राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६७ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा एक अर्ब रुपैयाँमाथि



बिजमाण्डू
२०८३ साउन २८ गते १४:४९ | Aug 13, 2026
राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६७ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा एक अर्ब रुपैयाँमाथि


काठमाडौं। गत आर्थिक वर्षमा राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ६०.६७ प्रतिशतले बढेर ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ पुगेको छ।

Tata
GBIME

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब ८३ करोड रुपैयाँ थियो। बैंकको फी-कमिसनसँगै ब्याज आम्दानी सुधार हुँदा नाफा बढेको हो। गत वर्ष बैंकको कर्जा नोक्सानी समेत घटेको छ।

गत आव २०८२/८३ मा बैंकको ब्याज आम्दानी १७.८४ प्रतिशतले बढेर ११ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १० अर्ब १५ करोड रुपैयाँ थियो। फी-कमिसन आम्दानी ७.२४ प्रतिशतले बढेर १ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ।

गत वर्ष बैंकको व्यवसाय विस्तार उच्च दरले वृद्धि भएको छ। बैंकले ४० अर्ब कर्जा बढाएको हो। अघिल्लो वर्ष कुल २ खर्ब ९२ अर्ब रहेको कर्जा ४० अर्बले बढेर ३ खर्ब ३२ अर्ब पुगेको छ।

नाफा बढेसँगै बैंकको वितरणयोग्य मुनाफा धनात्मक देखिएको छ। अघिल्लो वर्ष ८५ करोडले ऋणात्मक रहेको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँले धनात्मक देखिएको छ। बैंकको वितरणयोग्य मुनाफालाई आधार मान्दा यो वर्ष बैंकको लाभांश क्षमता ६.८९ प्रतिशत देखिन्छ।

बैंक प्रति सेयर आम्दानी १०.२७ प्रतिशतबाट बढेर २९.१४ प्रतिशत पुगेको छ। पुँजीकोष अनुपात ११.४० प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस्तो अनुपात ११.३६ प्रतिशत थियो।

बैंकको टायर वान क्यापिटल भने ८.९८ प्रतिशतबाट सुधार भई ९.१९ प्रतिशत पुगेको छ। खराब कर्जा थोरै बढेको छ। अघिल्लो वर्ष ३.७९ प्रतिशत रहेको खराब कर्जा बढेर ३.९५ प्रतिशत पुगेको हो।

बैंकको बेस रेट ४.३० प्रतिशतमा आएको छ। बेस रेट जति कम हुन्छ त्यति नै कर्जा सस्तो हुन्छ। कष्ट अफ फण्ड २.९६ प्रतिशतमा आएको छ भने कर्जा निक्षेप अनुपात ५०.८७ प्रतिशतमा आएको छ।