काठमाडौं। मनसुनका कारण विभिन्न जिल्लामा भारीदेखि अति भारी वर्षाको जोखिम बढेपछि सरकारले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। जोखिम बढी रहेका जिल्लामा रातिको समयमा सवारी आवागमन रोक्न र आवश्यक परे जुनसुकै बेला सडक बन्द गर्न सकिने निर्णय गरिएको छ।
शनिबार बसेको मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठकले जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनमाथि छलफल गर्दै यस्तो निर्णय गरेको हो। विभागले साउन २ र ३ गते देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षा हुन सक्ने सम्भावना छ। यस्तै, देशका हिमाली र पहाडी भू-भाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्र तथा मधेश, बागमती र गण्डकीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
सरकारले पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जालाई रेड अलर्ट अर्थात् उच्च जोखिमयुक्त जिल्ला घोषणा गरेको छ। यी जिल्लाका सुरक्षा समिति र स्थानीय तहलाई तत्काल प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
बैठकले भारी वर्षाका कारण आकस्मिक बाढी, पहिरो, भूक्षय, गेग्रान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम उच्च रहने निष्कर्ष निकालेको छ। रेड अलर्ट जारी भएका जिल्लामा रातिको समयमा सवारी संचालन रोक्न र अवस्था अनुसार कुनै पनि समयमा आवागमन बन्द गर्न सकिने निर्णय गरिएको हो।
अन्य जिल्लालाई पनि उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ। तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक र विपद् व्यवस्थापनसँग सम्बन्धित सबै निकायलाई उद्धार तथा प्रतिकार्यका लागि चौबीसै घण्टा तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।









