अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकसँग छलफल गर्दै, गभर्नरलाई डाकेनन्



बिजमाण्डू
२०८३ साउन १९ गते २०:३८ | Aug 4, 2026
अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकसँग छलफल गर्दै, गभर्नरलाई डाकेनन्


काठमाडौं। वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग मंगलबार छलफल गरेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकको जम्बो टोलीलाई छलफलका लागि डाकेका छन्।

Tata
GBIME

नेपाल राष्ट्र बैंकका प्रतिनिधि बेगर अर्थमन्त्रीले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेका थिए। छलफलमा प्रमुख कार्यकारीहरूले  मन फुकाएर कुरा राखेका थिए।

राष्ट्र बैंकका कमी कमजोरी, उसले गर्ने प्रतिबद्धता, अनुसन्धान र नियमन तथा सुपरीवेक्षणसम्म बैंकरहरुले प्रश्न उठाएका थिए।

बैंकरको कुरा सुनेका अर्थमन्त्रीले बुधबार राष्ट्र बैंकका सबै विभागका प्रमुखहरूलाई डाकेका हुन्। राष्ट्र बैंकमा १८ वटा विभाग छन्। त्यसको नेतृत्व कार्यकारी निर्देशकहरुले गर्छन्।

उच्च स्रोतका अनुसार, छलफलमा गभर्नर, डेपुटी गभर्नर र सञ्चालकहरूलाई डाकिएको छैन। कार्यकारी निर्देशकहरूलाई निमन्त्रणा भने गभर्नर कार्यालयबाट पठाइएको छ।

गभर्नर डा. विश्वनाथ पौडेलले कार्यालयको कामभन्दा बाहिर बढी डुलेको, लाइन मिनिस्ट्रीलाई बेवास्ता गरेर प्रधानमन्त्रीलगायत अन्य निकायहरूसँग सोझै सम्बन्ध राखेको गुनासो छ। राष्ट्र बैंकभित्रको प्रशासन चौपट पारेको, केन्द्रीय बैंकको भूमिका निर्वाह गर्न नसकेको आरोप पनि गभर्नर पौडेलमाथि लाग्दै आएको छ।