एनपीएलमा प्रक्रियागत त्रुटि भएको हुन सक्ने भन्दै अध्यक्षले भने- महिलाको प्रिमियर लिगसमेत हुन्छ

बिजमाण्डू
२०८२ असार ३० गते ०७:४२ | Jul 14, 2025
एनपीएलमा प्रक्रियागत त्रुटि भएको हुन सक्ने भन्दै अध्यक्षले भने- महिलाको प्रिमियर लिगसमेत हुन्छ

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले नेपाल प्रिमियर लिग (एनपीएल)मा प्रक्रियागत त्रुटि भएको हुनसक्ने भन्दै यसको छानबिन चलिरहेको बताएका छन्। आइतबार एक कार्यक्रममा बोल्दै चन्दले केही त्रुटिहरू भएको हुन सक्ने भए पनि अनियमितता गर्नकै लागि एनपीएल सुरु नगरिएको बताए।

GBIME
Tata

‘पहिलो संस्करण भएकाले प्रक्रियागत त्रुटि भएको हुन सक्छ। दुई दिन अघिपछि काम भएको हुन सक्छ। छानबिन चलिरहेकै छ। अनियमितता गर्नका लागि एनपीएल सुरु गरिएको होइन,’ चन्दले भने, ‘आगामी बोर्ड बैठकबाट सबै हिसाब पारदर्शी हुन्छ। क्रिकेट पारदर्शी हुँदैन भने कुन संघ पारदर्शी हुन्छ?’

सम्बन्धित समाचार: एनपीएल छानबिन कार्यदलले बुझायो प्रतिवेदन, ‘क्यानको असहयोगले निष्कर्षमा पुग्न सकिएन’

नेपाल प्रिमियर लिगमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुईवटा उजुरी परेका थिए। यसको छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयले छानबिन कार्यदल समेत बनाएको थियो।

कार्यदलले शुक्रबार आफ्नो प्रतिवेदनसमेत बुझाइसकेको छ। प्रतिवेदनमा छानबिनमा क्यानबाट असहयोग भएको र थप अनुसन्धान आवश्यक भएको उल्लेख छ।

यता चन्दले भने अर्को बोर्ड बैठकपछि पहिलो संस्करणको सबै हिसाबकिताब स्पष्ट हुने दाबी गरे।

‘पहिलो सिजनको एनपीएलमा हामी त्यति धेरै नाफामा छैनौँ। घाटामा नभए पनि नाफामा छैनौँ। एकुरेट हिसाब एनपीएल कमिटीले गरेको हुनाले यति मलाई जानकारी छ,’ उनले भने।

चन्दले यो संस्करणमा महिलाको फ्रेन्चाइज लिग गर्न नसक्ने भए पनि अर्को वर्ष एनपीएल नाफामा गएको खण्डमा गर्न सकिने उल्लेख गरे।

सम्बन्धित समाचार: के एनपीएल-२ रोकिन्छ? कार्यदल भन्छ ‘रोक्नै खोजेको होइन, हिसाब प्रष्ट मागेको हो’

‘२०२५ मा सम्भव छैन। दोस्रो सिजनको एनपीएलको राम्रो व्यवस्थापनपछि तयारी हुनेछ,’ उनले भने, ‘सबैको दबाबले मैदान पनि बनिरहेको छ। त्यसबाट रेभेन्यु आएपछि महिलाको प्रिमियर लिग पनि हुन्छ।’

चन्दले क्रिकेट संघमा आएका सबै प्रश्नहरूलाई सल्लाहका रुपमा हेरेको भन्दै प्रधानमन्त्रीसमेतले ग्रीनसिग्नल दिएकाले एनपीएलको दोस्रो संस्करणको काम अघि बढिरहेको बताए।

एनपीएलमा हाल सबै टोलीले खेलाडी ‘रिटेन र रिलिज’ गरिसकेका छन्। हाल प्रतियोगिताको मिनि अक्सनका लागि खेलाडी रजिस्ट्रेसन खुला गरिएको छ।

सम्बन्धित समाचार: क्यानलाई पत्र पठाएपछि कार्यदललाई राखेपको निर्देशन : परिषद्को लेटरहेड प्रयोग नगर्नू

‘एनपीएलको दोस्रो संस्करणको काम अघि नबढाउनु भनेर पत्र आएको थियो। रोक्नु नै भन्ने किसिमको त थिएन। प्रधानमन्त्रीज्यूले स्पष्ट पारिदिनु भएको छ। बोर्ड बैठकपछि सबै कुरा स्पष्ट हुन्छ,’ चन्दले भने, ‘क्यान राम्ररी चलिरहेको छ।’

छानबिनका लागि बनेको कार्यदलका एक सदस्यले छानबिन प्रभावित गर्न प्रयास भएको बताएका थिए। उनले राखेपले नै पनि असहयोग गरेको दाबी गरे।

कार्यदलले ३ पटक पत्र पठाएर प्रश्न गर्दा पहिलो र दोस्रोको जवाफ पठाएको तर ‘तथ्यपरक’ भन्दा ‘भावनात्मक’ भएको कार्यदलको बुझाइ थियो। तेस्रो पत्र क्यानले पठाएको दाबी गरे पनि कार्यदलले प्राप्त नगरेको प्रतिवेदनमा उल्लेख गरेको छ।

युवा तथा खेलकुद मन्त्रालयले प्रतिवेदनको अध्ययन गर्ने र कार्यान्वयनमा लैजाने बताएको छ।