१० मेगावाटसम्मका जलविद्युत आयोजनाको पीपीए खुलाइँदै, प्राधिकरणको पत्र ऊर्जा मन्त्रालयमा



बिजमाण्डू
२०८२ मंसिर १० गते १९:१६ | Nov 26, 2025
१० मेगावाटसम्मका जलविद्युत आयोजनाको पीपीए खुलाइँदै, प्राधिकरणको पत्र ऊर्जा मन्त्रालयमा


काठमाडौं। सरकारले १० मेगावाटसम्मका जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) खुलाउने भएको छ।

Tata
GBIME

नेपाल विद्युत प्राधिकरणको १० मेगावाटसम्मका आयोजनाको पीपीए खुलाउन ऊर्जा मन्त्रालयलाई पत्र लेखेको छ। प्राधिकरणले कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार मन्त्रालयलाई पत्राचार गरेको हो।

प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत आयोजनाको पीपीए ‘टेक अर पे’मा गर्ने निर्णय गर्न मन्त्रालयलाई आग्रह गरेको छ।

‘कात्तिक १९ बसेको बोर्ड बैठकले पीपीए खुलाउने निर्णय गरेको थियो। सोहीअनुसार सहजीकरण गरिदिन हामीले ऊर्जा मन्त्रालयलाई पत्राचार गरिसकेका छौं,’ प्राधिकरणका एक कर्मचारीले भने।

मन्त्रालयका एक कर्मचारीका अनुसार १० मेगावाटसम्मका जलविद्युत आयोजनाको पीपीए खुला गर्ने एजेण्डा अब बस्ने मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री कुलमान घिसिङको तयारी छ।

‘प्राधिकरणबाट पत्र आएको छ। पीपीए खुला गर्नका लागि प्राधिरकणको निर्णय ऊर्जा मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट अनुमोदन गराउनुपर्छ,’ ती कर्मचारीले भने, ‘अब बस्ने मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लाने तयारी छ।’

प्राधिकरणका यसअघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको पालामा १० मेगावाटसम्मका आयोजनाको पीपीए रोकिएको थियो।

चालु आर्थिक वर्ष २०८२/८३ को बजटमा नदी प्रवाहमा आधारित आयोजनाको टेक एण्ड पे अवधारणा अनुसार पीपीए गरिने उल्लेख गरिएका कारण हितेन्द्रले साना आयोजनाको पनि पीपीए रोकेका थिए। जेठ १५ गते बजेट घोषणा गरिएयता कुनै पनि जलविद्युत आयोजनाको पीपीए भएको छैन।