कालोपत्रे सडकमा हिँड्ने दिन नजिक पुग्दै सूर्यविनायक-धुलिखेल सडक, अन्डरपास हुँदै चल्न थाले गाडी



बिजमाण्डू
२०८३ साउन २ गते ११:०० | Jul 18, 2026
कालोपत्रे सडकमा हिँड्ने दिन नजिक पुग्दै सूर्यविनायक-धुलिखेल सडक, अन्डरपास हुँदै चल्न थाले गाडी


काठमाडौं। सूर्यविनायक-धुलिखेल सडक निर्माणको काम पछिल्लो समय तीव्र गतिमा भइरहेको छ। तीन वर्षअघि २०८२ मा काम सम्पन्न गर्नेगरी ठेक्का लागेको थियो।

Tata
GBIME

तर त्यसबीचमा कहिले साइट क्लियर नहुने, कहिले पुल र अन्डरपासको डिजाइन पास गर्न समय लाग्ने र बजेट अभाव हुने जस्ता विभिन्न कारणले निर्माणको गति प्रभावित भयो। पुरा काम सकिन अब अझै केही समय लाग्ने देखिन्छ।

१५.८ किलोमिटर लामो सूर्यविनायक-धुलिखेल सडक विस्तार आयोजनालाई सूर्यविनायकदेखि साँगासम्म ७.५ किलोमिटर र साँगादेखि धुलिखेलसम्म ८.३ किलोमिटर दुई खण्डमा विभाजन गरेर स्तरोन्नति भइरहेको छ।

पहिलो खण्डको तुलनामा साँगादेखि धुलिखेलसम्मको सडक निर्माणको काम निकै द्रुत गतिमा अगाडि बढेको छ। आयोजनाको दोस्रोपटक म्याद थप गरी निर्माण अवधि २०८३ फागुन मसान्तसम्म पुर्याइएको छ। सागा-धुलेखेल सडक खण्डको निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। लामा कन्स्ट्रक्सन कम्पनीले निर्माण गरिरहेको यस सडकको भौतिक प्रगति ७५ प्रतिशत पुगेको छ।

 उक्त सडक खण्डमा कतै ६ लेन कतै दुई लेन गरी कुल ३ किलोमिटर कालोपत्रे भएको छ। बनेपा बजारमा पुरानै कालोपत्रे रहेको छ। साइडमा स्टक्चर मात्रै बनाइएको छ भने अहिले ढल हाल्ने काम भइरहेको छ।

यस्तै एकतर्फी दुई लेन सडक आगामी ७-१० दिनमा कालोपत्रे हुने आयोजनाका इन्जिनियर विमल भट्टराईले बताए। ‘सागादेखि धुलिखेलसम्मको एकतर्फी दुई लेन ८.३ किलोमिटर सडक एक हप्ता १० दिनभित्र कालोपत्रे हुनेछ। यसमा एकतर्फी दुई लेन हुने भएकाले सवारीसाधनहरु सबै कालोपत्रे भएर हिड्न सक्नेछन्। तर बजार क्षेत्रको एक किलोमिटर सडक भने पुरानो पिच भएर हिड्नुपर्ने हुन्छ,’ उनले भने।

भट्टराईका अनुसार सागादेखि धुलेखेलसम्मको अधिकांश स्थानमा सब-बेस तयार भइसकेको छ। ३ किलोमिटर ६ लेनको सडकमा डीएबीएम कालोपत्रे भइसकेको छ, बाँकी स्थानमा एक साइडमा १० मिटर चौडाइको डीएबीएम कालोपत्रे भइसकेको छ।

अहिले वर्षायामका कारण केही स्थानमा निर्माण कार्य रोकिएको छ। मौसम सुधार हुने बित्तिकै कामलाई तीव्रता दिइने निर्माण कम्पनीले जनाएको छ। हालसम्म करिब १०० जना कामदारहरुले यो खण्डमा काम गरिरहेका छन्। दुई खण्डमा गरी लगभग २०० जना कामदार फिल्डमा छन्।

अहिले सागामा निर्माण गरिएको अन्डरपास भएर सवारीसाधनहरु दुईतर्फी संचालनमा ल्याइएको छ। यसले गर्दा माथिको सडक बनाउन निर्माण कम्पनीलाई सहज भइरहेको र यसले काम गर्न डिस्टर्ब नभएको भट्टराईले बताए। अहिले सागामा रहेको माथिको सडकमा पहिलो रोकथामको लागि स्लोप बनाउने काम भइरहेको छ। उक्त स्लोप बनाउने काम छिट्टै सकेर कालोपत्रे  गर्ने काम अगाडि बढ्नेछ।

सागामा रहेको अन्डरपासको मुख्य संरचना १८ मिटर लामो छ, जसको उचाइ ६ मिटर र चौडाइ साढे १० मिटर रहेको छ। अन्डरपासको कुल लम्बाइ १ हजार १ सय १० मिटरको छ। यो नेपाली इन्जिनियरहरु आफैले डिजाइन गरेर बनाइएको छ। सागामा रहेको अन्डरपास भएर गाडी चलाउन तलबाट नयाँ ट्रयाक खोलेर माथिको सडकको लागि अग्ला अग्ला रिटेनिङ वाल लगाइएको छ।

यसले तलको सडकबाट धुलिखेलतर्फ जाने र माथिबाट काठमाडौंतर्फ आउने सवारीसाधन चल्छन्। अहिले माथिको सडक बनाउने काम भइरहेकाले अन्डरपासबाटै दुईतर्फी सवारीसाधन चलिरहेका छन्।

भट्टराईका अनुसार सुर्यविनायक-सागासम्मको हालसम्म समग्र भौतिक प्रगति ५५ प्रतिशतको हाराहारीमा पुगिसकेको छ। यो आयोजनाको समग्र निर्माणको काम यसै वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

३ वटा पुलहरु निर्माण गर्नुपर्नेछ। २ वटा पुलको स्टक्चरहरु बनिरहेका छन्। भने बनेपाको पुलबजारमा रहेको पुल बनाउन भने समय लाग्नेछ। यसको काम केही समय अगाडि सुरु गरिएको थियो। तर बाढीले सबै सामानसहित बगाएपछि अब वर्षा सकिएपछि मात्रै निर्माणको काम सुरु हुने भट्टराईले बताए।

अहिले यो सडक सबैतिर कालोपत्रे भएपनि उक्त पुल समयमा नबनेसम्म बोतल नेक हुने देखिन्छ। किनभने यताउता सबै ६ लेन सडक हुनेछन् भने पुल दुई लेन पनि मुस्किलले वारपार गर्न सकिने अवस्थामा छ। अर्को भनेको वर्षाको समयमा जहिले पनि डुबानमा पर्छ।

यस सडक खण्डमा जग्गाती खोला, महादेव खोला र पुण्यमाता खोलामा गरी तीनवटा पुलहरु निर्माण गर्नुपर्ने छ। महादेव खोलामा पुलको स्ल्याबको काम सकिएको छ भने अन्य स्थानमा वर्षाका कारण काम केही प्रभावित भएको छ।

साथै, स्थानीय स्तरमा देखिएका बिजुलीका पोलहरु सार्ने, ढल व्यवस्थापन र घर-टहरा हटाउने जस्ता समस्याहरु अधिकांश हल भइसकेका छन्।

हाल सडकको केही भागमा डिएबिएम कालोपत्रेको काम भइरहेको छ। आयोजनाको मुख्य स्ट्रक्चरको काम ९५ प्रतिशत सकिएको छ। अब पीच र अन्य साना फिनिसिङका कार्यहरु बाँकी छन्।

कुल लागत ८ अर्ब रुपैयाँको रहको छ। तीन वर्ष अगाडि ठेक्का लागेर २०८२ मा सक्ने लक्ष्य राखिएको थियो।

निर्माण कम्पनीले आगामी फागुन-मसान्तसम्ममा सूर्यविनायकदेखि साँगाखण्ड पूर्ण रुपमा सम्पन्न गर्ने लक्ष्य लिएको छ।