काठमाडौं। दुई पाङ्ग्रे सवारीसाधनको बजार पाँच वर्षअघिकै अवस्थामा फर्किएको छ।
कोभिडपछि एकाएक ह्वात्तै बढेको दुई पाङ्ग्रेको बजार आर्थिक वर्ष २०७९/९० देखि सुस्ताएकामा अर्थतन्त्र विस्तारै चलायमान बन्दै जाँदा बाइक तथा स्कुटरको माग फेरि उल्लेखनीय रुपमा बढ्न थालेको हो।
गत आर्थिक वर्ष २०८२/८३ मा इन्धन दुई पाङ्ग्रे सवारीसाधन २ लाख ५० हजार आयात भएका छन्। इन्धन बाइकको आयात एकै वर्षमा करिब ५० हजार बढेको हो।
पाँच वर्षअघि आव २०७८/७९ मा २ लाख ७५ हजार इन्धन दुई पाङ्ग्रे सवारीसाधन आयात भएकामा लगत्तैको अर्को वर्ष त्यो संख्या १ लाख ४ हजारमा झरेको थियो।
बजारमा अहिले विद्युतीय स्कुटरको माग पनि ह्वात्तै बढेको छ। ५ वर्ष अगाडि साढे ३ हजार हाराहारी विद्युतीय स्कुटर आयात भएकामा गत वर्ष मात्रै २६ हजार युनिट भित्र्याइएको छ। यो संख्या अघिल्लो आवको तुलनामा दोब्बरभन्दा पनि बढी हो।
इरान र अमेरिकाबीचको तनावले इन्धनको मूल्य उकालो लागेपछि विद्युतीय स्कुटरको माग ह्वात्तै बढेको अटो व्यवसायीहरुले बताएका छन्। पेट्रोलको मूल्य प्रति लिटरको २२१ रुपैयाँसम्म पुगेको थियो। व्यवसायीका अनुसार स्टकमा रहेका इलेक्ट्रिक स्कुटर समेत बिक्री गरी माग धान्न थप नयाँ विद्युतीय दुई पाङ्ग्रे भित्र्याइएको हो।
इन्धनदेखि विद्युतीय दुई पाङ्ग्रे सवारीको माग बढेपछि अटो व्यवसायीहरु उत्साही भएका छन्। उनीहरुले बजार पाँच वर्षअघिको अवस्थामा फर्किने बाटोमा रहेको बताएका छन्।
हिरो मोटोकर्पको आधिकारिक बिक्रेता सीजी मोटर्सका सेल्स एण्ड मार्केटिङ स्पेसलिस्ट बिक्रम पौडेलले दुई पाङ्ग्रे सवारीको बजारले आशा जगाएको बताए। ‘ग्राहकको माग हेर्दा अर्थतन्त्रमा कुनै ठूलो झट्का नलागेसम्म बजार घट्ने देखिंदैन। नयाँ सरकारले भरोसा दिलाए बजार माथि जानेमा दुईमत छैन,’ उनले भने।
गत चैत वैशाखमा पेट्रोलियम पदार्थको भाउ पटक पटक बढेपछि व्यवसायी इन्धन बाइक तथा स्कुटरको बिक्रीमा धेरै असर गर्ने भयमा थिए। तर, ग्राहकले खरिद गर्न छोडेनन्।
‘तेलको मूल्य बढ्दा इन्धनबाट चल्ने दुई पाङ्ग्रेको बिक्री खासै घटेन। ग्राहकहरु इलेक्ट्रिकतर्फ आकर्षित भए। इलेक्ट्रिक स्कुटरको बजार उल्लेखनीय रुपमा विस्तार भयो,’ पौडेलले भने।
अटो व्यवसायीका अनुसार सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिन थालेपछि आन्तरिक पर्यटन बढ्दा त्यसले दुई पाङ्ग्रे सवारीको बजारलाई पनि फाइदा भएको छ। विशेषगरी युवाहरुमा लामो दूरीको यात्रा गर्ने र त्यसका लागि हाइइन्ड मोटरसाइकल चढ्ने क्रम उल्लेखनीय रुपमा बढेको छ।
‘बाइक राइड गरेर घुम्ने संस्कृति बढेको छ। त्यसले ठुला सीसीका बाइकको बिक्री बढाएको छ। समग्र दुई पाङ्ग्रे बजारमा यसको सकारात्मक प्रभाव देखिएको छ,’ पौडेलले बताए।
दुई पाङ्ग्रे सवारी विलासिताभन्दा पनि दैनिक आवश्यकताको साधन बनिसकेको छ।
कोभिडकालमा रोजगारी गुम्दा बजारमा असर गरेकामा अहिले रोजगारीमा वृद्धिले बाइकको विक्री बढाउन सहयोग पुगेको व्यवसायीहरुको बुझाइ छ। यस्तै, महिलाको आर्थिक तथा सामाजिक सहभागिता बढ्दै जानुलाई व्यवसायीहरुले स्कुटर बजार विस्तारको प्रमुख कारण ठानेका छन्। रोजगारीमा प्रवेश गर्ने महिलाको संख्या बढेसँगै स्कुटरको बिक्री बढेको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका कार्यसमिति सदस्य तथा एमएडब्लू राइड्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपक अग्रवालले दुई पाङ्ग्रे सवारीको बजार ‘रिभाइभ’ भएको बताए।

‘फाइनान्स गरेर सवारीसाधन किन्नेको संख्या बढेका कारण पनि बजार रिभाइभको बाटोमा देखिएको छ। अहिले फाइनान्स गरेर सवारीसाधन खरिद गर्नेहरु १० प्रतिशतले बढेका छन्। बजारमा विभिन्न अफरले पनि दुई पाङ्ग्रेको बजार बढाइरहेको हो,’ उनले भने।
राइड-सेयरिङ सेवा विस्तारले पनि दुई पाङ्ग्रे बजारले गति लिएको व्यवसायीहरुको बुझाइ छ। राइड-सेयरिङबाट आम्दानी हुने भएपछि धेरै युवाले बाइक तथा स्कुटर खरिद गर्न थालेका छन्।
अहिले धेरै युवाले रायड सेयरिङलाई जीविकोपार्जनको माध्यम बनाइरहेका छन्। त्यही देखेर मल्टिनेसनल राइड सेवा प्रदायक पनि बजारमा आएका छन्। ‘राइड सेयरिङ सेवा दिनेहरु बढेका छन्। यसले पनि केही हदसम्म राम्रो डिमाण्ड क्रियट गरेको छ,’ अग्रवालले भने।
अग्रवालले दुई पाङ्ग्रेको बजारमा अब इभी स्कुटरलाई चुनौतीका रुपमा लिएका छन्। इभी स्कुटरको आयात सतप्रतिशतभन्दा बढी बढेका कारण उनी झस्किएका छन्।
‘इन्धन दुई पाङ्ग्रेको बजारमा इभीले धक्का लगाउने देखिन्छ। किनभने एक वर्षमै इभी स्कुटरको बजार दोब्बर भयो। इभी स्कुटर नभएको भए त्यो बजार इन्धन दुई पाङ्ग्रेको हुने थियो। इभीले गर्दा इन्धनको मार्केट खुम्चिन सक्छ,’ अग्रवालले भने।
तयारीभन्दा अन-एसेम्बल बढी आयात
नेपालमै एसेम्बल गरेर बाइक उत्पादन गर्ने कम्पनी बढेसँगै अन-एसेम्बल बाइकको आयात बढेको छ।
दुई पाङ्ग्रे सवारी बिक्रेता कम्पनी प्रायः सबैले पछिल्लो समय एसेम्बल प्लान्ट निर्माण गरेर संचालनमा ल्याएपछि तयारीभन्दा अन-एसेम्बल बाइक तथा स्कुटर धेरै आयात भएका हुन्।
गत वर्ष अन-एसेम्बल बाइक तथा स्कुटर २ लाख ५० हजार युनिट आयात भएका छन्।

अन-एसेम्बल बाइक तथा स्कुटरको आयात बढेपछि तयारी बाइक तथा स्कुटरको आयात उल्लेख्यरुपमा घट्न पुगेको छ। एसेम्बल दुई पाङ्ग्रे गत आवमा जम्मा २३ हजार युनिट आएका छन्।
अहिले नेपालमा हिरो, टीभीएस, बजाज, यामाहा, रोयल इन्फिल्ड, सुजुकी, बेनेली, होन्डालगायत ब्रान्डका एसेम्बल उद्योग छन्। ती उद्योगसँग वार्षिक ३० हजारदेखि एक लाख युनिटसम्म बाइक तथा स्कुटर निर्माण गर्न सक्ने क्षमता छ।










