रोयल च्यालेन्जर्स बेङ्ग्लुरु इण्डियन प्रिमियर लिग (आईपीएल)को च्याम्पियन बनेको छ। आज सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै बेङ्ग्लुरु लगातार दोस्रो सिजन पनि च्याम्पियन बनेको हो।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। गुजरातका लागि वासिङ्टन सुन्दरले सर्वाधिक अविजित ५० रन बनाउँदा निशान्त सिन्धुले २० तथा जोस बटलरले १९ रनको योगदान दिए। बलिङमा बेङ्ग्लुरुका रसिक सलामले सर्वाधिक ३ विकेट लिँदा भुवनेश्वर कुमार र जोस हेजलहुडले समान २ र क्रुणाल पाण्ड्याले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लुरुले २ ओभर बाँकी छँदै ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। यसक्रममा बिराट कोहलीले सर्वाधिक अविजित ७५ रन बनाउँदै टोलीलाई लक्ष्यसम्म पुर्याए। त्यस्तै, वेङकटेस ऐय्यरले ३२ तथा टिम डेभिडले २४ रनको योगदान दिए। बलिङमा गुजरातका राशिद खानले २ तथा मोहम्मद सिराज, कागिसो रबाडा र अर्सद खानले समान १ विकेट लिए पनि बेङ्गलुरुलाई रोक्न सकेनन्।










