नेपाली आकाशमा उड्न तयार हुँदैछ ७२-६००, एटीआर ५०० भन्दा जहाजमा के हुनेछ फरक ?



बिजमाण्डू
२०८३ साउन १० गते १७:१८ | Jul 26, 2026
नेपाली आकाशमा उड्न तयार हुँदैछ ७२-६००, एटीआर ५०० भन्दा जहाजमा के हुनेछ फरक ?


काठमाडौं। नेपाली आकाशमा हालसम्म एटीआर ७२-५०० जहाजले उडान गर्दै आएकामा बुद्ध एयरले एटीआर ७२-६०० जहाज भित्र्याएको छ।

Tata
GBIME

बुद्ध र यतीले अहिले उडान भरिरहेका जहाज एटीआर ७२-५०० भएकामा अब भने नेपाली आकाशमा ७२-६०० पनि उड्नेछ। बुद्ध एयरले केही समयको अन्तरालमा यही सिरिजका अरु दुईवटा जहाज ल्याउँदैछ।

कम्पनी स्रोतका अनुसार एउटा जहाजका लागि भने बुद्धसँग रहेको इन्जिन र ल्यान्डिङ गियर पठाइसकिएको छ। त्यो हालेर ७२-६०० जहाज अगस्ट अन्तिमतिर आउनेछ। एटीआर ७२-५०० र ६०० को इन्जिन र गियर एउटै हुने भएकाले यहाँ जगेडामा रहेको पठाइ फिट गरेर ल्याउन लागिएको हो।

कम्पनीका अनुसार शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको एटीआर ७२-६०० जहाजमा अब लिभरी (रंगरोगन र ब्राण्डिङ) गरिनेछ। यो सबै गरिसकेपछि बुद्धले यो जहाज आन्तरिक उडानमा संचालनमा ल्याउनेछ।

बुद्ध एयरका प्रवक्ता दीपन्द्र कर्णले पाइलटले तालिम लिइसकेको जानकारी दिँदै एक महिनामा लिभरीको काम सकेर उडान भर्ने जानकारी दिए।

‘एक महिनाभित्र नयाँ जहाजले उडान भर्नेछ। यो जहाज जाडो महिनामा लो भिजिबिलिटीका कारण उडान गर्न नसक्ने स्थानका लागि गेमचेन्जर हुनेछ,’ कर्णले भने, ‘पोखरा र भैरहवा उडानका लागि दिउँसो १२ बजेसम्म कुरेर बस्नुपर्ने बाध्यता अन्त्य हुनेछ।’ यो जहाजमा आरएनपी-एआर एप्रोच प्रणाली जडित छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी-एआर प्रणाली कार्यान्वयनमा ल्याउने बारेमा अध्ययन गरिरहेको छ। यो प्रणाली कार्यान्वयनमा आएमा बुद्धको यो जहाजले पोखरामा दुई हजार मिटर भिजिबिलिटीमै उडान र अवतरण गर्न सक्छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि ३१ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ।

नयाँ जहाजमा ग्लास ककपिट भएकाले आधुनिक नेभिगेसन, डिजिटल फ्लाइट म्यानेजमेन्ट लगायतले सुरक्षाको प्रत्याभूति दिनेछ। यो जहाज कम आवाजका कारण यात्रुलाई सहज हुने तथा इन्धन मितव्ययी भएकाले कम्पनीलाई सुलभ हुने दाबी गरिएको छ। जहाजमा आधुनिक क्याविन र एलइडी लाइटको व्यवस्था छ।

सन् २००७ मा उत्पादन सुरु भएको यो सिरिजको जहाजमा ७८ सिट क्षमता छ। एटीआरका अनुसार, क्षेत्रीय उडान प्रयोजन रहेको यो जहाजमा सञ्चालन खर्च अरु जेटको तुलनामा वार्षिक ४५ प्रतिशत कम हुन्छ।

एटीआर रहेकाले ६०० नै विकल्प

हवाई नीतिमा १९ सिटभन्दा ठूला जहाज आयात गर्दा १५ वर्षभन्दा पुरानो वा ४५ हजार साइकल ननाघेको हुनुपर्ने प्रावधान छ। यो प्रावधानका कारण पनि एटीआर ल्याएर उडाइरहेका बुद्ध र यतीले ७२-६०० जहाज नै ल्याउनुपर्ने बाध्यता छ।

एटीआर ७२-५०० को उत्पादन सन् २०१२ देखि बन्द भइसकेको छ। जसले गर्दा पुरानो जहाज ल्याउन सक्ने अवस्था छैन।

यती एयरलाइन्सले पनि एटीआर ७२-६०० सिरिजकै जहाज ल्याउने घोषणा गरिसकेको छ। एसियन लाइफ इन्स्योरेन्सलाई साझेदारको रुपमा भित्र्याएपछि कम्पनीका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले एटीआर ७२-६०० सिरिज जहाज ल्याएर आक्रामकरुपमा बजार विस्तार गर्ने घोषणा गरेका थिए।