काठमाडौं। नेपाल राष्ट्र बैंकले राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेख आधारमा वालेट खोल्न निर्देशन दिएको छ। भुक्त्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन संशोधन गरी भुक्तानी सेवा प्रदायकलाई राष्ट्र बैंकले यो निर्देशन दिएको हो।
संशोधित निर्देशन अनुसार भुक्तानी सेवा प्रदायकले राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेख एकीन गरी वालेट खोल्ने व्यवस्था मिलाउनुपर्नेछ।
साथै, सेवा प्रदायक संस्थाले २०८३ असोजमसान्त भित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको स्वःघोषणा गर्नेपर्ने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्रिय परिचयपत्र लिएका नेपाली नागरिकको हकमा असोज मसान्तभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट सम्बन्धित वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गरिसक्नुपर्ने छ।
राष्ट्र बैंकका अनुसार राष्ट्रिय परिचयपत्र नलिएकाको हकमा राष्ट्रिय परिचयपत्र लिई ग्राहक पहिचान अद्यावधिक गरेर प्रत्येक महिनामा जानकारी दिने व्यवस्था मिलाउनुपर्नेछ।
त्यसैगरी, विदेश रहेका नागरिकले अनलाइनमार्फत् विद्युतीय वालेट खोल्नु पर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात लिएर समेत वालेट खोल्न सक्नेछन्।
तर, यसरी खोलिने वालेटका सम्बन्धमा निज वालेट प्रयोगकर्ता नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिई अद्यावधिक गर्नुपर्नेछ।
अशक्त तथा असहाय नागरिकको हकमा भने राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात आधारमा वालेट खोल्न र कारोबार गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।










