रेन्टल सर्भिस दिने दुई पाङ्ग्रे कालो नम्बर प्लेटमा दर्ता हुनुपर्ने, तिर्नुपर्नेछ वार्षिक आयरकर पनि



बिजमाण्डू
२०८३ जेठ २७ गते १५:३८ | Jun 10, 2026
रेन्टल सर्भिस दिने दुई पाङ्ग्रे कालो नम्बर प्लेटमा दर्ता हुनुपर्ने, तिर्नुपर्नेछ वार्षिक आयरकर पनि

काठमाडौं । सरकारले भाडामा अर्थात ‘रेन्टल’मा प्रयोग हुने बाइकहरुलाई पनि आयकरको दायरामा ल्याएको छ। सरकारले ल्याएको आर्थिक विधेयकमार्फत दुई पाङ्ग्रे भाडाका सवारीसाधन धनीले पनि वार्षिक आय कर तिर्नुपर्ने व्यवस्था गरिएको हो।

Tata
GBIME
Nepal Life

‘यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि भाडाका सवारीसाधन धनीबाट यातायात व्यवस्था कार्यालय मार्फत सवारीसाधन दर्ता वा नवीकरणका बखत देहाय बमोजिमको वार्षिक आयकर असुल गरिनेछ,’ विधेयकमा उल्लेख छ।

यो व्यवस्थासँगै अबदेखि भाडामा संचालन हुने दुई पाङ्ग्रे सवारीसाधनहरुले पनि वार्षिक ३ हजार आयकर तिर्नुपर्ने हुन्छ। यसका लागि दुई पाङ्ग्रे सवारीसाधनहरुले कालो नम्बर प्लेटमा दर्ता भएर वार्षिक आयकर तिर्नुपर्छ।

साथै, विद्युतिय ई-रिक्साले पनि वार्षिक ३ हजार ५०० रुपैयाँ आयकर तिर्नुपर्ने व्यवस्था गरिएको छ।

गण्डकी प्रदेश र बागमती प्रदेश सरकारले पनि आफ्नो राजश्वको दायरा बढाउन यस्ता भाडामा प्रयोग हुने दुई पाङ्ग्रे सवारीसाधन र विद्युतिय ई-रिक्साले पनि वार्षिक आयकर तिर्नुपर्ने व्यवस्था गरिदिन केन्द्र सरकारलाई पत्राचार गर्दै आइरहेका थिए।

अब पोखरा वा काठमाडौं जस्ता ठुला सहरमा बाइक तथा स्कुटरहरु रेन्टल सर्भिस प्रदान गर्ने सवारीसाधनहरुले अब कालो नम्बर प्लेटमा दर्ता गरेर आफ्नो सेवा दिन सक्नेछन्।