खल्तीबाट भुक्तानी गरे स्वतः ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा सहभागी भइने



बिजमाण्डू
२०८३ साउन २१ गते १४:०६ | Aug 6, 2026
खल्तीबाट भुक्तानी गरे स्वतः ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा सहभागी भइने


काठमाडौं। आईएमई खल्ती लिमिटेड (खल्ती)ले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम २०८३’मा आफ्ना प्रयोगकर्तालाई सहभागी गराउने व्यवस्था गरेको छ।

Tata
GBIME

अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागले संचालन गरेको यो कार्यक्रम अब खल्तीमार्फत पनि सहज रूपमा उपलब्ध हुनेछ।

यस व्यवस्थासँगै खल्ती प्रयोगकर्ताले १०० रुपैयाँभन्दा बढीको योग्य डिजिटल भुक्तानी गरेपछि स्वतः उपहार योजनामा सहभागी हुनेछन्। कुनै अतिरिक्त प्रक्रिया पूरा गर्नुपर्ने छैन।

योग्य कारोबार भएपछि प्रणालीले स्वतः उपहार कुपन सिर्जना गर्नेछ। प्रयोगकर्ताले आफ्नो कुपन खल्ती एपमै हेर्न सक्नेछन्।

कार्यक्रमअन्तर्गत प्रत्येक दिन एक जना भाग्यशाली विजेताले कर कट्टीपछि १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, प्रत्येक १५ दिनमा एक जना बम्पर विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

खल्तीमार्फत हुने योग्य कारोबारको विवरण सुरक्षित प्रणालीमार्फत स्वतः आन्तरिक राजस्व विभागको प्लेटफर्ममा पठाइनेछ। यसले सहभागितालाई सहज, पारदर्शी र झन्झटरहित बनाउने कम्पनीको विश्वास छ।

विभागले हरेक महिनाको १ र १६ गते स्वचालित प्रणालीमार्फत विजेता छनोट गर्नेछ। विजेतालाई मोबाइल फोन र इमेलमार्फत जानकारी गराइनेछ।

खल्तीमार्फत सहभागी भएका विजेतालाई भने कम्पनीले पनि आफ्नै माध्यमबाट सूचना दिने जनाएको छ।

सरकारको यो पहलले बिलमा आधारित कारोबारलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। साथै, डिजिटल भुक्तानीप्रति उपभोक्ताको विश्वास बढ्ने अपेक्षा गरिएको छ।

कारोबारको अभिलेखीकरण व्यवस्थित हुने, औपचारिक अर्थतन्त्र बलियो बन्ने र राष्ट्रिय राजस्व प्रणाली थप सुदृढ हुने अपेक्षा पनि गरिएको छ।

आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले सरकारको महत्त्वपूर्ण पहललाई खल्तीका प्रयोगकर्तासम्म सहज रूपमा पुर्‍याउन पाउँदा कम्पनी उत्साहित रहेको बताए। उनले सरकारी प्राथमिकतासँग सहकार्य गर्दै वित्तीय पारदर्शिता प्रवर्धन गर्ने र डिजिटल अर्थतन्त्र निर्माणमा जिम्मेवार योगदान दिने प्रतिबद्धता दोहोर्‍याए।