काठमाडौं। नाइमा मोबिलिटी एक्स्पोमा २० लाख रुपैयाँमुनिका साना इभीदेखि चार करोड रुपैयाँ नजिकका प्रिमियम एसयूभीसम्म उपलब्ध भएपछि ग्राहकसँग छनोटको दायरा थप फराकिलो भएको छ।
तर, सवारीसाधनका ब्रान्ड र मोडलसँगै मूल्यमा तीव्र प्रतिस्पर्धा देखिएको छ। विशेषगरी ४० देखि ७० लाख रुपैयाँको सेगमेन्ट सबैभन्दा धेरै प्रतिस्पर्धात्मक देखिएको हो। यो सेगमेन्टमा चिनियाँ, भारतीय, कोरियाली र जापानी ब्रान्डका गाडी बेच्ने अटो व्यवसायीबीच ग्राहक तान्ने होड चलेको छ। चिनियाँ ब्रान्डबीच नै प्रतिस्पर्धा धेरै छ।
एक्स्पोमा देखिएको प्रतिस्पर्धाले नेपाली इभी बजार अब कुन ब्रान्ड आयो? भन्दा पनि कुन मूल्यमा कति फिचर र रेन्ज दिन्छ? भन्ने चरणमा प्रवेश गरेको देखाएको छ।

विशेषगरी ३०-७० लाख रुपैयाँको बीचमा दर्जनौं मोडल प्रतिस्पर्धामा रहेकाले ग्राहकलाई विकल्प धेरै भएको छ। एउटै मूल्यमा एउटा ब्रान्डले ठूलो ब्याट्री र लङ रेन्ज, अर्कोले प्रिमियम फिचर, तेस्रोले ठूलो एसयूभी र चौथोले ब्रान्ड भ्यालु बेचिरहेको छ।

५० देखि ६० लाख रेन्जमा सबैभन्दा धेरै ११ वटा मोडल भिडिरहेका छन्। यसमा ब्रान्ड वार नै छ। कसले कम मूल्यमा धेरै फिचर दिन्छ र कसको आफ्टर सेल्स सर्भिस राम्रो छ भनेर ग्राहकले तुलना गर्न थालेका छन्। ग्राहकले सर्भिस नेटवर्क हुने र स्थापित ब्रान्डलाई साथ दिने संकेत देखिन्छ।
ग्राहकहरु ३० देखि ४० लाख रुपैयाँको सेगमेन्टमा ६ वटा ब्रान्डमा धेरै झुम्मिएका छन्। यो सेगमेन्टमा टाटा टियागो र पन्च इभी, बीवाइडी एटो१ र चेरीको क्यूक्यू३ को स्टलमा धेरै भीडभाड देखिन्छ।
करोडमाथिको सेगमेन्टमा प्रिमियम एसयूभीको भीडन्त
नाइमा एक्स्पोमा करोड रुपैयाँभन्दा माथिको सेगमेन्टमा पनि उल्लेख्य प्रतिस्पर्धा छ। बीएआईसीको बीजे३०ई को मूल्य करिब १ करोड २० लाख रुपैयाँ छ।

हुन्डाईको आयोनिक९ को मूल्य पनि १ करोड २० लाख नै छ।
एमजीले एचएस पीएच इभी १ करोड २० लाख र अर्को भेरियन्ट १ करोड रुपैयाँमा ल्याएको छ।

एमजी यू९ को मूल्य १ करोड १० लाख राखिएको छ।
गोल्छाको जीओ अटोमोबाइल्सले एमजी मजेस्टर २ करोड ५० लाख मूल्यसहित एक्स्पोमा सार्वजनिक गरेको छ।

प्रिमियम सेगमेन्टमा डेन्जाको बी५ र बी८ को मूल्य २ करोड ९७ लाख र ३ करोड ८० लाख रुपैयाँमा उपलब्ध छन्।

टोयोटाको र्याभ फोर र हाइलक्स १ करोड ५५ लाख र २ करोड १३ लाख रुपैयाँको मूल्यमा प्रतिस्पर्धामा छन्।
मास मार्केट: ३० देखि ४० लाख रुपैयाँ सेगमेन्ट
नाइमामा ३०-४० लाख रुपैयाँको सेगमेन्ट पनि निकै प्रतिस्पर्धात्मक छ। बीवाइडी एटो१ मोडल ३० लाख ७५ हजारदेखि ३४ लाख ९० हजार, टाटा पन्च इभी फेसलिफ्ट ३३ लाख ९९ हजारदेखि ३७ लाख ९९ हजार, चेरी क्यूक्यू ३४ लाख ४९ हजारदेखि ३५ लाख ९९ हजारमा उपलब्ध छन्।

त्यस्तै लिपमोटर टी०३ ३१ लाख ९९ हजार, प्रोटोन इम्यास फाइभ ३२ लाख ९९ हजारदेखि ३६ लाख ९९ हजार र एमजी विन्डसर ३९ लाख ७५ हजार रुपैयाँमा छन्।
नेपालमा पहिलो पटक भित्रिएको चेरीको क्यू नाइमा अवधिभर करिब ३० लाखमा पाइने छ। ४१.२ किलोवाट आवरको ब्याट्री रहेको चेरी क्यूको मूल्य ३० लाख ९९ हजार हो। चेरी क्यूकै प्रिमियमको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ पर्छ। यसले करिब ४०० किलोमिटर रेञ्ज दिने दाबी गरिएको छ।
नेपालमा गत वर्ष सार्वजनिक गरिएको बीवाइडी एटो१ अहिले ३६० डिग्री क्यामेरालगायत नयाँ फिचर्ससहित आएको छ। एटो१ को मूल्य ३०.७५ लाख रुपैयाँ छ। नाइमामा बुकिङ गर्नेले १ लाख रुपैयाँ छुट पाउने छन्।
३० लाखसम्मको रेन्जमा पनि आधा दर्जन मोडल
एक्स्पोमा करिब एक दर्जन मोडलले ३० लाखको रेञ्जमा प्रतिस्पर्धा गरिरहेका छन्। यो सेगमेन्टमा एमजी कोमेट, हेन्री भोल्ट्स, बोमा इभी, टाटा टियागो, वुलिङ मिनी गाडीलगायतले प्रतिस्पर्धा गरिरहेका हुन्। टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ३० मुनिमै टियागोका २ भेरियन्ट ल्याएको छ।

टियागो पियरको मूल्य २८ लाख ९९ हजार र टियागो क्रिएटिभ प्लसको मूल्य २९ लाख ९९ हजार राखिएकामा यो एक्स्पोमा खरिद गर्नेले ११ वर्ष वा २ लाख २० हजार किलोमिटर वारेन्टी दिने अफर ल्याएको छ। टाटा टियागो २४ किलोवाट आवर ब्याट्रीमा उपलब्ध छ।
यसबाहेक लक्ष्मी ग्रुपले अघिल्लो वर्षबाटै केयीका गाडी बिक्री गरिरहेको छ। केयीको क्वाइट०२ को मूल्य २२ लाख ९६ हजार र ई-क्वाइटी०४ को मूल्य २५ लाख ९६ हजार रुपैयाँ छ।
विशाल ग्रुप अन्तगर्तको प्यारामाउन्ट मोटर्सले नाइमा एक्स्पोमा वुलिङको मिनी इभीको मूल्य १९ लाख ९९ हजार रुपैयाँ राखेको छ। यसको लङ रेञ्ज गाडीको मूल्य २१ लाख ९९ हजार रुपैयाँ छ। यो गाडी १६.२ किलोवाट आवर र २५.१ किलोवाट आवर ब्याट्रीमा उपलब्ध छ।

एमजीको कोमेट इभी २० लाख मुनिको रेञ्जमा उपलब्ध छ। अघिल्लो वर्षको अटो शोमा समेत प्रदर्शनीमा राखिएको यो गाडीमा १७.३ किलोवाट आवर ब्याट्री छ। बिक्रेता कम्पनीले गाडीको मूल्य १८ लाख ७५ हजार रुपैयाँ राखेको छ।
हेनरी भोल्टर्सका गाडी पनि २० लाखभन्दा कम मूल्यमै उपलब्ध छन्। सन् २०२१ देखि नेपालमा बिक्री भइरहेको हेनरी भोल्टर्सका दुई वटा भेरियन्टमध्ये एउटाको मूल्य १८ लाख ५० हजार र फिचर्स धेरै भएको अर्कोको मूल्य २२ लाख ५० हजार रुपैयाँ छ।
२०० किलोमिटर रेञ्ज दिने बोमा इभीको मूल्य २० लाख ९९ हजार र ३०० किलोमिटर रेञ्ज दिने गाडीको मूल्य २५ लाख ९९ हजार रुपैयाँ रहेकामा विक्रेता कम्पनीले नाइमा एक्स्पोभरका लागि १ लाख नगद छुट गरेको छ।
यस्तै हेन्रीको भोल्ट्सको मूल्य १८ लाख ५० हजार रुपैयाँ राखिएको छ।
५०-६० लाखमा सबैभन्दा बढी प्रतिस्पर्धा
नाइमा एक्स्पोमा ५०-६० लाख रुपैयाँ सेगमेन्टमा सबैभन्दा चर्को प्रतिस्पर्धा छ। वुलिङ डारियोन ५६ लाख, निसान टेकटन ५३ लाख ९९ हजार, होङ्छी ईएचएस ४ मोडल ५९ लाख ९९ हजार र ग्रेट वालको ह्यावल जोयलन प्रो म्याक्स पनि ५९ लाख ९९ हजारमा उपलब्ध छन्।

त्यस्तै जेको जे५ प्रो ५१ लाख ५९ हजार, जे५ लङरेन्ज ५६ लाख ९९ हजार, ओमोडा ई५ प्रो ५६ लाख ९९ हजार, वुलिङ एक्सियोन ५७ लाख ९९ हजार, महिन्द्रा एक्सइभी९एस ६० लाख, आईकार भी२३ ५३ लाख ९९ हजार र एमजी एस५ ५० लाख ९९ हजारदेखि ५५ लाख ९९ हजार रुपैयाँ सम्ममा किन्न पाइन्छ।
यस सेगमेन्टमा ग्राहकले एउटै मूल्य आसपासमा एसयूभीको आकार, ब्याट्री क्षमता, रेन्ज, ब्रान्ड र फिचरका आधारमा छनोट गर्नुपर्ने अवस्था छ। यो सेगमेन्टमा प्राय: उस्तै फिचर र ब्याट्री छन्। रियर ह्वील ड्राइभ पनि भएका गाडी पाइन्छन।

४०-५० लाख रुपैयाँको सेगमेन्टमा बीवाइडी एटो२ का दुई भेरियन्ट ४५ लाख ९६ हजार र ४८ लाख ९९ हजारमा उपलब्ध छन्।
ग्राहकले लिपमोटर बी०३ एक्स ४४ लाख ९९ हजार, जीडब्लूएम ओराका ५ मोडल ४८ लाख ४९ हजारदेखि र एमजी फोर इभी ४१ लाख ४९ हजारदेखि ४९ लाख ९९ हजार रुपैयाँसम्म किन्न पाउँछन्।










