काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले जलविद्युत कम्पनीको सेयर निष्कासनमा सहजीकरण गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)को ध्यानाकर्षण गराएको छ।
इप्पानको टोलीले मंगलबार सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई भेटेर ८ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो।
इप्पानले सेबोनले २०८० जेठदेखि एकाधबाहेक जलविद्युत कम्पनीलाई आइपीओ निष्कासन गर्न अनुमति नदिएको भन्दै सहजीकरण गर्न अध्यक्ष भट्टसँग आग्रह गरेको छ।
‘निर्माणाधीन अवस्थामा रहेका ४ हजार मेगावाट क्षमता बराबरका आयोजनाका प्रवर्धक कम्पनीले समयमै आइपीओ ल्याउन पाएका छैनन्। ऋण चुक्ता गर्नका लागि बैंकहरुले बारम्बार ताकेता गर्दा आयोजनाहरुमा गम्भीर समस्या उत्पन्न हुन थालेको छ,’ इप्पानले भनेको छ।
इप्पानका अनुसार करिब तीन दर्जन कम्पनीको आइपीओ र एक दर्जन कम्पनीको हकप्रद सेयरको निवेदन अड्किएको छ।
इप्पानले सर्वसाधारण र प्रवर्धकलाई छुट्टाछुट्टै आइजीन दिने भन्दै २०८१ माघदेखि संस्थापक वा अन्य समूह (प्रमोटर) सेयरधनीको सेयर अहिलेसम्म अभौतिकीकरण नगरिएको विषय सम्बोधन गर्न पनि ध्यानाकर्षण गराएको छ।
निवेदन दिएका आयोजनाको सबै विवरण प्राप्त भएको मितिले एक महिनाभित्र सेयर निष्कासनको अनुमति दिने व्यवस्था गर्न माग गरेको छ। यस्तै लकइन अवधि १८ महिनामा झार्न आग्रह गरिएको छ।

भट्टलाई भेट्ने इप्पानका अध्यक्ष मोहनकुमार डाँगी, वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन लामा, उपाध्यक्ष हिम प्रसाद पाठक विक्रम विष्ट र सुसन कर्माचार्य, महासचिव टीएन आचार्य, उपमहासचिव कविता पोखरेललगायत सेबोन पुगेका थिए।











