काठमाडौं। नेपाल मर्चेन्ट बैंकर्स संघले लगानीकर्ताको मनोबल बढाइ पुँजी बजारलाई प्रभावकारी बनाउन नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपालप्रसाद भट्टको ध्यानाकर्षण गराएको छ।
संघको टोलीले बिहीबार सेबोन पुगेर भट्टसँग भेटी म्युचुअल फण्ड, प्रारम्भिक सार्वजनिक निष्कासन तथा प्राइभेट इक्विटी सम्बन्धी विषयमा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न ध्यानाकर्षण गराएको हो।
सेबोन अध्यक्ष नियुक्त भएकामा भट्टलाई बधाइ दिन पुगेको टोलीले लगानीमैत्री वातावरण सिर्जना गरी पुँजी बजारलाई थप गतिशील बनाउनुपर्नेमा जोड दिएको छ।
‘बजारमा पारदर्शिता, सुशासन तथा नियामकीय प्रभावकारिता अभिवृद्धि गरी लगानीकर्ताको विश्वास सुदृढ बनाउने आवश्यकतामाथि छलफल भयो,’ संघका एक पदाधिकारीले भने।
संघले भट्टको नेतृत्वमा पुँजी बजार प्रभावकारी, पारदर्शी र विश्वसनीय बन्ने विश्वास व्यक्त गरेको छ। अध्यक्ष डा. भट्टले निजी क्षेत्रसँग सहकार्य र संवादलाई प्राथमिकता दिने बताएका छन्।











