काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजी बजार विकास मार्गचित्र कार्यान्वयनको प्रक्रिया अगाडि बढाएको छ। सेबोनले पुँजी बजार विकास मार्गचित्रमार्फत ल्याएका विषय कार्यान्वयनका लागि कार्ययोजना तयार पारेको छ।
विभिन्न विभागले मार्गचित्र कार्यान्वयनका लागि कार्ययोजना तयार पारेको सेबोनका कर्मचारीहरुले बताएका छन्।
सेबोन अध्यक्ष डा. गोपालप्रसाद भट्टले बजारको विकासका लागि दुई साताअघि १० वर्षे मार्गचित्र ल्याएका थिए। मार्गचित्रमा गरिएका घोषणालाई कार्यान्वयनका लागि कार्ययोजना बनाइएको हो।
‘पुँजी बजार विकास मार्गचित्र कार्यान्वयका लागि हामीले कार्ययोजना तयार पारिसकेका छौं। अबको एक दुई दिनमा यसलाई सार्वजनिक गर्नेछौं,’ सेबोनका एक उच्च अधिकृतले भने, ‘कार्ययोजना अनुरुप केही नियमावली संशोधनका लागि अर्थ मन्त्रालयमा पठाउने तयारीमा छौं।’
भट्टले पुँजी बजार विकास मार्गचित्रमा समय तोकेर नीतिगत, कानुनी, प्राविधिक सुधारका विषय समेटेका छन्। मार्गचित्रमार्फत सेयर कारोबार दैनिक ३० अर्ब पुर्याउने लक्ष्य राखिएको छ।
पुँजीकरणका हिसाबले अर्थतन्त्रको आकारको १५० प्रतिशतको सेयर बजार बनाउने योजनामा ५०० कम्पनी सूचीकृत गर्ने लक्ष्य छ।










