काठमाडौं। नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ मा निष्क्रिय कर्जामा उल्लेख्य सुधारसँगै खुद नाफा ३३.५० प्रतिशतले बढाएको छ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अधिकांश वित्तीय सूचकमा अघिल्लो वर्षको तुलनामा उल्लेखनीय सुधार देखिएको हो।
बैंकको खुद नाफा बढेर ७ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। संचालन मुनाफा पनि २५ प्रतिशतले बढेर ११ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ।
बैंकको कुल कर्जा १२.५२ प्रतिशतले बढेर ४ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ। निक्षेप ६ खर्ब रुपैयाँ पुगेको छ भने वाणिज्य बैंकहरूको कुल कर्जामा नबिलको बजार हिस्सा ९ प्रतिशतभन्दा माथि पुगेको छ।
कर्जा विस्तारसँगै खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ। अघिल्लो वर्षको तुलनामा ४.२ प्रतिशतले बढेर खुद ब्याज आम्दानी १७ अर्ब रुपैयाँ नाघेको छ।
कुल संचालन आम्दानी ६.३ प्रतिशतले बढेर २२ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। ब्याज तथा गैरब्याज आम्दानीमा आएको सुधारले संचालन आम्दानी बढाउन सहयोग पुगेको हो।
बैंकले निष्क्रिय कर्जा व्यवस्थापनमा पनि उल्लेखनीय सुधार गरेको छ। कुल निष्क्रिय कर्जा अनुपात ०.२८ प्रतिशत बिन्दुले घटेर ४.२० प्रतिशतमा झरेको छ भने खुद निष्क्रिय कर्जा अनुपात ०.५८ प्रतिशत कायम छ।
कर्जा नोक्सानी व्यवस्था कुल निष्क्रिय कर्जाको करिब ११९ प्रतिशत रहेको बैंकले जनाएको छ। यसले सम्भावित जोखिम व्यवस्थापन र कर्जा गुणस्तरमा सुधार भएको संकेत गर्ने बैंकको दाबी छ।
वितरणयोग्य मुनाफा पनि ३४ प्रतिशतले बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। प्रति सेयर वितरणयोग्य मुनाफा १९ रुपैयाँ १० पैसा र प्रति सेयर आम्दानी २८ रुपैयाँ ३६ पैसा छ।
समग्र वासलातको आकार १५ प्रतिशतले बढेर ७ खर्ब ३४ अर्ब रुपैयाँ नाघेको बैंकले जनाएको छ। पुँजी पर्याप्तता, पुँजी तथा कुल सम्पत्तिको प्रतिफल लगायत प्रमुख वित्तीय सूचकमा पनि सुधार देखिएको छ।










