डकार (सेनेगल)। अफ्रिकामा सञ्चालन गरिएको अन्तर्राष्ट्रिय साइबर अपराधविरुद्धको अपरेसन ‘सेरेंगेटी २.०’ अन्तर्गत करिब तीन महिनामा १२०९ जना पक्राउ परेका छन्। इन्टरपोलले गत जुनदेखि अगस्टसम्म सञ्चालन गरेको यो अपरेसनले विभिन्न मुलुकमा फैलिएका साइबर अपराध सञ्जाललाई ध्वस्त पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इन्टरपोलका अनुसार, अपरेसनको क्रममा विभिन्न अनलाइन ठगी, व्यापारिक इमेल धोखाधडी, र्यानसमवेयर आक्रमण र विरासत स्क्याममा संलग्न गिरोहलाई नियन्त्रणमा लिइएको हो। अफ्रिकाभर साइबर अपराध बढ्दै गएको अवस्थामा गरिएको यो अपरेसनलाई हालसम्मकै ठूलो मानिएको छ।
ठगीबाट लाखौं मानिस प्रभावित
अभियानमा संलग्न अधिकारीहरूले करिब ८८ हजार जनाभन्दा बढी मानिस यस्ता अपराधका सिकार भएको पत्ता लगाएका छन्। इन्टरपोलको विवरणअनुसार, अपरेसनमा करिब ९७.४ मिलियन अमेरिकी डलर बराबरको रकम फिर्ता गरिएको छ। यससँगै अफ्रिकाभर सञ्चालनमा रहेका ११ हजार ४३२ वटा दुर्भावनापूर्ण डिजिटल संरचना नष्ट गरिएको इन्टरपोलले जनाएको छ।
विभिन्न देशमा ठूलो कारबाही
यो अपरेसनमा १८ अफ्रिकी मुलुक र बेलायत सहभागी थिए। विभिन्न देशमा गरिएको कारबाहीमा ठूलो परिमाणमा साइबर अपराधसँग सम्बन्धित नेटवर्क ध्वस्त पारिएको छ।
अंगोलामा २५ वटा अवैध क्रिप्टोकरेन्सी माइनिङ सेन्टर बन्द गरिएको छ, जसमा ६० जना चिनियाँ नागरिक संलग्न रहेको पाइएको थियो। सो क्रममा ३७ मिलियन अमेरिकी डलर बराबरका उपकरण जफत गरिएका छन्। अधिकारीहरूले ती उपकरणलाई सार्वजनिक उपयोगका लागि पुनः प्रयोग गर्ने तयारी भइरहेको जनाएका छन्।
जम्बियामा ६५ हजारभन्दा बढी पीडितलाई लक्षित गरी ३०० मिलियन अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी ठगी गरिएको पाइएको छ। यस मामिलामा १५ जना पक्राउ परेका छन्। अनुसन्धानका क्रममा डोमेन नेम, मोबाइल नम्बर र बैंक खातासहितका प्रमाण जफत गरिएका छन्। यसै क्रममा मानव तस्करीमा संलग्न आशंका गरिएको एउटा समूह पनि पक्राउ परेको इन्टरपोलले जनाएको छ।
आइभरी कोस्टमा जर्मनीबाट सञ्चालन भएको एक अन्तर्राष्ट्रिय स्क्याम ध्वस्त पारिएको छ। उक्त स्क्याममार्फत करिब १.६ मिलियन अमेरिकी डलर बराबरको धोखाधडी गरिएको थियो। प्रहरीले मुख्य आरोपितलाई पक्राउ गरी नगद, गहना, सवारीसाधन र इलेक्ट्रोनिक उपकरण बरामद गरेको छ।
निजी क्षेत्र र प्रविधि साझेदारी
इन्टरपोलले अपरेसनलाई सफल बनाउनका लागि विभिन्न प्रविधि कम्पनीहरूसँग सहकार्य गरेको थियो। साइबरक्राइम एटलस, फर्टिनेट, ग्रुप-आइबी, कास्पर्स्काइ, स्यान्डोसर्भर फाउन्डेसन, टीम किम्रु, ट्रेन्ड माइक्रो, टीआरएम ल्याब्स् र उप्पासला सेक्युरिटी जस्ता संस्थाले अनुसन्धानका लागि आवश्यक प्रविधि, डेटा र विश्लेषण उपलब्ध गराएका थिए।
अपरेसन अघि अनुसन्धानकर्ताहरूलाई खुला स्रोतबाट जानकारी संकलन, क्रिप्टोकरेन्सी सम्बन्धी अनुसन्धान र र्यानसम्वेयर विश्लेषणसम्बन्धी तालिम प्रदान गरिएको थियो।
अन्तर्राष्ट्रिय सहकार्य र अघिल्लो चरण
यो अपरेसन ‘अफ्रिकन ज्वाइन्ट अपरेसन एगेनस्ट साइबरक्राइम’ अन्तर्गत गरिएको हो, जसलाई बेलायतको फोरेन, कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिसले सहयोग गरेको छ।
यसअघि २०२४ को अन्त्यतिर सञ्चालन गरिएको पहिलो चरणमा १००६ जना पक्राउ परेका थिए र करिब १९३ मिलियन अमेरिकी डलर बराबरको आर्थिक क्षतिको विवरण फेला परेको थियो। दोस्रो चरण अझ व्यापक र प्रभावकारी भएको इन्टरपोलले जनाएको छ।
इन्टरपोलका अनुसार अफ्रिकामा साइबर अपराध नियन्त्रणका लागि यस्ता सहकार्य र प्रविधि साझेदारी आवश्यक छन्। पछिल्ला वर्षहरूमा साइबर अपराध तीव्र रूपमा बढ्दै गएको अवस्थामा यस्ता अपरेसनलाई निरन्तरता दिनुपर्ने इन्टरपोलले जनाएको छ। (एपी)









