काठमाडौं। नेपाल सुरुङ युगमा प्रवेश गरेको छ। देशकै पहिलो नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)का अध्यक्ष तानाका अकिहिकोले सोमबार एक समारोहबीच सुरुङमार्ग उद्घाटन गरेका छन्।

उद्घाटनका क्रममा एक जना ज्येष्ठ नागरिकलाई पनि रिबन काट्न लगाइएको थियो।

पूर्वाधार विकासमन्त्री लम्सालले नेपाल अब सुरुङ युगमा प्रवेश गरेको भन्दै यस्ता सुरुङमार्ग देशका विभिन्न ठाउँमा बनाउने बताए। ‘नेपाल टनेल युगमा प्रवेश गरेको छ। अब देशैभरी यस्ता टनेल बन्छन्,’ उनले संचारकर्मीसँग भने।
जाइकासँग ऋण सहयोग लिएर सुरुङमार्ग बनाइएको हो। २०७६ कात्तिक ४ गते सुरुङमार्ग शिलान्यास गरिएकामा ८१ महिनामा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ।
शिलान्यास गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए। उनले शिलान्यास गरेको शिलालेख हराएकामा मन्त्री लम्सालले पुनर्स्थापना गर्ने बताएका छन्।
नागढुंगा-सिस्नेखोला खण्ड अब केवल करिब ४ मिनेटमै पार गर्न सकिने भएको छ।
सुरुङमार्गमा पहिलो चरणमा परीक्षणका रुपमा अत्यावश्यक सवारीसाधन संचालन गरिने छ। एक महिनासम्म परीक्षण गरेर त्यसपछि सबैका लागि सुरुङमार्ग खुला गर्ने मन्त्री लम्सालले बताए।
सुरुङभित्र सुरक्षा, व्यवस्थित यातायात र आपतकालीन व्यवस्थापनका लागि विभिन्न अत्याधुनिक प्रविधि जडान गरिएको छ।

अत्याधुनिक कन्ट्रोल रुम र सीसी क्यामेरा राखिएका छन्। सुरुङभित्र र बाहिरका गतिविधि निगरानी गर्न पीटीजेड र फिक्सड क्यामेरा जडान गरिएका छन्, जसमार्फत सवारीसाधनको गति र लेन अनुशासन अनुगमन निगरानी गरिन्छ।
सुरुङमार्गमा ४० देखि ५० किलोमिटर प्रति घण्टाको गतिमा मात्रै सवारीसाधन चलाउन पाइन्छ।
२.६८८ किलोमिटर लामो सुरुङमार्गको निर्माण २०७६ मा थालिएकामा ७ वर्षमा सम्पन्न भएको हो। सुरुङमार्गसम्म पुग्न बलम्बुको फ्लाइओभरदेखि पहुँच सडक बनाइएको छ। फ्लाइओभर पनि नेपालको पहिलो हो।
सुरुङमार्गमा के-के छन्?
सुरुङमार्गका प्रमुख इन्जिनियर सागर न्यौपानेका अनुसार सुरुङ बाहिर पानी राख्न र निकाल्न सकिने आउटसाइड हाइड्रेन्ट सिस्टम राखिएको छ। जुन भेन्टिलेसन र फायर फाइटिङ सिस्टमसँग जोडिएको छ।
सुरुङभित्र पानी सकिएको अवस्थामा बाहिर रहेका दुईवटा पोर्ट वा दमकल प्रणालीमार्फत पानी हाल्न सकिन्छ। सुरुङभित्र पानी आपूर्तिका लागि दुईवटा मुख्य ट्याङ्क (मेन ट्याङ्क र इनटेक ट्याङ्क) छन्। हाइड्रेन्ट सुरुङको पूर्व र पश्चिम पोर्टलका दुवै साइडमा एक-एक वटा रहेको न्यौपानेले बताए।
न्यौपानेका अनुसार सुरुङको बाहिर र भित्र २५ वाटका लाउडस्पिकर जडान गरिएको छ। कन्ट्रोल रुमबाट कुनै पनि आपतकालीन वा मर्मत सम्भारको सूचना दिनुपरेमा लाउडस्पिकरको माध्यमबाट गाडी चालक तथा भित्र काम गर्ने सुरक्षा टोली, एम्बुलेन्स र रेस्क्यु टोलीलाई तत्काल जानकारी गराइन्छ। गाडीले लेन मिचेमा वा गाडी गलत ट्र्याकमा रहेमा साइकल/साउन्डमार्फत चालकलाई सचेत गराइन्छ।

सुरुङभित्र आगलागी भएको अवस्थामा तत्काल नियन्त्रण गर्न १ हजार लिटर क्षमताको फायर फाइटिङ प्रणाली राखिएको छ जुन पूर्वी पोर्टलमा छ। सुरुङमा ५० मिटरको दूरीमा ५५ वटा फायर डिटेक्टर र फायर हाइड्रेन्ट जडान गरिएको छ।
आगलागी भएको खण्डमा पुस बटन थिचेर वा ३० मिटरको होज पाइपमार्फत तत्काल पानी छर्किएर आगो नियन्त्रणमा लिन सकिने इन्जिनियर न्यौपानेले बताए। यसमा साधारण मानिसले पनि प्रयोग गर्न सक्ने गरी फायर एक्सटिङ्ग्विसरको समेत व्यवस्था गरिएको छ।
सुरुङभित्र कुनै दुर्घटना भएको अवस्थामा क्षतिग्रस्त वा बिग्रिएका सवारी साधन बाहिर निकाल्नका लागि टवाइङ र रेस्क्यु भेहिकल, एम्बुलेन्स र रेस्क्यु गाडीको व्यवस्था गरिएको छ।
सुरुङभित्र जेट फ्यान र अन्य सुरक्षा मापदण्डका कारण बाहिरभन्दा फरक अवस्था हुने हुँदा एक लेन खाली गराएर यी विशेष गाडी प्रयोग गरिन्छ। जाम भएको खण्डमा इभाकुएसन टनेल र क्रस प्यासेजमार्फत उद्धार टोली घटनास्थलमा पुग्छ।
न्यौपानेका अनुसार कन्ट्रोल रुम र सुरक्षा, रेस्क्यु तथा फायर फाइटिङ टोलीबीच दुईतर्फी संचारका लागि डेडिकेटेड फ्रिक्वेन्सीसहितको ह्यान्डसेट जोड्न सकिने बक्स राखिएको छ।
सुरुङको इभाकुएसन डोर र इमर्जेन्सी पार्किङ क्षेत्रमा पीटीजेट र फिक्स गरी दुई किसिमका सीसी क्यामेरा जडान गरिएका छन् जसले भित्रका सबै गतिविधिको रेकर्ड राख्छन्।
चालक तथा यात्रुलाई सूचना दिन माइक्रोफोन बक्स राखिएको छ जसबाट स्पिकरमार्फत भोइस कमान्ड गर्न सकिन्छ। इमर्जेन्सी पार्किङ एरियामा इएल इन्फरमेसन बोर्ड राखिएको छ जसले सुरुङभित्रको अवस्था (जस्तै: आगलागी, मर्मत सम्भार आदि)बारे चालकलाई जानकारी दिन्छ।
सुरुङभित्र २८० देखि ३६ वाटसम्मका इमर्जेन्सी, बेसिक र डिमिङ लाइट छन् जुन लुमिनियस मिटरद्वारा कन्ट्रोल हुन्छ।
पैसा तिर्न टोल बुथ
सुरुङमार्गमा सवारीसाधन चलाउन शुल्क तिर्नुपर्छ। सरकारले सवारीसाधनको वर्गीकरण गरेर ६० रुपैयाँदेखि ६०० रुपैयाँसम्म शुल्क तोकेको छ। टोल बुथलाई आधुनिक र डिजिटल बनाइएको छ। जसका लागि कार्ड लिनुपर्ने हुन्छ।
यस प्रणाली अन्तर्गत दुवैतर्फका लेनमा अटोमेटिक क्लासिफिकेसन र एन-ट्याग प्रविधिद्वारा सवारी साधनको वर्गीकरण गरी टोल शुल्क संकलन गरिनेछ।
टोल कलेक्सन युनिट प्रमुख अभिमन्युले नेपालकै पहिलो सुरुङलाई व्यवस्थित रुपमा संचालन गर्न आफूहरु तयार रहेको बताए।
नेपालकै पहिलो स्वचालित टोल प्लाजा
सुरुङ मार्गको दुबैपट्टि भागमा नेपालकै पहिलो आधुनिक टोल प्लाजा निर्माण गरिएको छ। अभिमन्युका अनुसार, टोल बुथमा पहिले गाडीको वजन र प्रकार पत्ता लगाउन वे-इन-मोसन र अटोमेटिक भेहिकल क्लासिफिकेसन सिस्टम जडान गरिएको छ। ओभरलोड भएका गाडीलाई सुरुङभित्र छिर्न निषेध गरिनेछ।
टोल बुथमा पैसा तिर्नका लागि दुईवटा विकल्प हुनेछन्। जसमा एउटा अटोमेटिक एन-ट्याग हुनेछ। जसमा सवारीसाधनको विन्ड स्क्रिनमा टाँसिएको ट्यागबाट पैसा काटिनेछ, जसका लागि ३ देखि ४ सेकेन्ड लाग्नेछ।
नगद भुक्तानीका लागि १.५ देखि २ मिनेटसम्म लाग्न सक्छ।










