काठमाडौं। जिल्ला प्रहरी परिसर ललितपुर र उपत्यका प्रहरी कार्यालयको टोलीले संयुक्त अपरेसन गर्ने योजना बनायो। सूचना आएको थियो- ललितपुर महानगर-४ शान्तिकुना मार्गको एउटा घरबाट लाखौंको अवैध कारोबार भइरहेको छ।
सूचना आएको ठाउँमा सोमबार साढे ५ बजेतिर प्रहरी टोली पुग्यो। घरको एउटा सानो कोठामा छापा मार्दा सुरुमा त्यहाँ खासै सामान देखिएन। पछि देखियो ल्यापटप, पैसा गन्ने मेसिन, सानो तराजु। अर्को साँघुरो कोठामा पैसाको बिटो देखियो। ५ सय र हजारका नोट थिए। रकम थियो ८० लाख। फेरि कोठामा हेर्दै जाँदा अरु रकम पनि देखियो। अन्ततः उक्त कोठाबाट ९१ लाख ५o हजार रुपैयाँ भेटियो।
कोठा थियो सिन्धुलीको कमलामाई-२ का २६ वर्षीय गौरव स्याङतानको। प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। उनले सट्टेबाजी गर्ने गरेको खुलेको छ। कोठा यति धेरै रकम भेटिए पनि उनको बसाइ भने अपत्यारिलो किसिमले सामान्य देखिएको छ।

‘हामीलाई सट्टाबाजीको सूचना थियो। तर पछि यति धेरै रकम नै भेटियो,’ जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले भने।
प्रहरीले स्याङतानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। ‘१० बाई १० का कोठा छन्। लगाउने जुत्ता ब्रान्डेकबाहेक अरु एकदमै सामान्य देखिन्छ,’ एक प्रहरी अधिकृतले सुनाए।
प्रहरीको सोधपुछमा स्याङतानले कोठामा बरामद रकम सबै आफ्नो भएको बताएका छन्। कोठामा प्रहरीले लागुऔषध जस्तो पदार्थ डेढ किलो बरामद भएको छ। त्यो के पदार्थ हो भन्ने खुल्न बाँकी छ।









