नेप्सेमा दोहोरो अंकको बढोत्तरी, कारोबार रकम भने घट्यो, एउटा कम्पनीमा पोजेटिभ सर्किट

बिजमाण्डू
२०८३ साउन ७ गते १५:२३ | Jul 23, 2026
नेप्सेमा दोहोरो अंकको बढोत्तरी, कारोबार रकम भने घट्यो, एउटा कम्पनीमा पोजेटिभ सर्किट


काठमाडौं। सेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक बिहीबार १४.१७ अंक उकालो लागेर २७२६.७२ विन्दुमा पुगेको छ।

Vigo
GBIME
Tata

कारोबारमा आएका लगानी र अन्य बाहेकका उपसमूहले बजार बढाएका हुन्। व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै २.५८ प्रतिशतले बढेको छ।

सेयर मूल्य बढ्दा १५३ कम्पनीका लगानीकर्ताले कमाएका छन्। एभरेष्ट कलरको सेेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। स्नो रिभर्स १३.७१ र अपोलो हाइड्रो ११.०४ प्रतिशतले बढेका छन्।

१११ कम्पनीको मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर छ। घटेकामध्ये कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ। बुंगल हाइड्रो ९.९३ प्रतिशतले घटेको छ।

सूचक बढे पनि बजारमा सेयर कारोबार रकम घटेको छ। बुधबार बजार परिसूचक १३.९५ अंकले घटेर २७१२.५४ को विन्दुमा रहँदा ५ अर्ब १८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। बिहीबार परिसूचकमा दोहोरो अंकको बढोत्तरीका बाबजुद कारोबार रकम ४ अर्ब ६९ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ।

बिहीबार कारोबारमा रिलायन्स स्पिनिङ मिल्स सबैभन्दा अगाडि रह्यो। उक्त कम्पनीको २८ करोड ३३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। आँखु खोला जलविद्युतको २७ करोड ५२ लाख र रिडी पावर कम्पनीको २४ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।