वसन्त ऋतुमा हिमाल आरोहणबाट एक अर्ब २६ करोड राजस्व संकलन, अनुमति लिनेमा चीनका धेरै



बिजमाण्डू
२०८३ जेठ २७ गते ०७:३६ | Jun 10, 2026
वसन्त ऋतुमा हिमाल आरोहणबाट एक अर्ब २६ करोड राजस्व संकलन, अनुमति लिनेमा चीनका धेरै

काठमाडौं। सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहण सकिएको छ। सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि यस वर्ष १ हजार १९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए।

Tata
GBIME
Nepal Life

पर्यटन विभागले ६ हजार ५०० मिटरभन्दा बढी उचाइ भएका हिमाल आरोहणका लागि आरोहीलाई अनुमति प्रदान गर्दै आइरहेको छ। त्यसभन्दा सानो हिमाललाई नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले अनुमति दिँदै आएको छ।

यस वर्ष आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा धेरै चीनका १ सय ५९, अमेरिकाका १ सय ५२, भारतका १ सय १, जर्मनीका ७५, बेलायतका ७४, रसियाका ७०, नेपालका ४४, क्यानडाका ४१, पोल्यान्डका ३२, फ्रान्सका २७ जना छन्।

पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमले यस वर्ष ३१ वटा हिमाल चढ्नका लागि १ हजार १९५ आरोहीले अनुमति लिएकामा सगरमाथा आरोहण अनुमति लिने ४ सय ९५ रहेको जानकारी दिए। सगरमाथा आरोहण अनुमति लिनेमा ५६ देशका ३ सय ९० पुरुष र १ सय ५ महिला थिए।

अनुमति लिएका आरोहीबाहेक आरोहीका सहयोगी तथा ‘गाइड’ गरी करिब १ हजारभन्दा बढीले सगरमाथाको सफल आरोहण गरेको उनले बताए।

यस वर्ष सगरमाथामा सबैभन्दा धेरै १०९ जना छिमेकी मुलुक चीनका आरोही पुगेका छन्। यसबाहेक अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रसियाका १८, अष्ट्रेलियाका १५, जापानका १४, क्यानडाका १२, नेपालका १२, आयरल्यान्डका ११ आरोही पुगेका छन्।

यस वर्ष सगरमाथाको चुचुरोमा ३२औँ पटक पुगेर कामिरीता शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन्। सोलुखुम्बुका शेर्पा गत जेठ ३ गते सगरमाथा चुचुरोमा पुगेर आफ्नो रेकर्ड तोडेका हुन्।

यस्तै, महिला आरोहीमा सङ्खुवासभा मकालुकी लाक्पा शेर्पाले ११ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेकी छिन्। उनले पनि आफ्नै रेकर्ड तोडेकी हुन्।

सरकारले सगरमाथा आरोहण अनुमतिबाट १ खर्ब ८ करोड १० लाख ७२५ रुपैयाँ राजस्व संकलन गरेको छ। यस्तै, लोत्से हिमालबाट ६ करोड ६८ लाख ७१ हजार ९९०, मकालु पहिलोबाट ३ करोड १७ लाख ८५ हजार ८००, आमादब्लमबाट १ करोड ६६ लाख ९ हजार २००, कञ्चनजङ्गाबाट १ करोड ६५ लाख ४० हजार ५००, अन्नपूर्ण पहिलोबाट १ करोड २० लाख ४९ हजार १७५ रुपैयाँ राजस्व संकलन भएको छ।

यो वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणको अनुमति दिएबापत सरकारले १ अर्ब २६ करोड ४७ लाख ४१ हजार ३०६ रुपैयाँ राजस्व संकलन गरेको छ। रासस