दोहोरो आइजीनको प्रस्ताव सेबोनको सञ्चालक समितिमा, अर्थमन्त्री पौडेलले के निर्देशन दिए?



सुनिल कुँवर
२०८२ भदौ १७ गते १५:२९ | Sep 2, 2025
दोहोरो आइजीनको प्रस्ताव सेबोनको सञ्चालक समितिमा, अर्थमन्त्री पौडेलले के निर्देशन दिए?

काठमाडौं। संस्थापक र साधारण सेयरलाई फरक-फरक इन्टरनेसनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आइजीन) दिने सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)को प्रस्ताव नेपाल धितोपत्र बोर्ड (सेबोन)को सञ्चालक समितिमा पुगेको छ।

Tata
GBIME
Nepal Life

सेबोन व्यवस्थापनले धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका २०८२ को मस्यौदा मंगलबार सञ्चालक समितिमा पेस गरेको छ।

सेबोनको सञ्चालक समितिमा सीडीएसीको प्रस्तावमाथि सामान्य छलफल भएको छ। दोहोरो आइजीनको विषयमा सेबोनले निर्णय भने गरिसकेको छैन। ‘आइजीनको विषय कानुन समितिबाट सञ्चालक समितिमा पुगेको छ। समितिको बैठकमा यो विषयमा छलफल भए पनि निर्णय भएको छैन,’ सेबोनका एक अधिकृतले भने।

सीडीएसीले एक महिना अगाडि अभौतिकीकरण कार्यसञ्चालन निर्देशिकाको मस्यौदा तयार पारेर स्वीकृतिका लागि सेबोनमा पठाएको थियो।

तर, कम्पनीको संस्थापक र साधारण सेयरको आइजीन एउटै कायम गर्ने कि दोहोरो लागू गर्ने भन्ने विषयमा सेबोन अनिर्णित हुँदा यो विवाद अर्थमन्त्री विष्णु पौडेलसम्म पुगेको छ।

मन्त्री पौडेलले केही दिनअघि सीडीएससीकी प्रमुख कार्यकारी अधिकृत प्रविण पाण्डक, नेप्सेका सीइ‌ओ चुडामणि चापागाईं र सेबोनका अधिकारीलाई बोलाएर छलफल गरेका थिए।

पौडेलले सीडीएससीले पठाएको दोहोरो आइजीनको विषय छिटो टुंग्याउन निर्देशन दिएको छलफलमा सहभागी स्रोतले बताएको छ। ‘सीडीएससीले गरेको प्रस्ताव अनुसार चाँडो निर्णय गर्नू,’ मन्त्री पौडेललाई उद्यृत गर्दै स्रोतले भन्यो।

मन्त्री पौडेलको निर्देशनपछि सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले यो विषय‍लाई सञ्चालक समितिमा लगेका हुन्। तर, ऊर्जा उत्पादकहरुको संस्था इप्पान विरोधमा रहेका कारण सेबोन निर्णय गर्न हिच्किचाएको छ।

इप्पानको टोलीलाई भने अर्थमन्त्री पौडेलले एक साताअघि दोहोरो आइजीन लागू नगर्ने आश्वासन दिएका थिए। मन्त्री पौडेलले दोहोरो कुरा गरेका कारण पनि सेबोनले निर्णय नगरेको स्रोतले बतायो। ‘एकातिर इप्पान दोहोरो आइजीन लागू नगर्नका लागि लबिइङमा छ। अर्कातिर अर्थमन्त्रीकै भूमिका दोहोरो देखिएको छ। त्यही कारण सेबोनले निर्णय नगरेको हो,’ स्रोतले भन्यो।

सीडीएससीले आइपीओ निष्कासनपछि कम्पनीको सेयर अभौतिकीकरणका लागि कम्पनीको संस्थापक सेयर र साधारण सेयरलाई छुट्टाटुट्टै आइजीन दिने व्यवस्था प्रस्तावित निर्देशिकामा राखेको छ।

सीडीएससीले यसअघि संस्थापक र सर्वसाधारणको सेयर कारोबारका लागि एउटै आइजीन रहेकामा त्यसलाई समेत फरकफरक बनाउन प्रस्ताव गरेको छ। त्यस्तै, कम्पनीको आइजीन मर्ज गर्न सकिने व्यवस्था समेत प्रस्ताव गरिएको छ।

अहिले बैंक तथा वित्तीय संस्था बाहेकका कम्पनीको आइपीओ निष्कासनपछि साधारण र संस्थापक सेयरलाई एउटै आइजीन दिने गरिएको छ। सर्वसाधारणलाई आइपीओ निष्कासन गरेपछि कम्पनीको संस्थापक सेयरमा तीन वर्षे लकइन पिरियड लागू हुन्छ।

लकइन अवधिमा संस्थापकले सेयर किनबेच गर्न पाउँदैनन्। संस्थापक सेयर लकइन अवधिमा एउटै आइजीनमा लक गरिन्छ।

तर, अहिले सीडीएससीकी सीइओ पाण्डकले यसलाई हटाएर दोहोरो आइजीनको तयारीस्वरुप निर्देशिकाको मस्यौदा स्वीकृतिका लागि सेबोनमा पठाएकी हुन्।

दोहोरो आइजीनको विषयलाई लिएर ऊर्जा उत्पादकहरु विरोधमा छन्। कम्पनीको लकइन अवधि सकिएपछि पनि फरकफक आइजीन दिंदा संस्थापक सेयर साधारणमा परिणत नहुने उनीहरुको चिन्ता छ। सीडीएससीले अहिले आइजीनकै विषयलाई लिएर इमर्जिङ नेपालको संस्थापक सेयर साधारणमा परिणत नगरी रोकेर राखेको छ।

इमर्जिङ नेपालको संस्थापक सेयरको लकइन अवधि फागुनमा सकिएकामा संस्थापक सेयरलाई दिइएको आइजीन सीडीएससीले एउटै नबनाउँदा किनबेच हुन पाएको छैन।

पछिल्लो समय आइपीओ निष्कासन गरेका आधा दर्जन कम्पनीको समेत संस्थापक सेयर आइजीनकै कारण अभौतिकीकरण गर्न सीडीएसीले रोकेको छ। आइपीओ निष्कासन गरेको ६ महिनासम्म संस्थापक सेयर अभौतिकीकरण नहुँदा कम्पनीको लकइन अवधि गणनामै समस्या निम्तिने लगानीकर्ताको चिन्ता छ।

सेबोनले आइजीनको विषयमा समयमै निर्णय नगरेका कारण सेयर अभौतिकीकरण रोकिन पुगेको कम्पनीका संस्थापकहरुको भनाइ छ।

सेबोनका प्रवक्ता निरञ्जय घिमिरेले सीडीएससीले पेस गरेको मस्यौदामाथि बोर्डमा छलफल सुरु भएको र अब केही दिनमै टुंगिने बताए।

‘सीडीएसीले पेस गरेको निर्देशिकाको मस्यौदामाथि हामीले विभिन्न चरणमा छलफल गरेका छौं। अहिले बोर्डमा छलफलकै क्रममा छ। अब केही दिनमा टुंगोमा पुगिन्छ,’ उनले भने।