अमरेशले बालेनलाई भने- तपाइँ महेन्द्रकालीन सोच लिएर अघि बढ्दै हुनुहुन्छ, यसरी देश अघि बढ्दैन



बिजमाण्डू
२०८३ साउन २१ गते १५:१४ | Aug 6, 2026
अमरेशले बालेनलाई भने- तपाइँ महेन्द्रकालीन सोच लिएर अघि बढ्दै हुनुहुन्छ, यसरी देश अघि बढ्दैन


काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले सरकारमाथि देशलाई उत्तर कोरिया पथमा हिंडेको आरोप लगाएका छन्।

Tata
GBIME

उनले बिहीबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दल विधेयकमाथि छलफलका क्रममा सरकारमा राष्ट्रियताको भावना नै नरहेको बताए। उनले प्रधानमन्त्री बालेन्द्र शाहमाथि पूर्वराजा महेन्द्रको पथमा हिंडेको आरोप समेत लगाए।

‘राष्ट्रियताको भावना सरकारमा छैन। खाडीमा युवा पठाएर राष्ट्रियता प्रवर्धनको नारा लगाउने? महेन्द्रकालीन सोच लिएर तपाइँ अघि बढ्दै हुनुहुन्छ। यसरी त देश अघि बढ्न सक्दैन। हाम्रो जियोपोलिटिक्स मिलेको छैन,’ उनले भने।

अमरेशले विधेयकलाई लिएर सरकार सैनिक शासनतिर अग्रसर भएको आरोप लगाए।

‘सरकारी नियुक्ति मेरिटोक्रेसीमा छैन। यसको कभर लगाएर अल्पसंख्यक समुदाय उपेक्षित गर्ने काम भइरहेको छ। नेपाललाई पाकिस्तान होइनन, नर्थ कोरिया बनाउन खोजिंदैछ,’ उनले भने, ‘यो विधेयकको नियतमा शंका छ। जुन देशमा शिक्षा र स्वास्थ्य कसरी बलियो बनाउने कानुन आउँदैन, सेना बढाइन्छ।’ 

बैठकमा विपक्षी दलका सांसदले पनि विधेयक ल्याउनुको नियतमाथि आशंका गरे। नेपाली कांग्रेसका प्रमुख सचेतक भीष्मराज आङदेम्बे, नेकपा एमालेकी पद्माकुमारी अर्याल, नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाल लगायतले कानुन बनाएर विद्यार्थीलाई सैन्य तालिम दिन खोज्नुका पछाडि आशंका रहेको बताए।