जेनेभामा प्रवलजंग पाण्डेको आह्वान : श्रम बजार सुधार गर्न लचक नीति र सहकार्य आवश्यक



बिजमाण्डू
२०८३ जेठ २७ गते ०८:१९ | Jun 10, 2026
जेनेभामा प्रवलजंग पाण्डेको आह्वान : श्रम बजार सुधार गर्न लचक नीति र सहकार्य आवश्यक

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले बदलिँदो श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता, उत्पादकत्व वृद्धि र सुदृढ त्रिपक्षीय सहकार्य आवश्यक रहेको बताएका छन्।

Tata
GBIME
Nepal Life

स्वीजरल्याण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को ११४औँ सत्रलाई नेपालको रोजगारदाता परिषद्का तर्फबाट सम्बोधन गर्दै पाण्डेले यस्तो धारणा राखेका हुन्।

विश्वभरका प्रतिनिधि, विशिष्ट व्यक्तित्व र सामाजिक साझेदारहरूमाझ पाण्डेले नेपाल महत्त्वपूर्ण आर्थिक संक्रमणको चरणमा रहेको बताए। सरकारले सुशासन, लगानी प्रवर्धन र पूर्वाधार विकासमा प्रतिबद्धता देखाए पनि सुस्त आर्थिक वृद्धि, सीमित औद्योगिक विकास र बढ्दो व्यावसायिक लागतजस्ता चुनौती अझै कायम रहेको उनको भनाइ थियो।

उनले नेपाली युवा जनशक्ति रोजगारीका लागि निरन्तर विदेश पलायन भइरहनु मुख्य चिन्ताको विषय बनेको बताए। लगानीमैत्री नीति, सीप विकास र शिक्षालाई श्रम बजारको वास्तविक आवश्यकतासँग जोडेर स्वदेशमै मर्यादित र उत्पादकमूलक रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता उनले औंल्याए।

डिजिटल अर्थतन्त्रको विस्तारसँगै नेपालमा पनि अनलाइन व्यवसाय, राइड-सेयरिङ र डेलिभरी प्लेटफर्ममा युवाको सहभागिता तीव्र रूपमा बढिरहेको उनले बताए। यसले उद्यमशीलताका नयाँ अवसर सिर्जना गरे पनि श्रम मापदण्ड र सामाजिक सुरक्षासम्बन्धी नयाँ बहस जन्माएको उनको भनाइ थियो।

पाण्डेले नेपालजस्ता विकासशील मुलुकमाथि कठोर विश्वव्यापी श्रम मापदण्ड थोपर्नुभन्दा उनीहरूको राष्ट्रिय यथार्थ, संस्थागत क्षमता र आर्थिक अवस्थाअनुसार श्रम सुधार तथा कानुनी व्यवस्था लागू गर्न आवश्यक लचकता दिनुपर्नेमा जोड दिए।

सम्बोधनका क्रममा उनले नेपाली रोजगारदाताहरूले अघि सारेका प्राथमिकता र कार्यान्वयन भइरहेका कार्यक्रमबारे पनि जानकारी दिए। राष्ट्रिय व्यावसायिक सुरक्षा तथा स्वास्थ्य कार्ययोजना लागू भएपछि सुरक्षित र स्वस्थ कार्यस्थल सामाजिक जिम्मेवारी मात्र नभई उत्पादकत्व, दिगोपन र प्रतिस्पर्धात्मकताका लागि समेत महत्त्वपूर्ण रहेको चेतना बढेको उनले बताए।

चिया र अलैंचीजस्ता क्षेत्रमा विशेष निर्देशिका निर्माण गरी प्रारम्भिक काम सुरु भइसकेको जानकारी उनले दिए। महासंघले छनोट गरिएका उद्योगहरूमा ‘केयर मोडल’ को पाइलट परियोजना सफलतापूर्वक संचालन गरिसकेको उल्लेख गर्दै यसले विशेषगरी महिलाका लागि रोजगारी सिर्जना गर्न, सामाजिक समावेशीकरण बढाउन र सामुदायिक कल्याण प्रवर्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

बाढी, पहिरो र जलवायु परिवर्तनका कारण उद्योग, कृषि र जीविकोपार्जनमा गम्भीर असर परिरहेको उल्लेख गर्दै उनले हरित रोजगारी र जलवायु जोखिममा रहेका नेपालजस्ता मुलुकलाई प्राविधिक सहयोग उपलब्ध गराउने विषयलाई विश्वव्यापी छलफलमा प्राथमिकता दिन आग्रह गरे।

पश्चिम एसियामा जारी भू-राजनीतिक तनावले विप्रेषण, आयात र पर्यटनमा निर्भर नेपाली अर्थतन्त्रलाई प्रत्यक्ष असर पारिरहेको भन्दै उनले यस्तो अवस्थामा रोजगारी जोगाउन, व्यवसायको निरन्तरता सुनिश्चित गर्न र संवादलाई बलियो बनाउन रोजगारदाताको भूमिका महत्त्चपूर्ण हुने बताए।

उपाध्यक्ष पाण्डेले उद्यमहरूको उत्पादकत्व वृद्धि, कार्यस्थल सहकार्य, सीप विकास र नवप्रवर्तनलाई प्रोत्साहन गर्न आईएलओसँग दीर्घकालीन प्राविधिक सहयोगको माग समेत गरे। महासंघ सामाजिक संवाद, सहकार्य र मर्यादित श्रमप्रति पूर्ण प्रतिबद्ध रहेको दोहोर्‍याउँदै उनले आपसी विश्वास, साझेदारी र सन्तुलित नीतिमार्फत आर्थिक वृद्धि र श्रम अधिकारलाई सँगसँगै अघि बढाउन सकिने विश्वास व्यक्त गरे।