काठमाडौं। नेपालको आर्थिक नीतिनिर्माणमा प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव छोडेका अर्थशास्त्री केशव आचार्यको सोमबार निधन भएको छ। जागिरे हुँदा होस् या अवकाशपछि पनि उनी आर्थिक नीति तर्जुमा तथा विश्लेषणमा सक्रिय थिए।
सार्वजनिक नीति, विकासको मार्गचित्र र आर्थिक अनुशासनबारे उनी निरन्तर पैरवी गर्दै आएका थिए। आचार्य त्यस्ता अर्थशास्त्री थिए जसले आर्थिक सिद्धान्तहरुलाई नेपाली माटो सुहाउँदो ढालेर विश्लेषण गर्थे। नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएपछि अर्थमन्त्रालयको प्रमुख सल्लाहकार हुँदा ती सिद्धान्तहरुलाई उनले कागजमै सीमित राखेनन्, व्यवहारमा उतार्नका लागि अर्थमन्त्रीलाई सघाएका थिए।
उनको भूमिका केवल पदको औपचारिकतामा मात्र सीमित रहेन, विकास यात्रालाई दिशा दिने सहयोगी पनि बन्यो।
योजनाहरू बनाउने क्रममा उनले दीर्घकालीन सोच, वित्तीय अनुशासन र समावेशी विकासलाई प्राथमिकतामा राखेका थिए। उनीसँग काम गर्नेहरु आचार्यलाई ‘सधैंभरी अपडेट रहने’ व्यक्तिका रुपमा चिन्छन्। देशका तथ्यांकदेखि, विश्वका मसिना घटनाहरुसम्म उनी अद्यावधिक रहन्थे।
https://bizmandu.com/print/news/20201228085714.html
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकको रूपमा लामो अनुभव बटुलेपछि उनले अर्थतन्त्रको धड्कनलाई नजिकबाट बुझेका थिए। उनको दृष्टिमा अर्थतन्त्र केवल अंकहरूको खेल थिएन- राज्य, बजार र नागरिकबीचको सन्तुलन थियो। निजी क्षेत्रको भूमिकालाई स्वीकार्दै, सार्वजनिक उत्तरदायित्वलाई बलियो बनाउनुपर्ने उनको धारणा प्रष्ट थियो। वैदेशिक सहायता, बजेट व्यवस्थापन र आर्थिक सुधारबारे उनले राखेका विचारहरू नीति बहसका केन्द्रमा रहिरहे।
जटिल विषयलाई सरल तरिकाले बुझाउने उनको क्षमता थियो। सरल, सहज स्वभावले उनलाई विशिष्ट बनाएको थियो।
उनको जीवनको अन्तिम दिनहरूमा पनि देशको राजनीतिक, आर्थिक परिवर्तनप्रति उनी गहिरो चासो राखिरहेका थिए। गत फागुन २७ गते भएको एक भेटमा उनले बिजमाण्डूसँग भनेका थिए- नयाँ राजनीतिक शक्तिप्रति देखिएको अभूतपूर्व जनसमर्थनलाई सकारात्मक संकेतका रूपमा लिएको छु।
खासगरी छिट्टै प्रधानमन्त्रीको सपथ लिन लागेका बालेन्द्र शाहको नेतृत्वले सुशासन कायम गर्ने मात्र होइन अर्थतन्त्रलाई नयाँ ढंगबाट पुनर्संरचना गर्ने र अहिलेको जटिल अवस्था परिवर्तन गर्ने विश्वास उनले व्यक्त गरेका थिए।
उनलाई नेपालको शासन सञ्चालन र अर्थतन्त्रमा बेग्लै खालको हस्तक्षेप आवश्यक भएको भन्ने लाग्थ्यो। त्यहो हस्तक्षेप बालेन सरकारले गर्न सक्नेमा उनी आशावादी देखिएका थिए।
सार्वजनिक बहसमा उनी प्रायः संयमित देखिन्थे। उत्तेजनाभन्दा तर्कमा विश्वास गर्ने र लोकप्रियताभन्दा दीर्घकालीन हितलाई प्राथमिकता दिने उनको शैली आजको समयका लागि विरलै पाइने गुण हो।
उनका श्रीमती, एक छोरा र एक छोरी छन्। मस्तिष्कघातका कारण उनको निधन भएको हो।
केशव आचार्यको शरीर धर्तिबाट विलीन भए पनि नेपालको आर्थिक यात्रामा उनको छाप भने सधैं रहने छ।











