काठमाडौं। नेपाल बीमा प्राधिकरणले हिमालयन रि-इन्स्योरेन्सलाई नयाँ व्यवसायमा प्रतिबन्ध लगाएको छ। प्राधिकरणले कम्पनीलाई असार मसान्तसम्म नयाँ व्यवसाय संचालन गर्न प्रतिबन्ध लगाएको हो।
कम्पनीले अब यो आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म पुनर्बीमा दाबी भुक्तानी गर्ने र यसअघि गरिरहेको पुनर्बीमा व्यवसायका लागि रेट्रोसेसन गर्ने बाहेक नयाँ व्यवसाय गर्न पाउने छैन।
‘बीमक हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई पुनर्बीमा दाबी भुक्तानी गर्ने कार्य र यसअघि भए गरेका पुनर्बीमा व्यवसायको लागि रेट्रोसेसन गर्ने कार्य बाहेक आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय गर्न बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम रोक लगाईएको व्यहोरा प्राधिकरणको मिति २०८३/०१/२९ को निर्णयानुसार सम्बन्धित सरोकारवालामा सूचित गरिन्छ,’ नेपाल बीमा प्राधिकरणले भनेको छ।
हिमालयन रि-इन्स्योरेन्सको पैसा दुरुपयोग भएको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पनि हिमालयन रिका संचालकमाथि अनुसन्धान गरिरहेको छ। संचालक र कर्मचारी नै अनुसन्धानमा तानिएका छन्।
रि-इन्स्योरेन्सका पूर्वसंचालक साहिल अग्रवाल र प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल प्रहरीको फरार सूचीमा छन्। कम्पनीमाथि अनुसन्धान भइरहेकाले नयाँ व्यवसायमा रोक लगाइएको प्राधिकरणका अधिकृत बताउँछन्।
‘कम्पनीमाथि भइरहेको अनुसन्धान र उसको संचालनको अवस्थालाई हेरेर असार मसान्तसम्मका लागि नयाँ व्यवसाय गर्न रोक लगाइएको हो,’ प्राधिकरणका एक अधिकृतले भने।










