काठमाडौं। एडभेन्चर सेग्मेन्टको हिरो एक्सपल्स २१० नेपाली बजारमा आएको छ। हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले उक्त बाइक शनिबार सार्वजनिक गरेको हो।
नयाँ एड्भेन्चर मोटरसाइकल एक्सपल्स २१० ले पुरानो एक्सपल्स २०० फोर भीभन्दा बढी शक्तिशाली इन्जिन, आधुनिक प्रविधि र अफ-रोड क्षमतासहित बजारमा प्रवेश गरेको छ। नयाँ एक्सपल्स २१० मा लिक्विड-कुल्ड, फ्युल-इन्जेक्टेड इन्जिन छ। यो इन्जिनले २४.२ बीएचपी शक्ति र २०.७ न्युटन मिटर टर्क उत्पादन गर्छ।
बाइकमा ६-स्पिड गियरबक्स, स्लिपर क्लच तथा राइड-बाइ-वायर प्रविधि समावेश छ। बाइकमा ४.२ इन्चको टीएफटी डिजिटल डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, टर्न-बाइ-टर्न नेभिगेसन, यूएसबी टाइप–सी चार्जिङ पोर्ट, ट्र्याक्सन कन्ट्रोल तथा तीनवटा एबीएस मोड (रोड, अफ-रोड र र्याली) जस्ता आधुनिक फिचर उपलब्ध छन्।
अफ-रोड राइडिङलाई लक्षित गर्दै यसमा २१ इन्च अगाडिको र १८ इन्च पछाडिको स्पोक ह्विल, लामो ट्राभलको सस्पेन्सन, २२० मिमी ग्राउन्ड क्लियरेन्स तथा डुअल-च्यानल एबीएस जडान गरिएको छ। एक्सपल्स २१० मा रहेका फिचर बाहेक यसको अर्को महत्वपूर्ण पक्ष यसको राइडिङ जियोमेट्री हो, जसले लामो यात्रामा थकान कम गराउन सहयोग गर्छ। बाइकको सिट डिजाइन उचाइ र आरामबीच सन्तुलन मिलाएर बनाइएको छ, जसले अफ-रोड र हाईवे दुवैमा सहजता दिन्छ।

नेपालमा एक्सपल्स २१० को मूल्य ५ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको सीजी मोटर्सले जनाएको छ। कम्पनीले यो मोटरसाइकल विभिन्न रङ र संस्करणमा उपलब्ध गराउने जनाएको छ।
नेपालमा साहसिक यात्रा र अफरोड राइडिङप्रति आकर्षण बढिरहेका बेला हिरो एक्सपल्स २१० को आगमनले यो वर्गको मोटरसाइकल बजारमा प्रतिस्पर्धा थप बढाउने अपेक्षा गरिएको बिक्रेता कम्पनीको भनाइ छ।











