लप्सीफेदीमा जग्गाको भाउ २१ प्रतिशतसम्म बढ्यो, नाङ्लेभारेमा प्रति आना ३ लाख



बिजमाण्डू
२०८३ साउन २० गते २०:१३ | Aug 5, 2026
लप्सीफेदीमा जग्गाको भाउ २१ प्रतिशतसम्म बढ्यो, नाङ्लेभारेमा प्रति आना ३ लाख


काठमाडौं। लप्सीफेदी क्षेत्रमा जग्गाको सरकारी भाउ २१ प्रतिशतसम्म बढेको छ। अघिल्लो आर्थिक वर्ष आनाको ३ लाख ३० हजार रुपैयाँ रहेको यो क्षेत्रका केही स्थानको जग्गाको न्यूनतम मूल्य यो आर्थिक वर्षका लागि ४ लाखसम्म पुर्‍याइएको छ।

Tata
GBIME

भूमि प्रशासन कार्यालय साँखुले सार्वजनिक गरेको विवरण अनुसार जर्सिङपौवादेखि भोटेचौर जाने सडक आसपासका जग्गाको सरकारी भाउ शंकरापुर नगरपालिकाले २१ प्रतिशतले बढाएको हो

मध्यपहाडी लोकमार्गमा पर्नुका साथै पर्यटकीय क्षेत्र पनि भएकोले यो क्षेत्रको मूल्यांकन बढेको स्थानीय रक्षबहादुर ग्लानले सुनाए। ‘यो क्षेत्रबाट काठमाडौं उपत्यका देखिन्छ। रिसोर्ट धमाधम खुलिरहेका छन्। यतिमात्र नभएर मध्यपहाडी लोकमार्गमा पनि जोडिएकोले मूल्य बढेको हो,’ ग्लानले भने।

यो क्षेत्रमा च्याने पाटीदेखि लप्सीफेदी पुलको मुल सडकसँग जोडिएका जग्गाको मूल्य भने पोहोर जति नै प्रति आना १० लाख रुपैयाँ राखिएको छ। पिच सडकसँग जोडिएका जग्गाको मूल्य ५ लाख ३० हजारबाट बढाएर ५ लाख ६० हजार पुर्‍याइएको छ।

बाटो नभएका क्षेत्रको जग्गा प्रति आना ५५ हजारबाट ६० हजार पुगेको छ।

आलापोट र गागलफेदी क्षेत्रमा १० प्रतिशत मूल्य बढाइएको छ। आलापोटमा गत आर्थिक वर्ष सरकारी भाउ प्रति आना ९ लाख ५० हजार रहेकामा यो आर्थिक वर्ष १० लाख ४५ हजार पुगेको छ। गागलफेदी क्षेत्रमा अधिकतम मूल्य ९ लाख ५० हजारबाट १० लाख ४५ हजार पुर्‍याइएको छ।

साँखु क्षेत्रमा अधिकतम मूल्य प्रति आना १७ लाखबाट बढाइएको छैन। यसैगरी सुन्दरीजलको मुल सडकसँग जोडिएका जग्गाको न्यूनतम मूल्य यस आर्थिक वर्ष पनि १३ लाख रुपैयाँ नै कायम छ। भित्री सडकका जग्गाको मूल्य प्रति आना ८ लाख ५० हजारबाट बढाएर ९ लाख कायम गरिएको छ।

नाङ्लेभारे क्षेत्रमा प्रति आना मूल्य २ लाख ६० हजारबाट ३ लाख पुगेको छ। भद्रबास क्षेत्रमा १० लाखबाट ११ लाखमा पुगेको छ। पुखुलाछी क्षेत्रमा ११ प्रतिशतसम्म मूल्य बढाइएको छ।

यसअघि काठमाडौंका विभिन्न स्थानीय तहले भित्री भागमा ५ प्रतिशत र चक्रपथ बाहिर बनस्थलीदेखि गोठाटार र पेप्सीकोला क्षेत्रमा १० प्रतिशतसम्म भाउ बढाएका थिए।

भक्तपुर र ललितपुरका स्थानीय तहले भने यसपटक मूल्य बढाएका छैनन्।