सेबोन अध्यक्षमा अन्तत: बाजी मारे गोपाल भट्टले, अढाइ वर्षका लागि मन्त्रिपरिषद्ले गर्‍यो नियुक्त ‍



सुनिल कुँवर
२०८३ असार ५ गते १७:४७ | Jun 19, 2026
सेबोन अध्यक्षमा अन्तत: बाजी मारे गोपाल भट्टले, अढाइ वर्षका लागि मन्त्रिपरिषद्ले गर्‍यो नियुक्त ‍

काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट नियुक्त भएका छन्। शुक्रबार अपरा्हन बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई सेबोन अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

सरकारले राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्य संयोजक रहेको समितिले भट्टसहित तीन जनाको नाम एक महिनाअघि सिफारिस गरेको थियो।

समितिले भट्टका अलावा राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक मुकुन्द कुमार क्षत्री र सेबोनका कार्यकारी निर्देशक विनयदेव आचार्यको नाम सिफारिस गरेको थियो।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले समितिले गरेको सिफारिसका आधारमा डा‍‍‍‍‍ भट्टलाई सेबोन अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए।

समितिले आवेदक ४७ जनामध्ये ४ जनालाई सर्टलिस्ट गरी अन्तर्वार्ता लिएर ३ जनाको नाम सिफारिस गरेको थियो। समितिमा पूर्वबैंकर भुवन दाहाल र अर्थसचिव डा. घनश्याम उपाध्याय सदस्य थिए।

राष्ट्र बैंकमा ३० वर्ष काम गरेर कार्यकारी निर्देशकबाट अवकाश पाएका भट्टले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा पीएचडी गरेका छन्।

‘स्टक मार्केट इफिसेन्सी इन नेपाल’ विषयमा विद्यावारिधि गरेका भट्टसँग राष्ट्र बैंकमा हुँदा अनुसन्धान, बैंक सुपरिवेक्षण लगायत विभिन्न विभागमा काम गरेको अनुभव छ।

भट्टले शंकरदेव, नेपाल कमर्स क्याम्पससहित आधा दर्जन कलेजमा साढे दुई दशक अध्यापन समेत गरेका थिए। भट्ट केही समयअघिसम्म नेपाल एसबिआई बैंकमा स्वतन्त्र सञ्चालक थिए।

वित्त, मौद्रिक, पुँजी बजार र नियमन तथा अर्थतन्त्रबारे गहिरो अनुभव भएका भट्ले अब साढे दुई वर्ष सेबोनको नेतृत्व गर्नेछन्। पूर्ण कार्यकाल ४ वर्ष भएको सेबोन अध्यक्षबाट सन्तोषनारायण श्रेष्ठले वैशाख पहिलो साता राजीनामा दिएपछि बाँकी कार्यकालका लागि भट्टलाई नियुक्त गरिएको हो।

सेबोनमा कार्यकाल पूरा नहुँदै अध्यक्षको पद रिक्त भएमा सरकारले बाँकी अवधिका लागि नियुक्त गर्ने व्यवस्था धितोपत्र सम्बन्धी ऐनमा छ।

सन्तोषनारायण २०८१ मंसिर दोस्रो साता चार वर्षका लागि सेबोन अध्यक्ष नियुक्त भएका थिए। सन्तोषनाराणअघि भीष्मराज ढुंगानाले पनि ४ वर्ष काम गर्न पाएका थिएनन्। गम्भीर विवादमा मुछिएका कारण ढुंगाना बर्खास्त भएपछि बाँकी कार्यकालका लागि रमेश हमाल अध्यक्ष बनेका थिए। तर हमाल पनि आफूलाई नियुक्ति दिलाउने स्वार्थ समूहको चाहनामा काम गर्दा विवादित बनेका थिए।

सन्तोषनारायण नयाँ स्टक एक्सचेन्जको लाइसेन्स लिन चाहेको स्वार्थ समूहको चाहनामा अध्यक्ष बनेका थिए। डेढ वर्ष सेबोनमा रहँदा उनी आइपीओ निष्कासनका लागि बिचौलिया परिचालन गरेर ५ देखि ७ प्रतिशतसम्म कमिसन मागेको विवादमा मुछिएका थिए।

सेबोन पुँजी बजार र वस्तु विनियम बजारको नियामक निकाय हो। बजारमा लगानीकर्ताको सहभागिता दिनदिनै बढ्दै गएको छ। तर, लगानीको दायरा अनुसार सेबोनले नयाँ उपकरण ल्याउन सकेको छैन।

करिब ५० खर्ब रुपैयाँ हाराहारीको बजार पुँजीकरणको नियामक सेबोन आफैं नियामकीय क्षमताका हिसाबले कमजोर छ। यसअघि पटक पटक बिचौलिया समूहको स्वार्थमा अध्यक्ष नियुक्त गरिएका कारण कमजोर बनेको नियामकीय क्षमतालाई सही ट्र्याकमा ल्याएर सुधार गर्ने जिम्मेवारीमा भट्ट पुगेका छन्।