काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइपीओ निष्कासन विधिमा व्यापक फेरबदलको तयारी थालेको छ।
सेबोनले प्रिमियम र अंकित मूल्यमा बिक्री गर्दै आएको आइपीओलाई अब विभिन्न कानुन संशोधनमार्फत बुक बिल्डिङतिर सिफ्ट गर्ने तयारी गरेको छ।
कम्पनीहरूलाई अंकित मूल्य १०० रुपैयाँ र त्यसमा रकम थपेर प्रिमियम मूल्यमा आइपीओ अनुमति दिँदै आएको सेबोनले अब बुक बिल्डिङ विधिबाट निष्कासन गर्ने गरी कानुन संशोधनको प्रक्रिया अघि बढाएको छ।
सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टले आइपीओ निष्कासनमा मूल्य निर्धारणलाई पारदर्शी बनाउन प्राथमिक बजारमै व्यापक हेरफेर गर्न लागेको बताए।
‘कुनै कम्पनी आइपीओमा आउनका लागि त्यसको मूल्य कति हुने भन्ने अगाडि नै तोकेर हुने होइन। त्यसका लागि लगानीकर्ताले नै निर्धारण गर्ने वैज्ञानिक विधि बुक बिल्डिङ नै हो,’ भट्टले बिजमाण्डूसँग भने, ‘अंकित मूल्य १०० रुपैयाँ भनेर मात्रै हुँदैन, वा यति प्रिमियम भनेर हुँदैन, त्यसभन्दा कम वा बढी पनि हुन सक्छ। त्यसैले हामीले प्राथमिक बजारलाई पारदर्शी र मूल्य निर्धारण वैज्ञानिक बनाउन थुप्रै सुधारका ड्राफ्ट तयार पारेका छौं।’

आइपीओ निष्कासनको बुक बिल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्ताले बोल कबोलमार्फत मूल्य तय गर्छन्। उनीहरूले खरिद गरेका आधारमा तय भएको मूल्यमा १० प्रतिशत घटाएर सर्वसाधारण लगानीकर्तालाई सेयर बिक्री गर्नुपर्ने अहिलेको व्यवस्था छ।
कम्पनीले आइपीओ निष्कासनका लागि मूल्य तय गर्ने बुक बिल्डिङ विधिको संस्थागत लगानीकर्ताकै सहभागितालाई पारदर्शी बनाउन निर्देशिका तयार पारिएको सेबोनले बताएको छ।
निर्देशिकामा संस्थागत लगानीकर्ताको योग्यता, स्वार्थको द्वन्द्व लगायत विषय समेटिएको छ। सेबोनले आइपीओ निष्कासनका लागि २०७७ मा बुक बिल्डिङ निर्देशिका ल्याएकामा अहिलेसम्म दुई कम्पनीले मात्रै बिक्री गरेका छन्।
सर्वोत्तम् सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स बुक बिल्डिङमार्फत सेयर मूल्य तय गरेर बजारमा प्रवेश गरेका थिए। यसअघि बुक बिल्डिङबाट सेयर निष्कासन गरेका कम्पनी नै विवादित बनेका कारण नयाँ आकर्षित नभएको निष्कर्षमा सेबोनले अहिले परिमार्जनसहित यही विधिलाई प्रभावकारी बनाउन लागेको हो।
कम्पनीहरूले अहिले अंकित मूल्य १०० रुपैयाँ र प्रिमियम थपेर सेयर बिक्री गर्दै आएका छन्। अंकित मूल्य पहिल्यै तोकेर कम्पनीलाई बजारमा ल्याउँदा कम्पनीको वास्तविक मूल्यांकन नहुने भएकाले बुक बिल्डिङतिर जानुको विकल्प नभएको बजारका जानकारहरू बताउँछन्।
अंकित मूल्य एउटै हुँदा बजारमा अहिले राम्रा कम्पनीको प्रवेश नहुने तर डुब्न लागेका कम्पनीले पैसा उठाउने माध्यम बनेको छ। यसलाई रोक्नका लागि अन्तर्राष्ट्रिय अभ्यास अनुसार बुक बिल्डिङतिर जान लागिएको सेबोनको तर्क छ।
मर्चेन्ट बैंकरहरू बजारको पारदर्शीता र मूल्य निर्धारणलाई वैज्ञानिक बनाउनका लागि बुक बिल्डिङको विकल्प नभएको बताउँछन्।
‘अरु देशहरूले पहिल्लै फेस भ्यालुमा सेयर बिक्री गर्ने मान्यता फेरिसकेका छन्। हाम्रोमा यो युनिक जस्तो भएको छ। यसले बजारमा धेरै समस्या ल्याएको छ। आइपीओ नै लट्रीजस्तै बनेको छ,’ मर्चेन्ट बैंकर सौगात पन्तले भने, ‘आइपीओ निष्कासनको उपयुक्त विधि भनेकै बुक बिल्डिङ हो। त्यसैबाट मूल्य निर्धारण हुनु राम्रो हो। हामी यतातिर जान ढिलो भइसकेको छ।’
प्रिमियम मूल्यको आइपीओ निष्कासन साढे २ वर्षयता बन्द छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २०८० पुसमा कम्पनीले तजबिजमा प्रिमियम निर्धारण गरेर आइपीओ बिक्री गरेको भन्दै प्रश्न उठाएको थियो।
समितिको निर्देशनपछि सेबोनले प्रिमियम मूल्यमा आइपीओ निष्कासनकव अनुमति दिएको छैन।










