एमालेभित्रै एक्लिए ओली, बहुमत पदाधिकारीले छाडे साथ: कारबाहीको चेतावनीले विभाजनको त्रास



प्रकाश भण्डारी
२०८३ जेठ ३१ गते २१:३२ | Jun 14, 2026
एमालेभित्रै एक्लिए ओली, बहुमत पदाधिकारीले छाडे साथ: कारबाहीको चेतावनीले विभाजनको त्रास

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टीको शीर्ष तहमै एक्लिन थालेका छन्। तल्ला कमिटीका नेता/कार्यकर्ताले असन्तुष्टि जनाएर साथ छोडिरहेका बेला शीर्ष  नेताहरुनै पछिल्लो समय ओली पक्षमा छैनन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि व्यापक जनमत गुमाउँदै गएका ओली फागुन २१ को चुनावपछि पार्टीभित्रै एक्लिएका हुन्।

Tata
GBIME
Nepal Life

जेठ ९ गतेको सचिवालय बैठकमा ओली निकट उपाध्यक्षहरू विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङलगायतका पदाधिकारीले राजीनामाको माग गरे पनि ओलीले त्यसलाई पार्टी अनुशासन विपरीत भन्दै अस्वीकार गरेपछि हाल महासचिव शंकर पोखरेललगायतका नेताहरू पनि खुलेरै ओलीको आलोचनामा लागेका छन्।

‘पार्टी पुनर्गठन’ पक्ष एमालेभित्र सशक्त बन्न थालेपछि ओली दबाबमा छन्। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको बेलादेखि जेनजी आन्दोलनको संकटसम्म काँध थापेका नेताहरूले ओलीविरुद्धका गतिविधि थालेका हुन्। महासचिव पोखरेल पछिल्लो समय ओलीसँगै कार्यक्रममा जान छाडेका छन्। आइतबार युवा संघको चौथो पूर्ण बैठकमा पार्टीका तर्फबाट ओली एक्ला पदाधिकारी बनेका हुन्। ओली निस्किएपछि महासचिव शंकर पोखरेल सम्बोधन गर्न पुगेका थिए।

केन्द्रीय सदस्य क्षितीज थेबे र विशाल भट्टराईलगायतका नेता मात्रै युवा संघमा ओलीसँगै सहभागी भएका छन्। सार्वजनिक कार्यक्रमहरूमा पौडेल, पोखरेल, गुरुङलगायतका नेता ओलीसँगै सहभागी हुने गरेकोमा पछिल्लो समय ‘हेभिवेट’ले साथ छोडेका हुन्। एमालेको १९ सदस्यीय सचिवालयमा उपाध्यक्ष रामबहादुर थापा बादल, उपमहासचिव लेखराज भट्ट, सचिवहरू महेश बस्नेत र भानुभक्त ढकाल मात्रै खुलेर ओलीको पक्षमा छन्।

ओलीलाई काँध हालिरहेकै नेताहरूले समेत ओलीको विकल्प खोज्नुपर्ने तर केही समय पर्खनुपर्ने मत राखेर रक्षात्मक बनेका छन्। ओलीसँग निकट रहेकी सचिव पद्मा अर्याल पनि पछिल्लो समय ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छन्। एमाले संसदीय दलकी उपनेता रहेकी अर्याल ओलीले अरू नेतालाई पेलेरै आफ्नो विश्वासपात्रको रूपमा संसदीय दलको नेता बनाएका बादलको प्रस्तुतिलाई लिएर असन्तुष्ट छिन्।

बादललाई संसदीय दलको नेता र पार्टीमा पनि दोस्रो वरीयतामा राखेको पार्टी पंक्तिले स्वीकार नगरेको असन्तुष्ट पक्षको विश्लेषण छ। बादललाई अनावश्यक रूपमा सक्रिय बनाएर पार्टीभित्र आफूहरूलाई दबाब सिर्जना गरिएको असन्तुष्ट नेताहरू बताउँछन्।

ओलीले आफूमाथि दबाब बढेपछि पूर्व राष्ट्रपति विद्या भण्डारीको साथ पाउन सदस्यता नवीकरण गर्ने निर्णय सचिवालयको जेठ ८ गतेको बैठकबाट गराएका थिए। तर, भण्डारी पक्षले पनि ओलीलाई साथ दिएको छैन। 

 ‘अब पार्टीको यही नेतृत्वलाई स्वीकारेर जाने अवस्था रहेन। फेरि उचित समय पनि पर्खनुपर्‍यो। हाम्रा असन्तुष्टि छन्। हामीले पार्टीमा पर्याप्त रूपमा राखेका छौं। बाहिर अहिले राख्ने कि नराख्ने भन्ने हो,’ ओलीसँग अहिले पनि निकट रहेका एक पदाधिकारीले भने।

ओलीले शनिबार पार्टी पुनर्गठनमा लागेका नेताहरूप्रति आक्रोश व्यक्त गरेका छन्। बागमती प्रदेशका केन्द्रीय सदस्यसँग ओलीले पौडेल र पोखरेलले एमाले विभाजन गर्न सक्ने भन्दै पुनर्गठन अभियान सफल नहुने बताए। ओलीको चेतावनीपछि महासचिव पोखरेलले पनि सार्वजनिक रूपमै ओलीलाई जनभावनविपरीत नबोल्न भनेका छन्। ‘जनभावना विपरीत अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन। जनभावनाको सम्मान गर्दै जनसम्बन्ध सुदृढ गरौं, किनकि जनता नै इतिहासका निर्माता हुन्,’ उनले फेसबुकमार्फत भनेका छन्। पुनर्गठन अभियान चलाइरहेका नेताहरूले ओलीले राजीनामा दिनुपर्ने नभए उनलाई विशेष महाधिवेशन गरेर भए पनि हटाउनुपर्ने बताइरहेका छन्। 

अर्को वर्ष हुने स्थानीय तह तथा प्रदेशको निर्वाचनअघि जसरी पनि ओलीलाई हटाउनुपर्ने माग एमालेभित्र चर्किँदै गएपछि शीर्ष नेताहरूले ओलीविरुद्ध मोर्चाबन्दी नै सुरु गरेका छन्। आइतबार पनि ओलीइतर नेताहरूले छलफल गरेका थिए। ओलीका कारण पार्टी एकता कमजोर बनेको उनीहरूको निचोड छ।

असन्तुष्ट नेताहरूको दबाबका कारण जेठ ८ को सचिवालय बैठकले उपाध्यक्ष बादलको संयोजकत्वमा गठन गरेको पार्टी पुनर्गठन सुझाव संकलन कार्यदलले देशव्यापी रूपमा सुझाव संकलन गरिरहेका बेला ओलीले पार्टी फुट्न सक्ने भन्दै विरोधी नेताहरूलाई कारबाहीको चेतावनी दिएपछि पुनर्गठन पक्षधर नेताहरूको दौडधुप झनै बाक्लिएको हो।