सेयर बजार सूचक घटेर आठ महिनायताकै तल, कारोबार रकम भने बढ्दै ७ अर्ब ४६ करोड

बिजमाण्डू
२०८३ असार २९ गते १५:२८ | Jul 13, 2026
सेयर बजार सूचक घटेर आठ महिनायताकै तल, कारोबार रकम भने बढ्दै ७ अर्ब ४६ करोड


काठमाडौं। सेयर बजार परिसूचक नितन्तर ओरालो लागेर आठ महिनाअघिको अंकमा झरेको छ। नेप्से परिसूचक सोमबार ३०.६० अंक घटेर २५७०.१८ अंकमा आएको हो।

Vigo
GBIME
Tata

बजार यसअघि गत मंसिर ४ गते २५६० विन्दुमा थियो। कारोबारमा आएका सबै उपसमूहको सूचक घटेको छ। व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै २.३० प्रतिशतले ओरालो लागेको छ। बजारमा सेयरमूल्य ओह्रालो लागेका २४९ कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

उपकार लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ११.२८ प्रतिशतले घटेको छ। बुद्धभूमि नेपाल हाइड्रोको ७.४७ प्रतिशतले घटेको छ।

बजारमा २२ कम्पनीको सेयर मूल्य बढेको छ भने ४ कम्पनीको स्थिर छ। बढेकामध्ये सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ५.३७ प्रतिशतले बढेको छ।

सेयर बजार सोमबार लागतार चौथो दिन ओरालो लागेको हो। यसअघि शुक्रबार १.१३, बिहीबार १९.६७ र बुधबार ३०.०९ अंकले घटेको थियो।

बजारमा सूचक घट्दा कारोबार रकम बढेको छ। शुक्रबार ६ अर्ब ८६ करोड रुपैयाँको सेयर किनबेच भएकामा सोमबार बढेर ७ अर्ब ४६ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ।

ऋणपत्रहरुले कारोबार रकम बढाएका हुन्। बजारमा सबैभन्दा धेरै किनबेचको सूचीमा ऋणपत्र छन्। बैंकको ब्याजदर निरन्तर घटेपछि संस्थागत लगानीकर्ता ऋणपत्र किनबेचमा केन्द्रित देखिएका छन्। मंगलबार एनएमबि डिबेञ्जरको सबैभन्दा धेरै ४८ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ।