काठमाडौं। नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा टाटा मोटर्स पनि सहभागी हुने भएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी साउन २६-३१ भृकुटीमण्डपमा गर्न लागेको सवारी मेलाका लागि स्टल बाँडफाँट गर्दा टाटाको पनि सहभागिता रहने शनिबार पक्का भएको हो।
टाटा मोटर्स नाइमामा आउनुलाई बजार रणनीति परिवर्तनका रुपमा हेरिएको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले यसअघि नाडामा प्रभावशाली उपस्थिति देखाउँदै आएको हो। मुलुकको ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा हेरिएको यो एक्स्पोका लागि आयोजकले तयारी तीव्र पारेका छन्।
आयोजकका अनुसार सहभागी हुने चार पांग्रे, दुई पांग्रे तथा व्यावसायिक सवारीसाधन क्षेत्रका कुल ४९ वटा ब्रान्डका लागि लक्की ड्र प्रक्रियामार्फत स्टल बाँडफाँट गरिएको हो । जसमध्ये चार पांग्रे साधनका ब्रान्डहरूले २६ र दुई पांग्रे तथा व्यावसायिक सवारी ब्रान्डहरूले २३ वटा स्टल पाउने टुंगो भएको छ।
स्टल बाँडफाँट कार्यक्रममा नाइमाका अध्यक्ष रितु सिंह वैद्यले अटोमोबाइल क्षेत्रबाट प्राप्त उत्साहजनक सहभागिताले एक्स्पोको महत्त्व थप पुष्टि गरेको बताइन। ‘एक्स्पोलाई केवल प्रदर्शनीमा मात्र सीमित नराखी नेपालमा आधुनिक, दिगो र सर्वसुलभ गतिशीलता प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्ने नाइमाको उद्देश्य हो,’ उनले भनिन्। प्रारम्भिक चरणका सबै स्टल बुक भइसकेको र म्याद सकिएपछि पनि थप माग भइरहेकाले उपलब्ध स्थान अनुसार नाइमा सदस्य कम्पनीहरूलाई प्राथमिकतामा राखेर सम्बोधन गरिने उनले बताइन।
त्यस्तै, नाइमा नेपाल मोबिलिटी एक्स्पो योजना समितिका अध्यक्ष गौरव शारडाले ४९ ब्रान्डको सहभागिताले उद्योग क्षेत्रको बढ्दो आकर्षण र विश्वासलाई प्रतिविम्ब गरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको प्रदर्शनी अनुभव प्रदान गर्ने दाबी गरे।
नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले स्टल बाँडफाँट प्रक्रिया पूर्ण रूपमा निष्पक्ष र पूर्वनिर्धारित मापदण्डअनुसार सम्पन्न गरिएको बताए। नेपालका प्रायः सबै प्रमुख सवारी साधन ब्रान्डहरूको सहभागिता रहने यस एक्स्पोको तयारी साझेदार संस्था तथा सरोकारवालाहरूसँगको सहकार्यमा तीव्र गतिमा अघि बढिरहेको उनीहरूको भनाइ छ।
एक्स्पोमा मुख्य ब्रान्डहरू चार पांग्रेतर्फ हुण्डाई, टाटा, टोयोटा, महिन्द्रा, म्याक्सस, किया, निसान, बीवाइडी, ओमोडा एण्ड जेकु, एमजी-गो अटोमोबाइल, एमजी-पारामाउन्ट मोटर्स, सिट्रोन, आइकार, हेन्सरी भोल्ट्स, फोर्थिङ, डेन्जा, काइ, होन्री बोमा, बीएआइसी, आर्कफक्स, ग्रेट वाल मोटर्स, एमजी, जिकर, लिपमोटर, वुलिङ, जीकर लगायत हुनेछन्।
दुई पांग्रेतर्फ बजाज, होण्डा, टीभीएस, केटीएम, रोयल इन्फिल्ड, एथर, सुजुकी, याडिया, निउ,प्यूजो र बगाउस, अल्ट्राभ्वाइलेट, केरेन, गारो, सीएफ मोटो, ट्रायम्फ, जेएक्स मोटो/सीएक्स मोटरसाइकल लगायतका ब्रान्ड रहने जनाइएको छ। यस्तै कर्मियल भेहिकलतर्फ चेरी वान्डा, केरी, केयटन र स्काईवर्थ रहनेछन्।
मेलाको समग्र व्यवस्थापन मिडिया स्पेस सोलुसन्सले गर्नेछ भने डिजिटल मिडिया साझेदारका रूपमा डिजिपाल सोलुसन्स आबद्ध रहेको जनाइएको छ।










