टाइम फर्मास्युटिकल्सले बुक बिल्डिङबाट आइपीओ निष्कासन गर्दै, आशयपत्र पेस २२ गतेदेखि



बिजमाण्डू
२०८३ असार १९ गते १७:२१ | Jul 3, 2026
टाइम फर्मास्युटिकल्सले बुक बिल्डिङबाट आइपीओ निष्कासन गर्दै, आशयपत्र पेस २२ गतेदेखि


काठमाडौं। टाइम फर्मास्युटिकल्सले बुक बिल्डिङ विधिबाट आइपीओ निष्कासन गर्ने भएकाे छ। कम्पनीले बुक बिल्डिङबाट सेयर बिक्रीका लागि शुक्रबार संस्थागत लगानीकर्तामाझ राेडशाे गराएकाे छ।

Tata
GBIME
Nepal Life

टाइम फर्मास्युटिकल्सले जारी पुँजी ५३ कराेड रूपैयाँकाे २०.५० प्रतिशतले हुन आउने कुल १० कराेड ८६ लाख ५० हजार रूपैयाँ बराबरकाे १० लाख ८६ हजार ५०० कित्ता सेयर बिक्री गर्न लागेकाे हाे।

कम्पनीले कुल निष्कासनमध्ये ४० प्रतिशतले हुन आउने ४ लाख ३४ हजार ६०० कित्ता सेयर संस्थागत लगानीकर्तामाझ बिक्री गर्न लागेकाे छ। संस्थागत लगानीकर्ताले २२ गतेदेखि २६ गतेसम्म सेयर खरिदका लागि आशयपत्र पेस गर्न सक्नेछन्। आशय पत्र २९ गते नेप्सेमा खाेलिने बिक्री प्रबन्धले जनाएकाे छ।

संस्थागत लगानीकर्तामा बाेलकबाेलमार्फत निर्धारित मूल्यकाे १० प्रतिशत घटाएर ६० प्रतिशतले हुन आउने ६ लाख ५१ हजार ९०० कित्ता सर्वसाधारणमा बिक्रीका लागि छुट्याइएको छ।

कम्पनीका अध्यक्ष डा. जी नारायण बहादुर क्षत्रीले १ कराेड रूपैयाँ लगानीबाट सुरू गरेकाे कम्पनीले नेपालमा औषधि उत्पादनमा महत्त्वपूर्ण याेगदान पर्‍याउँदै आएको बताए।

‘हामीले १ कराेड रूपैयाँ लगानीबाट सुरू गरेकाे कम्पनीले औषधिकाे आयात प्रतिस्थापन गर्न महत्त्वपूर्ण याेगदान पुर्‍याएकाे छ,’ उनले भने, ‘हिजाेकाे दिनमा नेपालमा ९० प्रतिशत औषधि विदेशबाट आउँथ्याे। आज त्यसलाई ५० प्रतिशतमा झार्न सफल भएका छाैं। हामी अन्तर्राष्ट्रियस्तरकाे प्रविधिमा आधारित रहेर औषधि उत्पादनमा सक्षम भएका छाैं। टाइम फर्मास्युटिकल्सले नेपालमा पहिलाेपटक क्लिनिकल ट्रायलकाे परीक्षण सुरू गर्न लागेकाे छ।´

कम्पनीले बुक बिल्डिङमार्फत आइपीओ निष्कासनका लागि संस्थागत लगानीकर्तालाई सेयर संख्या निर्धारण गरेर शिलबन्दी बोलपत्र सम्बन्धी कार्य सञ्चालन गर्न यसअघि नै नेप्सेसँग सम्झौता गरिसकेकाे छ।

कम्पनीले राेडशाेपछि अब संस्थागत लगानीकर्तामा बिक्री गरेर कटअफ मूल्य निर्धारणपछि नेपाल धिताेपत्र बाेर्डबाट अनुमति लिनेछ।

आर्थिक वर्ष २०८२/८३ चैतसम्म कम्पनीकाे प्रति सेयर नेटवर्थ १६७.५१ रूपैयाँ छ। याे अवधिमा कम्पनीकाे प्रति सेयर आम्दानी १०.२३ रूपैयाँ र सञ्चित नाफा २२ कराेड ८२ लाख रूपैयाँ रहेकाे विवरण पत्रमा उल्लेख छ।

नवलपरासीकाे गैंडाकाेटमा फ्याक्ट्री रहेकाे कम्पनीले २०० भन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै आएको छ। २०५२ मा स्थापना भएकाे कम्पनी नेप्सेमा उत्पादन तथा प्रशाेधन क्षेत्रमा सूचीकृत हुनेछ।

कम्पनीले चीन, भारत लगायत देशमा औषधि निर्यात समेत गर्दै आएको छ। कम्पनीकाे सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ छ।