सेयर बजार र निक्षेपको ब्याजदर घट्दा दबाबमा संस्थागत लगानीकर्ता, खोज्दैछन् लगानी गर्ने ठाउँ



सुनिल कुँवर
२०८३ असार २५ गते ०६:२० | Jul 9, 2026
सेयर बजार र निक्षेपको ब्याजदर घट्दा दबाबमा संस्थागत लगानीकर्ता, खोज्दैछन् लगानी गर्ने ठाउँ


काठमाडौं। बैंकको ब्याजदर र सेयर बजार घट्दा ठूला संस्थागत लगानीकर्ता दबाबमा देखिएका छन्। लगानीको ठाउँ साँघुरो हुँदा आम्दानी प्रभावित भएर ठूला संस्थागत लगानीकर्तालाई एकपछि अर्को धक्का लागेको छ।

Tata
GBIME
Nepal Life

ठूलो आकारको फण्ड परिचालन गरिरहेका इन्स्योरेन्स कम्पनी र म्युचुअल फण्डहरूको बैंकको निक्षेप र सेयर बजारमा ठूलो लगानी छ। तर, बैंकहरूको ब्याजदर ३ वर्षदेखि निरन्तर घटिरहेको छ भने सेयर बजार पनि अहिले बियरिस छ।

सेयर बजार ओरालो लागिरहेको र मुद्दती निक्षेपको ब्याजदर पनि ऐतिहासिक रुपमा तल्लो विन्दुमा आएका कारण नाफामा धक्का लाग्ने देखिएको लगानीकर्ताहरू बताउँछन्।

‘हाम्रो लगानीको मुख्य क्षेत्र सेयर बजार र एफडी नै हो। बैंकहरूले रेट घटाउँदै लगेपछि सेयर बजारमा लगानी गरेका थियौं। त्यताबाट पनि रिर्टन आउने अवस्था देखिएको छैन,’ एक क्यापिटलका सीइओले भने, ‘त्यसैले लगानीका अरु उपकरण खोजिरहेका छौं। ऋणपत्र, ट्रेजरीमा पाएसम्म लगानी गरिरहेका छौं।’

म्युचुअल फण्डले सेयर बजारमा जेठसम्म ६८ अर्ब ३६ करोड रुपैयाँ लगानी गरेका छन्। बैंकको ब्याजदर घटेका कारण सबैजसो म्युचुअल फण्डले मुद्दती निक्षेपमा लगानी शून्य बनाएका छन्।

इन्स्योरेन्स कम्पनीसहितका संस्थागत लगानीकर्ताले सेयर बजार र बैंकको ब्याजदरबाट धक्का लागेपछि लगानीको दीर्घकालीन उपकरण खोजिरहेका छन्।

नेसनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुरेश खत्री इन्स्योरेन्स कम्पनीसँग भएको फण्ड परिचालका लागि सरकारले लगानीको नयाँ स्पेस बनाइदिनुपर्ने बताउँछन्।

‘जताततै तरलता छ। बैंकहरूमा भएको पैसा पनि इन्स्योरेन्सतिर आइरहेको छ। बैंकको ब्याजदर घट्दा बीमा गर्ने बढेर लाइफ इन्स्योरेन्सको बिजनेस बढेको छ,’ उनले भने, ‘बैंकहरूमा यस्तो तरलता छ कि उनीहरूले रिन्यु पनि गरिरहेका छैनन्। लगानीको नयाँ स्पेस नभएर अन्योल भएको छ। सरकारले केही नीति ल्याउँछ भन्ने आशमा छौं।’

आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीले सेयर बजारमा ५६ अर्ब ४८ करोड ५८ लाख रुपैयाँ लगानी गरेका छन्। सेयर बजारमा जीवन बीमा कम्पनीको मात्रै ४६ अर्ब ११ करोड र निर्जीवन बीमा कम्पनीको ५ अर्ब ४४ करोड रुपैयाँ लगानी छ।

बीमा कम्पनीहरूको कुल फण्ड ९ खर्ब ७५ अर्ब ६७ करोड ५७ लाख रुपैयाँ पुगेको छ। त्यमध्ये अधिकांश रकम बैंकको मुद्दती निक्षेपमा छ।

बैंकहरूले ऋणको माग नहुँदा लागत बढ्ने देखेपछि ठूलो आकारको निक्षेप लिन अस्वीकार गरिरहेका छन्। १० खर्ब रुपैयाँ बढी तरलता थुप्रिएका कारण बैंकहरूले यसअघिकै निक्षेप नवीकरणका लागि अस्वीकार गरिरहेका छन्।

बैंकको मुद्दती निक्षेपको ब्याजदर जम्मा २.७५ प्रतिशत छ। ब्याजदर घटेर निक्षेपको आम्दानी प्रभावित हुँदा यता सेयर बजार सूचक पनि ओरालो लागेर २६२१ अंकमा आएको छ। बजार निरन्तर घट्दा पछिल्लो चैतयता लगानीकर्ताले ४ खर्ब रुपैयाँभन्दा बढी गुमाएका छन्।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले तरलता धेरै भएकाले व्यवस्थापन गर्न कठिन भएको बताए।

‘इन्स्योरेन्स कम्पनीको ९० प्रतिशतसम्म लगानी बैंकको एफडीमै हो। पहिले एउटा लेबलमा दीर्घकालीन अवधिका लागि ६०/७० प्रतिशतसम्म लगानी गरेकाले ब्यालेन्स सिटमा अहिले केही सहज देखिएको छ,’ उनले भने, ‘बैंकहरूको ब्याजदर घटेका कारण अहिले इन्स्योरेन्सको बिजनेस बढिरहेको छ। मानिसहरूलाई पैसा यतातिर लगानी गरौं भन्ने परेको छ। त्यसैले इन्स्योरेन्स क्षेत्रमा तरलता लगातार बढिरहँदा लगानीका उपकरण भने कम छन्। व्यवस्थापन गर्न कठिन भएको छ। पब्लिकको पैसा जहाँ पायो त्यहीं लगानी गर्न पनि भएन। त्यसैले सन्तुलन मिलाएर लगानी गर्ने बाटो खोले अर्थतन्त्रकै लागि अवसर हुन्छ।’

बीमा प्राधिकरणले इन्स्योरेन्स कम्पनीका लागि लगानीको क्षेत्र तोकेको छ। तर, कम्पनीले सबै क्षेत्रतिर लगानी परिचालन गर्न सकेका छैनन्। उनीहरूले इन्स्योरेन्स बण्ड, विदेशी करेन्सी लगायत क्षेत्रमा लगानी गर्न दिनुपर्ने माग गर्दै आए पनि प्राधिकरणले वास्ता गरेको छैन।