काठमाडौं । उत्तरी नाका रसुवा भन्सार कार्यालयबाट आयात बढ्न थालेको छ। गत वर्ष असारमा गएको बाढीले लामो समयसम्म सो नाकाबाट हुँदै आएको आयात प्रभावित भएको थियो।
हाल रसुवा नाकामा दैनिक २० देखि ३० कन्टेर सामान आयात हुने गरेको छ। त्यस्तै, सोही नाकाबाट दैनिक २० देखि ५० थानसम्म इभी गाडी पनि भित्रिने गरेको रसुवा भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुंगानाले बताए।
रसुवा नाकाबाट अहिले मानसरोवर जाने यात्रीहरुको आवातजावत पनि चलिरहेको छ।
‘आयात सामान्य भइरहेको छ। पानी परेर बाटो बिग्रिएकोले मर्मत गर्न मंगलबार केरुङबाट सामान आएको थिएन। तर आजदेखि आयात सुरु भइसकेको छ,’ उनले भने।
भन्सार कार्यालयका अनुसार नाकाबाट इभी गाडी, गार्मेन्टका रोल कपडा ,फलफूल, ओखर, जुत्ता चप्पल लगायतका सामानहरु आयात भइरहेको छ।
त्यस्तै, चालु आर्थिक वर्ष सुरु भए पछि तातोपानी नाका भने बन्द रहेको छ। सो नाका २० दिनदेखि बन्द छ। भन्सार कार्यालय र कोदारी सडकमा पहिरो गएर बाटो अवरुद्ध भएपछि यो नाकाबाट आयात पूर्ण रुपमा रोकिएको हो।
तातोपानी भन्सार कार्यालयका अनुसार काठमाडौं आउने बाटो पहिरोले बन्द हुँदा भन्सार यार्डमा रहेको सामान रोकिएको छ।
हरेक वर्ष चाडपर्व अघि तातोपानी र रसुवा नाकाबाट आयात बढ्ने गर्छ। तर, बर्खायाममा बाढी पहिरोले गर्दा बाटो अवरुद्ध हुँदा चिनियाँ सामान पानीजहाजबाट सडकमार्ग हुँदै आउने गरेको छ।









