सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका विष्णु पौडेललाई रातारात ल्याइयो काठमाडौं, विभागमा बयान



सविन ढकाल
२०८३ असार ९ गते १३:२३ | Jun 23, 2026
सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका विष्णु पौडेललाई रातारात ल्याइयो काठमाडौं, विभागमा बयान

काठमाडौं। सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलको बयान लिन सुरु गरिएको छ।

Tata
GBIME
Nepal Life

सोमबार अपराह्न ५:१५ बजे सुर्खेतको एक होटलबाट पक्राउ परेका पौडेललाई सडक मार्ग हुँदै रातारात काठमाडौं ल्याइ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मंगलबार अपराह्नबाट बयान लिन सुरु गरेको हो।

विवादास्पद व्यापारी दीपक भट्टसँग कारोबार देखिएपछि विभागले पौडेललाई बयानका लागि बोलाएको थियो। तर अटेर गरेपछि विभागले प्रहरीलाई पत्राचार गरेर पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको हो।

उच्च स्रोतका अनुसार विभागले बयानका लागि बोलाउँदा पौडेल आफ्नो केही नरहेको भन्दै टक्टक्किएका थिए। ‘मेरो कुनै समस्या छैन। कुनै समस्या नभएपछि म किन आउने भनेका थिए,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘विभागले बयान मात्रै दिएर जानुभन्दा म कार्यक्रममा सुर्खेत आएको छु भनेर अस्वीकार गर्नुभयो। बयानका लागि आउने टुंगो पनि गर्नुभएन।’

स्रोतका अनुसार पौडेलले आफूलाई बयानका लागि बोलाएको भन्दै प्रधानमन्त्री कार्यालयमा जानकारी गराएका थिए।

‘सामान्य बयान दिने विषयलाई उहाँले माथिल्लो निकायमा जानकारी गराउनुभएछ। त्यो गराएको विषय प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी पाएपछि स्थिति फरक भएको हो,’ प्रधानमन्त्री कार्यालय स्रोतले बिजमाण्डूसँग भन्यो, ‘उहाँले पुरानो सत्तामा जसरी बच्नका लागि जानकारी गराउँदा उल्टै फस्नुभयो।’

स्रोतका अनुसार यो जानकारी पाउनेबित्तिकै प्रधानमन्त्री शाहले पौडेललाई तत्काल पक्राउ गर्न निर्देशन दिएका थिए।

पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफूमाथि अनुसन्धान गरिरहेको बारेमा जानकार थिए। भट्टसँगको कनेक्सनमा जोडिएका पौडेल आफू निकटका व्यवसायीसँग समेत बयान लिइएपछि आत्तिएका थिए। विभागले बयानपछि पौडेललाई हिरासतमा राख्नुपर्ने देखिए विशेष अदालतको अनुमति लिनेछ।