काठमाडौं। टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टियागो र पन्च इभीको फेसलिफ्ट गाडी नाइमा एक्स्पोमा सार्वजनिक गरेको छ।
टाटा इभीका दुवै नयाँ मोडल सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सार्वजनिक गरेका हुन्। दुई नयाँ गाडी सार्वजनिक भएसँगै ग्राहकका लागि बजारमा टाटाको विद्युतीय सवारीसाधनको विकल्प थपिएको छ।
टियागो इभी फेसलिफ्टको मूल्य २८ लाख ९९ हजार रुपैयाँ र पन्च इभी फेसलिफ्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
नयाँ पञ्च इभीमा यसअघिको तुलनामा ठूलो क्षमताको ब्याट्री, बढी दूरी तय गर्न सक्ने क्षमता, छिटो चार्ज हुने सुविधा तथा थप प्रविधि समावेश गरिएको छ। यसलाई कम्पनीले थप शक्तिशाली र सुविधासम्पन्न विद्युतीय एसयूभीका रूपमा ल्याएको छ। यसमा ४५ किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध छ।
त्यस्तै, नयाँ टियागो इभीलाई दैनिक आवतजावतका लागि उपयोगी विद्युतीय ह्याचब्याकका रूपमा बजारमा ल्याइएको हो। यसमा पनि थप सुविधा र प्रविधि समावेश गरिएको छ। व्यवहारिक, सहज र प्रविधिमैत्री विद्युतीय सवारीसाधन खोज्ने ग्राहकलाई लक्षित गरी टियागो इभीको फेसलिफ्ट ल्याइएको कम्पनीले जनाएको छ।

इभीको नेटवर्क विस्तारसँगै आवश्यक पूर्वाधार निर्माणमा पनि सिप्रदीले जोड दिँदै आएको छ। सिप्रदी ट्रेडिङका चिफ अपरेटिङ अफिसर राजेशप्रसाद गिरीले इभी बिक्रीसँगै सम्बद्ध सेवाको सञ्जाल बिस्तार गरिरहेको प्रष्ट पारे।
‘विद्युतीय सवारीसाधनप्रतिको हाम्रो प्रतिबद्धता गाडी बिक्रीमा मात्र सीमित छैन। ग्राहकलाई इभीको प्रयोगमा थप विश्वास र सहजता दिलाउन हामीले बलियो पूर्वाधार निर्माणमा पनि लगानी गरिरहेका छौं,’ उनले भने, ‘हाल २१ भन्दा बढी इभी सर्भिस सेन्टर, ३९ वटा डीसी चार्जिङ प्वाइन्ट र १५० भन्दा बढी एसी चार्जिङ प्वाइन्ट सञ्चालनमा छन्।’
सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले पछिल्लो प्रविधिसहितका विद्युतीय सवारीसाधन भित्र्याउने प्रतिबद्धता अनुसार नयाँ पञ्च इभी र टियागो इभी सार्वजनिक गरेको बताए।
उनका अनुसार दुवै गाडी फरक-फरक ग्राहकको आवश्यकता पूरा गर्ने गरी विकास गरिएको छ। ‘बढी दूरी तय गर्न सक्ने क्षमता, छिटो चार्ज हुने सुविधा, थप प्रविधि र बलियो सुरक्षा व्यवस्थासहितका यी नयाँ मोडलले नेपालमा विद्युतीय सवारीसाधनको प्रयोगलाई अझ तीव्र बनाउन सहयोग गर्ने हाम्रो विश्वास छ,’ उनले भने।
नयाँ पञ्च इभी
टाटाले लोकप्रिय विद्युतीय एसयूभी पञ्च इभीलाई थप ठूलो ब्याट्री, बढी दूरी तय गर्न सक्ने क्षमता, छिटो चार्ज हुने सुविधा, अत्याधुनिक प्रविधि र थप प्रिमियम ड्राइभिङ अनुभवसहित नयाँ रुपमा बजारमा ल्याएको हो।
नयाँ पञ्च इभीमा ३२ किलोवाट घण्टा र ४० किलोवाट घण्टा क्षमताका दुई ब्याट्री विकल्प छन्। नेपालमा गरिएको गाडीको सडक परीक्षणका आधारमा यी ब्याट्रीले एकपटकको चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्म रेञ्ज दिन्छन्। ग्राहकलाई आफ्नो आवश्यकता र बजेटअनुसार ब्याट्री विकल्प छनोट गर्ने सुविधा उपलब्ध भएको छ।

अत्याधुनिक ‘एक्टिभ’ प्रविधिमा आधारित पञ्च इभीमा नयाँ पुस्ताका विभिन्न प्रविधि र सुविधा समावेश गरिएको छ।
पञ्च इभीमा उच्च क्षमताको ब्याट्री, फाइभ स्टार सुरक्षा रेटिङ, आवाजबाट सञ्चालन गर्न सकिने विद्युतीय सनरुफ, हर्मनको २६.०३ सेन्टिमिटर उच्च गुणस्तरको सूचना तथा मनोरञ्जन प्रणाली, ३६० डिग्री वरिपरि हेर्न सकिने क्यामरा, ३६६ लिटरको बुट स्पेस र ६ वटा एयरब्याग छन्।
यसमा १९५ मिलिमिटरको उच्च ग्राउन्ड क्लियरेन्सका साथै थप सुरक्षा सुविधा छन् जसले सहज र सुरक्षित ड्राइभिङ अनुभव दिनेछ।
त्यस्तै, १.५ सीडीसी फास्ट चार्जिङ, हावा प्रवाह हुने छालाजस्तो सिट, नेभिगेसनसहितको २६.०३ सेन्टिमिटर डिजिटल ककपिट तथा ६० भन्दा बढी सुरक्षा सुविधा उपलब्ध छन्।
पञ्च इभी अब नयाँ र आकर्षक रङमा पनि उपलब्ध छ। यो गाडी बेङ्गाल रोज (रातो), फियरलेस यल्लो, एम्पावर्ड अक्साइड, प्योर ग्रे र प्रिस्टिन ह्वाइट रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।










