काठमाडौं। सेयर बजार मंगलबार २६.१६ अंक घटेर ४ महिना अघिको विन्दुमा फर्कियो। नेप्से परिसूचक निर्वाचनअघि फागुन १७ गते २६७३ अंकमा रहेकामा अहिले २६७४ विन्दुमा पुगेको छ।
सेयर बजारका लगानीकर्ता निष्क्रिय बन्दा सूचकसँगै किनबेचमा असर देखिएको हो। नेप्से परिसूचकसँगै कारोबार निरन्तर घटिरहेको छ। बजारमा शुक्रबार ४ अर्ब ५३ करोड, सोमबार ४ अर्ब ५४ करोड र मंगलबार ४ अर्ब ३६ करोड रुपैयाँको सेयर किनबेच भयो।
फागुनको निर्वाचनपछि बजार २९६० अंकमा पुगेकामा पछिल्लो ४ महिनामा २८६ अंक घटेको हो। फागुनको निर्वाचनपछि उच्च अंकले बढेको बजार चैत दोस्रो सातासम्म लगातार बुलिस बनेको थियो।
बजार उच्च अंक बढ्दा दैनिक २३ अर्ब ५९ करोड रुपैयाँसम्मको सेयर किनबेच भएकामा अहिले ४ अर्बमा सीमित भएको छ। सरकारका एकपछि अर्को गतिविधिले लगानीकर्तामा अन्योल सिर्जना गरेकाले त्यसको प्रभाव बजारमा लेखिएको लगानीकर्ताहरू बताउँछन्।
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाटले लगानीकर्तामा देखिएको अन्योलको असर सेयर बजारमा देखिएको बताए।
‘बजार एकपछि अर्को घटनाक्रमले रिभाइभ हुन सकेन। बजारमा जुन इस्युले असर गरेको थियो। त्यो किनारा लाग्नेबेलासम्म अर्को आइरहेको छ। लगानीकर्तामा यसको मनोवैज्ञानिक असर देखिएको हो,’ उनले भने, ‘अन्योल देखिएपछि रिस्क किन लिने भन्ने हिसाब तयार नभएको देखिन्छ। यो अर्थतन्त्रका सबै क्षेत्रमा परेको छ। तर, बजारमा तत्कालै रियाक्ट देखिएको हो।’
चैत दोस्रो साता राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेयता विवादास्पद व्यापारी दीपक भट्टसँग जोडिएका उद्योगी व्यापारीदेखि नेताहरूसम्म अनुसन्धानको राडारमा परेका छन्। केही नेताहरू पक्राउ पनि परेका छन्।
सरकारले जेठ अन्तिम साता भट्ट र उनीसँग जोडिएका व्यापारीमाथि अनुसन्धान गरेर सम्पत्ति शुद्धीकरण, बीमा, धितोपत्र र बैंकिङ कसुरमा विशेष अदालत मुद्दा दायर गरेको थियो।
भट्टसँगको कारोबारमा व्यवसायीसँगै राजनीतिक दलका नेताहरू पक्राउ पर्न थालेका छन्। विगतमा सेयर बजारमैत्री मानिएका पूर्वअर्थमन्त्री एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार पक्राउ गरेकामा विशेष अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानसँगै सरकारका विभिन्न गतिविधिले सेयर बजारका सक्रिय लगानीकर्तालाई नै निष्क्रिय बनाएको विश्लेषकहरू बताउँछन्।
‘सरकारले सम्पत्ति शुद्धीकरणमाथिको अनुसन्धानमा जसरी एकपछि अर्को पक्राउ गरिरहेको छ। यसले विगतमा बजारका खेलाडी मानिएका ठूला लगानीकर्ता त्रसित छन्,’ एक विश्लेषकले भने, ‘त्यसपछि बजारमा सक्रिय कारोबार गर्ने अरु मध्यम खालका लगानीकर्ता जो कम्पनीका सीइओ, सञ्चालक हुन्, उनीहरूलाई पनि यसले छोएको छ।’
ब्रोकरहरूका अनुसार बजारमा सक्रिय कारोबारीका रुपमा रहेका प्रशासक लगायत सार्वजनिक पदमा बसेकाहरू अहिले सम्पत्ति विवरण बुझाउनुपर्ने दबाबमा परेर धमाधम बिक्री गरेर बाहिरिएका छन्।
ती ब्रोकरका अनुसार निजामती कर्मचारी, प्रहरी लगायत सेयरमा लगानी गरिरहेकाहरू धेरै बाहिरिएकाले सेयर बजारमा थप दबाब परेको हो।
‘निजामतीभित्र पनि राजस्वका धेरै कर्मचारीको लगानी थियो। उनीहरू बेचेर सम्पत्ति देखाएर बस्न चाहेका छन्,’ उनले भने।
सरकारले २०६३ पछिका सरकारी कर्मचारी र सार्वजनिक पदमा बसेका व्यक्तिलाई असार मसान्तसम्म सम्पत्ति विवरण पेस गर्न भनेको छ। यसले करिब ५० हजार कर्मचारी तथा सार्वजनिक पदाधिकारीलाई प्रभावित पारेको लगानीकर्ताहरू बताउँछन्।
‘बजारमा अहिले ठूला लगानीकर्ता निष्क्रिय बस्नुको कारण सरकारी धरपकड हो। के हुन्छ भन्ने स्पष्ट आकलन गर्न सकिने अवस्था नभएपछि लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्,’ नबिल इन्भेष्टमेन्ट बैंकिङका सीइओ मनिषनारायण जोशीले भने, ‘सरकारका विभिन्न गतिविधिका कारण लगानीकर्तामा कन्फिडेन्स देखिएको छैन।’
बैंकको ब्याजदर इतिहासकै न्यून विन्दुमा आएको छ। बैंकहरूमा १० खर्ब रुपैयाँ बढी तरलता थुप्रिँदा नयाँ ऋण परिचालन भएको छैन। बैंकहरूले ६ प्रतिशत ब्याजदरमै ऋणको स्किम ल्याइरहेका छन्। तैपनि कोही पनि ऋण लगानी गर्नका लागि तयार देखिंदैनन्।
यसले समग्र आर्थिक गतिविधि नै सुस्त रहेको देखाउँछ। जसको प्रत्यक्ष असर बजारमा देखिएको जानकारहरू बताउँछन्।
‘बैंकिङ इन्डष्ट्रीमै समस्या देखिएको छ। यसको मतलब उद्योग, निर्माण, पर्यटन लगायत अरु क्षेत्रले पनि पर्फम गर्न सकिरहेका छैनन् भन्ने हो,’ अर्का एक मर्चेन्ट बैंकरले भने, ‘समग्र लगानीको इकोसिस्टमै सुधार हुन समय लाग्ने देखिन्छ। लगानीकर्ताहरू कन्फ्युजनमा छन्। अन्योल नहट्दासम्म लगानीको वातावरण बन्ने देखिंदैन।’
मर्चेन्ट बैंकरहरूका अनुसार बजारमा उत्साह नदेखिएकाले म्युचुअल फण्ड, इन्स्योरेन्स कम्पनी लगायत ठूला संस्थागत लगानीकर्ता नै होल्डको अवस्थामा छन्। तत्काल बजार बढ्ने कुनै संकेत नदेखिएपछि उनीहरू लगानीका लागि तयार देखिएका छैनन्।
‘लगानीकर्ता जोसुकै होस् उनीहरूले जोखिम कम र प्रतिफल बढी देखेपछि लगानी गर्ने हुन्। झन् संस्थागत लगानीकर्ता पब्लिकको पैसा लगानी गर्ने भएकाले होसियार हुन्छन्,’ रानाभाटले भने, ‘उनीहरूले आफ्नो बोर्डमा लगानीका लागि जस्टिफाइ गर्नुपर्छ। त्यसैले संस्थागत लगानीकर्ता पनि सेयर किनबेचका लागि तयार देखिएका छैनन्।’









