मेस्सी कि यामाल ? विश्वकप फाइनलले तय गर्नेछ ‘वर्चस्व या पुस्तान्तरण’!



मुकुन्द घिमिरे
२०८३ साउन ३ गते १०:०१ | Jul 19, 2026
मेस्सी कि यामाल ? विश्वकप फाइनलले तय गर्नेछ ‘वर्चस्व या पुस्तान्तरण’!


काठमाडौं। फिफा विश्वकप २०२६ को फाइनल खेल आज राति हुँदैछ। यो खेल केवल अर्जेन्टिना र स्पेनबीचको उपाधि भिडन्त मात्र नभएर दुई पुस्ताका दुई प्रतिभाशाली फुटबलरबीचको ऐतिहासिक क्षण पनि रहनेछ।

Tata
GBIME

एकातिर छन् अर्जेन्टिनालाई लिड गरिरहेका छन् विश्व फुटबलका महानायक लियोनेल मेस्सी। अर्कोतिर उनकै उत्तराधिकारीका रूपमा हेरिएका १९ वर्षीय स्पेनिस स्टार लामिन यामाल।

१९ वर्षअघि बार्सिलोनाको एक च्यारिटी क्यालेन्डरका लागि खिचिएको एउटा तस्बिर अहिले फेरि चर्चामा छ। त्यसबेला २० वर्षीय मेस्सीले ५ महिनाको शिशु यामाललाई नुहाइदिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल छ। सन् २००७ मा बार्सिलोनाले आयोजना गरेको च्यारिटी क्यालेन्डरका लागि फोटोसुट हुँदा २० वर्षीय मेस्सीले यामाललाई नुहाइदिएको तस्बिर खिचिएको थियो। त्यतिबेला कसैले पनि कल्पना गरेको थिएन कि त्यही शिशु एक दिन मेस्सीकै प्रतिद्वन्द्वी बनेर विश्वकप फाइनल खेल्नेछ।

संयोग यति रोचक छ कि अहिले ती दुई खेलाडी विश्वकपको सबैभन्दा ठूलो मञ्चमा आमनेसामने उभिएका छन्।

युरो कप २०२४ मा स्पेनको टोली घोषणा हुँदै अनुभव विनाको युवा टोली भनेर निकै आलोचना भएको थियो। युवा खेलाडीले भरिएको त्यो टोलीले युरो च्याम्पियन बन्दा नायक थिए यामाल। त्यसैले विश्व फुटबलमा यामालको उदय असाधारण रह्यो। १९ वर्ष पुग्दासम्म उनले बार्सिलोनाका लागि १५१ सिनियर खेल खेल्दै ४९ गोल गरेका छन्। त्यही उमेरमा मेस्सीको नाममा ३२ खेल र ९ गोल मात्र थियो। यामालले बार्सिलोनालाई दुई ला लिगा उपाधि जिताउन योगदान दिएका छन् भने स्पेनलाई युरो २०२४ को च्याम्पियन पनि बनाइसकेका छन्।

यद्यपि, यस विश्वकपमा यामाल अपेक्षाअनुसार चम्किएका छैनन्। चोटका कारण लामो समय मैदानबाहिर रहेका उनले प्रतियोगितामा हालसम्म एक गोल मात्रै गरेका छन्। प्रशिक्षक लुइस डे ला फुएन्टेको रणनीतिमा पनि उनी बार्सिलोनामा जस्तो स्वतन्त्र भूमिकामा छैनन्।

यस विश्वकपमा अर्जेन्टिना र स्पेन दुवै टोलीको यात्रामा आफ्ना कप्तान र युवा स्टारको प्रभाव निर्णायक रह्यो। ३९ वर्षीय मेस्सीले नकआउट चरणमा आफ्नो अनुभव, खेल नियन्त्रण गर्ने क्षमता र निर्णायक पासमार्फत अर्जेन्टिनालाई लगातार दोस्रो विश्वकप फाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेले। गोल मात्र होइन, कठिन क्षणमा टोलीलाई सम्हाल्ने नेतृत्व पनि उनको सबैभन्दा ठूलो योगदान रह्यो।

उता स्पेनका १९ वर्षीय यामालले चोटका कारण प्रतियोगिताको सुरुआती चरणमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन्। त्यसपछि लयमा फर्किँदै उनले एक गोल र केही निर्णायक अवसर सिर्जना गर्दै टोलीको आक्रमणलाई गति दिए। यद्यपि यसपटक स्पेनको सफलता केवल यामालमा सीमित नरही सामूहिक खेल, उच्च प्रेसिङ र बल नियन्त्रणमा आधारित प्रदर्शनको परिणाम पनि मानिएको छ।

अर्कोतर्फ, ३९ वर्षीय मेस्सी भने आफ्नो छैटौं विश्वकप खेल्दै लगातार दोस्रो विश्वकप उपाधिको खोजीमा छन्। अर्जेन्टिनाले उपाधि जिते मेस्सी लगातार दुई विश्वकप र लगातार दुई कोपा अमेरिकासहित अन्तर्राष्ट्रिय फुटबलमा अभूतपूर्व उपलब्धि हासिल गर्नेछन्।

विश्वकप फाइनलमा मेस्सी र यामालबीचको अर्को रोचक समानता भनेको दुवैको फुटबल यात्राको केन्द्र बार्सिलोना हुनु हो। मेस्सीले आफ्नो सम्पूर्ण युवा विकास र व्यावसायिक करिअरको अधिकांश समय बार्सिलोनामै बिताए। उनले क्लबका लागि ६७२ गोल गर्दै इतिहासकै सर्वाधिक गोलकर्ता बने र १० ला लिगा, ४ च्याम्पियन्स लिगसहित ३५ उपाधि जिते। अहिले यामाल पनि त्यही क्लबको नयाँ पुस्ताका सबैभन्दा उज्ज्वल प्रतिभाका रूपमा स्थापित भइरहेका छन्। स्पेनिस फुटबलमा धेरैले उनलाई ‘ला मासियाको अर्को महान उत्पादन’ भनेर व्याख्या गर्छन्।

दुवै खेलाडी बायाँ खुट्टाका आक्रमणकारी हुन् र दायाँ विङबाट भित्र कट गर्दै खेल सिर्जना गर्ने शैलीका कारण तुलना हुने गरेको छ। यद्यपि खेल विश्लेषकहरू यामाललाई मेस्सीसँग तुलना गर्नुभन्दा आफ्नै पहिचान बनाउन दिनुपर्ने तर्क पनि गर्छन्। मेस्सी स्वयंले पनि विगतमा यामालको प्रतिभाको खुलेर प्रशंसा गरेका थिए।

फाइनलको अर्को विशेष पक्ष प्रशिक्षकहरूको रणनीतिक द्वन्द्व पनि हो। अर्जेन्टिनाले अनुभव, बल नियन्त्रण र मेस्सीको सिर्जनशीलतामा भरोसा गरेको छ भने स्पेनले तीव्र पासिङ, उच्च प्रेसिङ र युवा ऊर्जालाई आफ्नो मुख्य हतियार बनाएको छ। त्यसैले यो खेल केवल दुई स्टार खेलाडीको प्रतिस्पर्धा मात्र होइन, अनुभव र युवाशक्ति, परम्परा र नयाँ पुस्ताको फुटबल दर्शनबीचको रोचक भिडन्तका रूपमा पनि हेरिएको छ।

यो फाइनल केवल उपाधिको लडाइ होइन ‘पुस्तान्तरण या वर्चस्व’ सँग जोडिन्छ। यदि यामालले स्पेनलाई विश्वविजेता बनाए भने नयाँ युगको औपचारिक सुरुवात हुनेछ। तर यदि मेस्सीले फेरि निर्णायक प्रदर्शन गर्दै अर्जेन्टिनालाई उपाधि दिलाए भने उनले आफ्नो वर्चस्व अझै कायमै रहने सन्देश दिनेछन्।

यद्यपि फुटबलमा नायक सधैं पूर्वनिर्धारित हुँदैनन्। के थाहा, सायद फाइनलमा यी दुईबाहेक कुनै अर्को खेलाडी पनि निर्णायक बनिदेला कि?