काठमाडौं। वाणिज्य बैंकहरुमा पछिल्लो दुई सातामै २ खर्ब रुपैयाँभन्दा बढिले निक्षेप वृद्धी भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, हरेक त्रैमासमा निक्षेपमा उच्च सुधार हुँदै आएको छ।
‘सरकारले मसान्त नजिकिँदै जाँदा धमाधम पुराना भुक्तानीका लागि चेक काट्न थालेपछि बैंकको निक्षेप ह्वात्तै बढेको हो,’ बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने।
सरकारको खातामा रहेको पैसा नेपाल राष्ट्र बैंकसँग हुन्छ। सरकारले चेक काटेपछि त्यो पैसा बाणिज्य बैंकहरुमा आउँछ। त्यही भएर निक्षेप ह्वात्तै बढेको हो।
बैंकर्स संघका अनुसार गत असार १ गते बैंकहरुसँग ७२ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप थियो। असारको २६ गतेसम्म आउँदा बढेर ७४ खर्ब ८० अर्ब रुपैयाँ पुगेको हो। यो भनेको २ खर्ब २६ अर्ब रुपैयाँ हो। यसमध्ये असार १५ गते यता मात्रै २ खर्ब रुपैयाँले निक्षेप बढिसकेको छ।
२०८२ को असार मसान्तको तुलनामा २०८२ को साउनमा निक्षेप ५२ अर्ब रुपैयाँले घटेको थियो। त्यसपछि निरन्तर बढेको छ। एकदमै न्यून रकमले कात्तिकमा ३ अर्बले बढेको थियो। उच्च भने अहिलेको असारमा बढेको छ।
राष्ट्रबैंकका अनुसार, असोज मसान्तमा एक अर्ब ७९ अर्बले बढेको निक्षेप अर्को त्रैमास अर्थात पुस मसान्तमा १ खर्ब ३० अर्बले बढेको थियो। त्यसपछि चैत मसान्तमा एक खर्ब २३ अर्बले बढेको थियो।
ऋण लगानीमा भने खासै सुधार छैन। असार १ गतेदेखि २६ गतेसम्म जम्मा १४ अर्ब रुपैयाँले ऋण बढेको छ। कुल ऋण ५२ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ।
चालु आर्थिक बर्षयता कुल निक्षेप ९ खर्ब ४९ अर्ब रुपैयाँले बढेको छ। ऋण भने जम्मा ३ खर्ब २ अर्बले बढेको छ। राष्ट्र बैंकले १२ प्रतिशतले ऋण बढाउने लक्ष्य लिएपनि जम्मा ६ प्रतिशतले मात्र बढेको छ।
निक्षेप उच्च दरले बढ्ने तर ऋणको माग नहुने हुँदा कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ७०.६० प्रतिशतमा आइसकेको छ। जबकी बैंकहरुलाई सीडी रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम गर्ने सुविधा छ।









