सिटिजन्स बैंकको खुद नाफा २ अर्ब ९ करोड पुग्यो, प्रतिसेयर आम्दानी पनि वृद्धि



बिजमाण्डू
२०८३ साउन २९ गते ०६:५५ | Aug 14, 2026
सिटिजन्स बैंकको खुद नाफा २ अर्ब ९ करोड पुग्यो, प्रतिसेयर आम्दानी पनि वृद्धि


काठमाडौं । सिटिजन्स बैंकले आर्थिक वर्ष २०८२/८३ मा वित्तीय प्रदर्शनमा उल्लेख्य सुधार गरेको छ। बैंकले खुद नाफा ६३.०५ प्रतिशतले वृद्धि गरेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको जनाएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ रहेको थियो।

Tata
GBIME

यससँगै बैंकको नाफामा मात्रै नभई प्रतिसेयर आम्दानी क्षमतामा समेत उल्लेख्य सुधार देखिएको छ। बैंकको बेसिक अर्निङ्स पर सेयर (इपीएस) ८.६८ रुपैयाँबाट बढेर १३.५३ रुपैयाँ पुगेको छ। अर्थात्, बैंकको इपीएसमा करिब ५६ प्रतिशतको वृद्धि भएको छ। खुद नाफा र इपीएस दुवैमा आएको सुधारले बैंकको आम्दानी क्षमता मजबुत हुँदै गएको संकेत गरेको जनाइएको छ।

नाफा वृद्धिमा इम्पेयरमेन्ट चार्जमा आएको ६९.०५ प्रतिशतको कमी महत्वपूर्ण योगदानकर्ताका रूपमा देखिएको छ। अघिल्लो वर्ष २ अर्ब ६८ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष घटेर ८२ करोड ९४ लाख रुपैयाँ मा सीमित भएको छ। यसले बैंकको नाफामा सकारात्मक प्रभाव पारेको जनाइएको छ।

त्यसैगरी, बैंकको निक्षेप लागत ४.४९ प्रतिशतबाट घटेर ३.३६ प्रतिशत मा आएको छ। घट्दो ब्याजदर वातावरणमा बैंकले आफ्नो स्रोत लागत व्यवस्थापनमा सुधार गरेको देखिन्छ। बैंकको नेट शुल्क तथा कमिसन आम्दानी ६.३३ प्रतिशतले बढेको छ भने नेट ट्रेडिङ तथा अन्य सञ्चालन आम्दानीमा उल्लेख्य ५१.१२ प्रतिशतको वृद्धि भएको बैंकद्वारा जारी तथ्यांकले देखाउँछ।

बैंकको खुद नाफा २ अर्ब १० करोड रुपैयाँ पुगे पनि वितरणयोग्य नाफा ५२ करोड ३१ लाख रुपैयाँ अर्थात् ३.३७ प्रतिशत कायम भएको छ। यो अन्तरलाई बैंकको संचालन नाफा कमजोर भएको अर्थमा लिनुपर्ने अवस्था नरहेको जनाइएको छ। वितरणयोग्य नाफा निर्धारण गर्दा नेपाल राष्ट्र बैंकका नियामकीय व्यवस्था, वैधानिक विनियोजन तथा विभिन्न समायोजनहरू लागू हुने भएकाले खुद नाफा र वितरणयोग्य नाफाबीच फरक देखिएको बैंकले जनाएको छ।

विशेषगरी, डिफर्ड ट्याक्स असेट (डीटीएस) बापत करिब ४३ करोड ३८ लाख रुपैयाँ नियामकीय प्रयोजनका लागि वितरणयोग्य नाफाबाट समायोजन गरिएको बैंकले जनाएको छ। वित्तीय विवरणमा नियामकीय रिजर्भसम्बन्धी प्रावधानअनुसार यसको हिस्सा वितरणयोग्य नाफामा गणना गर्न नपाइने भएकाले यस्तो समायोजन गरिएको जनाइएको छ।