्लियरेन्स १८६ मिलिमिटरको छ।
जीओ अटोमोबाइल्सले विन्डसरमा देशव्यापी सर्भिस सञ्जाल र स्पेयर पार्ट्स उपलब्ध रहेको बताएको छ। हाई भोल्टेज मोटरमा आठ वर्ष वा एक लाख ६० हजार किलोमिटर वारेन्टी दिइएको छ। अन्य सवारीसाधनमा व्यावसायिक प्रयोगका लागि तीन वर्ष वारेन्टी उपलब्ध हुने कम्पनीले जनाएको छ।
ई-ड्राइभ नेपालले विन्डसरलाई आफ्नो राइड–सेयरिङ सेवाको फ्लीटमा प्रयोग गर्नेछ। कम्पनीले यसबाट यात्रुलाई प्रिमियम, किफायती र शून्य उत्सर्जनयुक्त सेवा दिने जनाएको छ। ई-ड्राइभ नेपाल सन् २०२२ मा स्थापना भएको विद्युतीय राइड–सेयरिङ सेवा प्रदायक हो।
कम्पनीले काठमाडौं उपत्यकाबाट सेवा सुरु गरी अन्य क्षेत्रमा विस्तार गरिरहेको जनाएको छ। ई-ड्राइभले यात्रु सुरक्षाका लागि लाइभ लोकेसन ट्र्याकिङ र आपत्कालीन सम्पर्क सुविधा उपलब्ध गराउँछ। यात्रु र चालक दुवैका लागि बीमा कभरेजसमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।










